Logo

२० जेठ, काठमाडौं । सुनमा लगाइएको कोटा प्रणाली र भंसार महशुल बृद्धिका विरुद्ध गहना व्यवसायीहरु सडक आन्दोलनमा उत्रने भएका छन् । सरकारले सुन आयातमा भंसार दर बढाएर अवैध कारोवारलाई प्रोत्साहन दिन खोजेको भन्दै व्यवसायीहरु त्यसको विरोधमा आन्दोलनमा उत्रन लागेका हुन ।

नेपाल राष्ट्र बैंकले जारी गरेको कोटा प्रणाली र त्यसबाट सृजना भएको सिन्डिकेटको मारमा परेका व्यवसायीले हालै सरकारले सुन आयातमा लगाएको ५ प्रतिशत भंसार बृद्धिबाट नेपाली गहना उद्योग धारासायी हुने भन्दै कोटा प्रणाली खारेज र भंसार महशुल फिर्तालिई व्यवसायी वातावरण निर्माण गर्न सरकारसँग आग्रह गरेका छन् ।

कोटा प्रणाली, सिन्डिकेट र भंसार महशुल बृद्धिका विरुद्ध आवाज उठाउदै आएका गहना व्यवसायीहरुको शानिवार काठमार्डौमा सम्पन्न भेलाले नेपाल सुनचाँदी व्यवसायी महासंघका उपाध्यक्ष विपिन रामुदामुको संयोजकत्वमा आन्दोलन संयोजन समिति गठन गरेको छ ।

सरकारले सुन आयातमा गरेको भंसार बृद्धिको निर्णयको कारण राज्यलाई अबौं रुपियाँ राजश्व नोक्सान हुने, उपभोक्ता माथि अनावश्यक भार थुपार्दै जाने र बजारमा अवैध कारोवर बढदा बास्तवीक गहना व्यवसायी अप्ठारोमा पर्ने देखिएकोले सरकारको गलत निर्णका विरुद्ध सडक आन्दोलनमा उत्रनु परेको आन्दोलन संयोजन समितिका संयोजक विपिन रामुदामुले बताए ।

भंसार महशुल तत्काल फिर्ता लिन र कोटा प्रणाली तथा सिन्डिकेटका विरुद्ध गहना व्यवसायीहरु आइतवार काठमाडौं स्थित माइतीघर मण्डलामा उत्रने भएका छन् । आज दिनको १२ बजे माइतीघर मण्डलामा आउन गहना व्यवसायीलाई आब्हान गरिएको आन्दोलन संयोजना समितिका संयोजक रामुदामुले जानकारी दिए ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष मणिक रत्न शाक्यले २०६७ सालमा बढीमा ६ महिनाको लागि भनेर ल्याइएको कोटा प्रणाली १३ बर्ष सम्म कायम राखिएको भन्दै उपभोक्ता, व्यवसायी र राज्यको हितमा नभएको कोटा प्रणाली तत्काल खारेज गर्नुपर्ने आफ्नो महासंघको अडान अहिले पनि कायमै रहेको बताए । सरकारले नेपाली गहना व्यवसाय र उद्योगलाई कमजोर पार्न पार्न खोज्यो हामी व्यवसायी एक ठाउँमा उभिएर यसको विरोध गर्नुपर्छ, शाक्यले भने ।

नेपाल रत्न तथा आभुषण संघका वरिष्ठ उपाध्यक्ष नरेन्द्र कुमार गुप्ताले सुन आयातमा गरिएको भंसार बृद्धिले सीमावर्ती क्षेत्रबाट काँचो सुन र तयारी गहनाको अवैध कारोवार बढने स्थिती सृजना भएको बताए । कोटा प्रणालीकै कारण सुनमा अवैध कारोवार बढीरहेको अवस्थामा भंसार बृद्धिले गहना उद्योग धारासायी हुने अवस्था देखियो, गुप्ताले भने ।

तस्कर माफियाँको चंगुलमा परेर सरकारले सुनमा कोटा मार्फत सिन्डिकेट खडा गरेको र भंसार महशुल बृद्धिका कारण गहना व्यवसायले इमान्दारी पूर्वक काम गर्ने वातावरण नदेखिएको गुप्ताको भनाई छ । राज्यले गहना व्यवसायीलाई चोर र तस्करको नजरबाट हेर्ने प्रवृत्तिको मारमा व्यवसायी पर्दै जाने स्थिती देखियो गुप्ताले भने ।

सरकारले व्यवसायी वातावरण बनाएर राजश्व उठाउनेमा जोड दिनुपर्नेमा तस्करलाई फाइदा पुग्नेगरी नीति, नियम र कानून बनाउनु दुखद बिषय रहेको वरिष्ठ उपाध्यक्ष गुप्ताको भनाई छ । उपभोक्ता र व्यवसायीको हितमा काम गर्नुपर्ने दायित्व लिएको सरकारले अवैध कारोवारीको पक्षमा उभिएको देखिएको यसको भण्डाफोर गर्नुपर्छ गुप्ताले भने ।

नेपाल सुनचाँदी शिल्प व्यवसायी संघका अध्यक्ष अर्जून विश्वकर्माले गहना व्यवसायीका संघ संस्थाहरु सुन खरिदमा लगाएको कोटा प्रणाली र सिन्डिकेट विरुद्ध एक ठाउँमा उभिन नसक्दा राज्यले गहना व्यवसायलाई संकुचित गर्न खोजेको आरोप लगाए । पछिल्लो भंसार बृद्धिले देशभरका व्यवसायी र कालीगढलाई एक ठाउँमा उभिएर सरकारको विरुद्ध आवाज उठाउने वातावरण बनेको छ विश्वकर्माले भने ।

अहिले सुनचाँदीको व्यवसायी गर्छु भन्यो भने हामीलाई हेर्ने दृष्टिकोण समेत सकरात्म देखिदैन विश्वकर्माले भने, “सधै राज्यका निकायले हामी माथि तस्करको नजरले हेर्ने र त्यहीँ व्यवहार गर्ने हुदाँ जनतामा समेत नकरात्मक छाप पर्न थालेको छ त्यसलाई आन्दोनको माध्यमले चिर्नु पर्छ ।”

नेपाल राष्ट्र बैंकले दैनिक २० किलो आयात गर्न पाउँनेगरी कोटा प्रणाली लगाएको छ । बाणिज्य मन्त्रालयको सिफारिसमा राष्ट्र बैंकले तोकेका बाणिज्य बैंकहरुले मात्र सुन आयात गर्न पाउँने व्यवस्था छ । नेपालमा बार्षिक ७ हजार ३ सय किलो सुन आयात गर्न पाइन्छ ।


सम्बन्धित समाचार