Logo

१७ जेठ, वीरगञ्ज । मध्य तराईमा केही दिनदेखि बढेको अत्यधिक गर्मीले जनजीवन प्रभावित भएको छ । औसत भन्दा बढी गर्मी लागेपछि जनजीवन कष्टकर बनेको हो ।

पर्साको वीरगञ्जको तापक्रम आज ४४ डिग्री मापन भएको छ । जिल्लामा उखरमाउलो गर्मी बढेपछि स्थानीयवासीको दैनिकीमा समस्या आएको छ । चार–पाँच दिनदेखि बढेको अत्यधिक गर्मीले जनजीवन अस्तव्यस्त छ । तीव्र गतिमा तापक्रम वृद्धि र तातो हावा (लू) चल्दा जनजीवन कष्टकर बन्दै गएको छ ।

गर्मी बढेपछि यस क्षेत्रका सर्वसाधारण अत्यावश्यक कामबाहेक बाहिर निस्कन कम गरेका छन् । जसका कारण बजार क्षेत्र सुनसान देखिन थालेको छ । वायुमण्डलीय तापक्रममा वृद्धिसँगै तातो हावा चलेपछि सर्वसाधारण घरबाहिर निस्किन सकेका छैनन् । अत्यधिक गर्मीले बजार, शैक्षिक संस्था, सरकारी कामकाज प्रभावित भएको छ ।

गर्मीकै कारण अस्पतालमा बिरामीको चाप बढेको छ । यता बढ्दो गर्मीका कारण किरा फट्याङ्ग्राको बिगबिगी भएको छ । जसले बालीनाली सखाप पार्ने किसानको चिन्ता बढेको छ । सामान्य अवस्थामा दैनिक दुई सयसम्म बिरामी आउने अस्पतालमा अहिले गर्मीकै कारण बिरामीको सङख्यामा ह्वात्तै वृद्धि भएको वीरगञ्जको नारायणी अस्पतालले जनाएको छ । पिसाबको सङ्क्रमण, कडा ज्वरो, पेट दुख्ने समस्याका बिरामी अस्पताल आइरहेका छन् ।

गर्मी बढ्दा चिसो पेयपदार्थ र फलफूल जुसको व्यापार बढेको छ । मध्याह्न र अपराह्न सरकारी कार्यालयसहित बजारमा सर्वसाधारणको उपस्थिति पातलिएको छ । स्थानीय बासिन्दाको भनाइअनुसार विगतको वर्षभन्दा यस वर्ष बढी गर्मी भएको हो ।

के–के खाने ?

अहिले अत्यधिक गर्मीका कारण टाइफाइड, झाडापखाला, फुड पोइजनिङ, हिट स्ट्रोक, टाउको दुख्ने, कफ, एलर्जी, मुख सुक्ने लगायतका समस्या देखिने फिजिसियन डाक्टर आसुतोष बादलले बताए ।

यसबाट बच्न पर्याप्त झोलिलो पदार्थ, पानीको सेवन, समय समयमा हात धुन, पेटलाई चिसो पु¥याउने जस्तै काक्रो, गाजर, स्याउ लगायतका फलफूलको सेवन गर्न उनले आग्रह गरे ।
डा बादलले पेय पदार्थ जस्तै कोक, फ्यान्टा, आइसक्रिम लगायतको सेवन भने नगर्न सुझाव दिएका छन् ।


सम्बन्धित समाचार