Logo

२० जेठ, काठमाडौं । भारतको कोलकातामा मृत भेटिएका बंगलादेशी सांसद् अनवरुल अजिम आनाको हत्यामा संलग्न एक आरोपी काठमाडौंमा पक्राउ परेका छन् ।

बंगलादेशको अंग्रेजी दैनिक ढाका ट्रिब्युनले हत्यामा संलग्न सइम हुसेन नामक व्यक्ति काठमाडौं पक्राउ परेको भन्दै समाचार लेखेको छ । सत्तारुढ दल अवामी लिगका सांसद् अजिमको हत्यामा संलग्नलाई फिर्ता ल्याउन नेपालस्थित बंगलादेशी दूतावासमार्फत लैजान कूटनीतिक प्रयास पनि भइरहेको समाचारमा भनिएको छ ।

नेपाली सुरक्षा उच्च स्रोतले पनि बंगलादेशी सांसद्को हत्यामा संलग्न नेपाल आएको सूचना पाएपछि आफूहरुले खोजी गरेको पुष्टि गरेको छ । एक उच्च अधिकृतको भनाइमा, भारतीय, बंगलादेशी र नेपाली प्रहरीको समन्वयमा अझै पनि अपरेशन जारी छ ।

यद्यपि, नेपाल प्रहरीका प्रवक्ता दानबहादुर कार्कीले भने बंगलादेशी सांसद् अजिमको हत्यामा संलग्नहरु पक्राउ परेकोबारे अनविज्ञता जनाए । उनले भने, ‘मैले पनि ढाकामा सञ्चारमाध्यमहरुले लेखेको भन्ने सुनेँ, तर त्यस्तो कुनै औपचारिक जानकारी मसँग छैन ।’

बंगलादेशी अधिकारीहरुले त्यहाँको सञ्चारमाध्यममा कूटनीतिक प्रयास भइरहेको भएपनि नेपालको कुनै पनि मुलुकसँग हालसम्म सुपुर्दगी सन्धि भएको छैन । यस्तोमा औपचारिक रुपमा कुनै पनि अभियुक्तको हस्तान्तरण गर्न सहज हुँदैन ।

‘यो घटनामा संलग्नलाई क्रिमिनल कन्स्पाइरेसी एक्ट अनुसारको कारबाही हुने रहेछ, त्यसमा मृत्युदण्ड समेत हुनसक्ने व्यवस्था छ’, यो मामलाबारे जानकार एक अधिकृतले भने, ‘यस्तोमा पक्राउ परेकालाई पठाउन थप जटिलताहरु छन् ।’

नेपाल–भारतका प्रहरीबीच अनौपचारिक रुपमा लामो समयदेखि अपराध नियन्त्रणमा सहकार्य हुँदै आएको छ । बंगलादेशी सांसद् कोलकातामा मारिएकाले यो अपरेशनमा भारत–बंगलादेश र नेपालका सुरक्षा अधिकृतहरु जोडिएका छन् ।

महानगरीय प्रहरी कार्यालय, ढाका अन्तरगतको डिटेक्टिभ ब्रान्ज (डीबी) बाट चार सदस्यीय टोली काठमाडौं आएको थियो ।

बंगलादेशी अधिकारीहरुले त्यहाँको सञ्चारमाध्यममा कूटनीतिक प्रयास भइरहेको भएपनि नेपालको कुनै पनि मुलुकसँग हालसम्म सुपुर्दगी सन्धि भएको छैन । यस्तोमा औपचारिक रुपमा कुनै पनि अभियुक्तको हस्तान्तरण गर्न सहज छैन
डीबीका प्रमुख हरुनोर रसिदले पनि सइम काठमाडौंमा पक्राउ परेको सुनेको ढाकामा पत्रकारहरुसँग बताएका छन् । ‘अरु आरोपी पनि भागेर नेपाल गएको हुनसक्छ, सबै कुरालाई हेरेर हामी काठमाडौं जाँदैछौं’, उनले पत्रकारहरुसँग भनेका छन् ।

स्वास्थ्य उपचारका लागि भन्दै कोलकाता आएका उनी ३० वैशाखबाट सम्पर्कविहीन भएका थिए । उनी सम्पर्कविहीन भएलगत्तै खोजीमा दिल्ली पुलिसको स्पेशल सेल र इन्टेलिजेन्स ब्यूरो (आईबी) का अधिकारीहरुले नेपाली सुरक्षा अधिकृतहरुसँग समन्वय गरेका थिए ।

यद्यपि, एक सातापछि उनी कोलकाताको एक अपार्टमेन्टमा मृत अवस्थामा फेला परेका थिए । लगत्तै भारतीय प्रहरीले चार बंगलादेशीलाई पनि पक्राउ गरेको थियो । उनको विभत्स हत्या गरिएको देखिएको थियो ।

अनुसन्धानका क्रममा यसमा संलग्न थप व्यक्तिहरु नेपालतर्फ गएको देखिएको भारतीय प्रहरीको दाबी थियो । त्यसपछि बंगलादेशस्थित प्रहरीले पनि नेपाल प्रहरीसँग समन्वय गरेको उच्च स्रोतले बतायो । ‘नेपालबाट तेस्रो मुलुक भाग्न नपाउन् भन्नेमा उतापट्टीको सुरुदेखि नै चासो थियो’, स्रोतले भन्यो ।साभार अनलाइनखबर


सम्बन्धित समाचार