Logo

१९ जेठ, वीरगञ्ज । मधेश प्रदेश सरकारका मुख्यमन्त्री सरोजकुमार यादवले जमुनी सिँचाई आयोजना अन्तर्गत मोरहा पक्की बाँधको स्थलगत अनुगमन तथा निरीक्षण गरेका छन् ।

प्रदेश सरकारको लगानीमा समपुरक अनुदान अन्तर्गत हंसपुर नगरपालिका वडा नंं ४ र ९ मोरहामा निर्माणाधिन उक्त आयोजनाको सतर्कता केन्द्रको टोली सहित मुख्यमन्त्री यादवले आज स्थलगत निरीक्षण गरेका हुन् ।
२२ करोड ५३ लाख २३ हजारको कुल लागत मध्ये १० करोड ७४ लाख ५४ हजार ८६६ रुपैयामा ठेक्का सकार भएको थियो । तर समयमा निर्माणाधिन पक्की बाँधको काम पूरा नहुने संकेत आएपछि मुख्यमन्त्री यादव अनुगमन गर्न पुगेका हुन् ।

निर्माणाधिन बाँधको निरीक्षण गर्दै उनले सो कार्यलाई तिव्र पार्न ठेक्केदार कम्पनीलाई निर्देशन दिए । ११ सय ६८ हेक्टर कृषि योग्य भूमि सिंचित हुने उक्त पक्की बाँधले १० गाँउका करिब १६ सय ५० घर परिवार लाभान्वित हुने विश्वास लिइएको छ ।

बाँधको निरीक्षण पछि स्थानीयबासीहरुलाई सम्बोधित गर्दै मुख्यमन्त्री यादवले कृषिको विकास विना मधेश प्रदेशको विकास सम्भव नरहेकोले मधेश सरकार कृषि सम्बन्धित आयोजनाहरुलाई प्राथमिकतामा राखेर अघि बढेको जनाए । बाँध निर्माणमा कुनै प्रकारको समस्या हुन नदिने उनले प्रतिवद्धता व्यक्त गरे ।

यसैगरी मुख्यमन्त्री यादव र प्रदेश सांसद राम अशिष यादवले प्रदेश सरकारको एक क्षेत्र पाँच किलोमिटर कालोपत्रे आयोजना अन्तर्गत धनुषा निर्वाचन क्षेत्र नं.२ ख मा निर्माणाधिन कप्टौल, झिटकैया, तिसियाही हुँदै मधुकरही सम्मको सडकको स्थलगत निरीक्षण समेत गरेका थिए ।


सम्बन्धित समाचार