Logo

१८ जेठ,ठोरी । बिहिबार राती आएको हावाहुरीका कारण पर्साको ठोरी गाउँपालिका वडा नम्बर ५ गडुवालाईनको आस्थाको केन्द्र नै ढलेको छ । गडुवालाईन लगायत वरपरका स्थानीयको आस्था र विश्वासको रुपमा परिचित विशाल वरको रुख ढलेको हो ।

सुवर्णपुर क्षेत्रकै पवित्र तिर्थस्थल समेत रहेको सो विशाल वरको रुख ढल्दा रुखको छेउमा नै रहेको सेतीदेवी मन्दिर र मन्दिरसँगै रहेको पुजारीको कुटीमा समेत पुर्ण क्षति पुगेको छ । हावाहुरीका कारण करीब २० लाख बराबरको क्षति भएको ठोरीका पुर्व गाउँपालिका अध्यक्ष पदमलाल श्रेष्ठले जानकारी दिए ।

करिब ८० वर्ष पुरानो रहेको वरको रुख ५ कट्ठा क्षेत्रफलमा फैलिएको थियो । ५ कट्ठा क्षेत्रफल नै ढाकेको विशाल रुख भएको हुनाले स्थानीयले सो रुख पर्साको नै सबैभन्दा ठुलो रुख भनेर दाबी गर्ने गरेका छन् ।
गडुवालाईन लगायत वरपरका स्थानीयबासीले धार्मिक कार्यमा पुज्ने गरेको सो रुखको ऐतिहासिक महत्व रहेको गडुवालाईन निवासी युवा समाजसेवी बिमल खड्काले बताए । २ दशक अघिसम्म हरेक वर्ष जनैपुर्णिमाको दिन रुख वरपरको क्षेत्रमा धामीझाँक्री नाच हुने गरेको थियो ।

रुखकोमाथि सधैं बस्ने सर्पले नाचको हरेक वर्ष अवलोकन गर्ने गरेको गडुवालाईनका अग्रज देवी प्रसाद दाहालले बताए । वरको रुख सालको रुखमा बेरिएर विशाल बनेको र झाँक्रीले नाच्ने क्रममा बक्दै सो ठाउँ सेतीदेवीको स्थान रहेको बताएपछि सो ठाउँमा सेतीदेवीको पुजा अर्चना समेत हुने गरेको स्थानीयबासीको कथन छ ।

यस्तै सो क्षेत्रमा पहिलेदेखि नै हरेक वर्ष पितृको सम्झनामा दीप प्रज्वलन गर्ने बाला चतुर्दशीका दिन जात्रा समेत लाग्ने गरेको छ । धार्मिक केन्द्रको रुपमा विकास हुँदै गरेको रुख ढलेसँगै पुनर्निर्माण गर्नुपर्ने अवस्था निम्तिएको अग्रज दाहालले बताए ।

आर्थिक वर्ष २०७४÷७५ देखि लगातार ३ आर्थिक वर्षमा ठोरी गापाको १२ लाखको लागतमा सो क्षेत्रमा सेतीदेवीको मन्दिर निर्माण गरिएको थियो । यस्तै सो मन्दिरको पुजारीको बसोबासको लागि मन्दिरसँगै प्रदेश सभा सदस्य शंकर प्रसाद चौधरीको विकास कोषबाट ५ लाख लागतमा कुटी समेत निर्माण गरिएको थियो भने स्थानीयको प्रयासमा वरपर सिमेन्टेड कुर्सी र बस्ने ठाउँको समेत व्यवस्था गरिएको थियो । बिहिबारको हावाहुरीले रुखसँगै सबै संरचनामा क्षति पु¥याएको छ ।


सम्बन्धित समाचार