Logo

१८ जेठ, काठमाडौं । सरकारले सुनमा भंसार दर बढाएर अवैध कारोवारलाई प्रोत्साहन दिन खोजेको भन्दै तत्कालै सुनमा लगाइएको भंसार महशुल फिर्ता लिन व्यवसायीले माग गरेका छन् ।

बजेटले सुनमा भन्सार दर बढाएसँगै तोलामै थप ६ हजार महँगो पर्ने भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले बिहीबारदेखि नयाँ भन्सार दरअनुसार मूल्य समायोजन गरेको छ । सुनमा भन्सार दर १५ प्रतिशत रहँदै आएकोमा बजेटले बढाएर २० प्रतिशत कायम गरेको छ ।

थप ५ प्रतिशत भन्सार दर बढ्दा सुन तोलामा थप ६ देखि ७ हजार सम्म महँगिने महासंघका केन्द्रीय अध्यक्ष मणिक रत्न शाक्यले जानकारी दिए । ‘बजेटलगत्तै भन्सार दरहरु लागू हुने हो, त्यसकारण बिहिबारदेखि नयाँ भन्सार दरअनुसार मूल्य समायोजन गरिएको छ, शाक्यले भने ।

नयाँ भन्सार दर लागू भएपछि सुन प्रतितोला भन्सार महशुल मात्रै २६ हजार रुपैयाँ हुने छ । नेपाली बजारमा बिहीबार सुनको भाउ प्रतितोला १ लाख ४० हजार ५ सय रुपैयाँ पुगेको छ । यो अहिले सम्मको उच्च दर हो ।

नेपाल राष्ट्र बैंकले दैनिक २० किलो आयात गर्न पाउँनेगरी कोटा प्रणाली लगाएको छ । बाणिज्य मन्त्रालयको सिफारिसमा राष्ट्र बैंकले तोकेका बाणिज्य बैंकहरुले मात्र सुन आयात गर्न पाउँने व्यवस्था छ । नेपालमा बार्षिक ७ हजार ३ सय किलो सुन आयात गर्न पाइन्छ ।

सरकारले सुनमा कोटा र सिन्डिकेट लगाएपछि अवैध मार्ग भएर आएको सुनको कारोवार बढेको अवस्थामा भंसार महशुलमा गत बर्षको तुलनामा ३३ प्रतिशत बृद्धिले नेपालमा सुनको अवैध कारोवार बढने स्थिती देखिएको नेपाल रत्न तथा आभुषण संघका वरिष्ठ उपाध्यक्ष नरेन्द्र कुमार गुप्ताले बताए ।

विश्व बजारको तुलनामा नेपालमा सुनको मूल्य २६ हजार बढी छ । भारतमा भन्दा नेपालमा सुनको मूल्य बढेपछि भारतबाट अवैध रुपमा तयारी गहना नेपाली बजारमा भित्रने स्थिती देखियो गुप्ताले भने । भारतसँगको खुला सीमानाको कारण तस्करी रोक्न सकिदैन, नेपाली उपभोक्ता समेत सीमावर्ती भारतीय शहरमा पुगेर गहना खरिद गर्न सक्ने भएकोले राज्यलाई अरबौं रुपियाँ राजश्व नोक्सान हुने वरिष्ठ उपाध्यक्ष गुप्ताको भनाई थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष मणिकरत्न शाक्य पनि सरकारले गहना उद्योगको संरक्षण गर्ने भन्दापनि तस्करी धन्दालाई प्रश्रय दिने गरी बजेट ल्याएको बताउछन् । अहिलेको अवस्थामा सुनमा लगाएको कोटा हटाएर खुल्ला प्रतिप्रर्धाबाट व्यवसायीले सुन आयात गर्न पाउँने गरी नीति ल्याउनुपर्नेमा भंसार बढाएर सरकार उल्टो बाटो हिड्न खोजेको भनाई शाक्यको छ ।

पछिल्लो पटक नेपालमा फस्टाउँदै गएको गहना उद्योगलाई बचाउन नसक्ने हो भने नेपाली जनशक्ति पलायन हुने र उपभोक्ताको रोजाई भारतीय सीमावर्ती शहरमा संचालित सुन पसल हुने सुनचाँदीका थोक बिक्रेता राकेश अडुकियाको बुझाई छ । सरकारले दुई बर्षको अन्तरमा झण्डै शत प्रतिशत भंसार महशुल बढाएर नेपाली गहना व्यवसायलाई कमजोर बनाउन खोजेको आरोप व्यवसायी अडुकियाको छ ।

भारतमा काँचो सुन आयातमा १५ प्रतिशत भंसार लाग्ने गरेको छ । सुनमा भंसार महशुलको अतिरिक्त ३ प्रतिशत जिएसडी लाग्ने गरेको छ । नेपाल र भारतको तुलनामा एक किलो सुनमा झण्डै ५ लाख मूल्य नेपालमा महंगो पर्नेगरेको व्यवसायीको भनाई छ । काँचो सुन समेत भारतबाट तस्करी भएर आउन सक्ने संभावना देखिएको एक व्यवसायीले भने ।


सम्बन्धित समाचार