Logo

२१ जेठ, काठमाडौं ।  जापानको इशिकावा प्रान्तमा ५.९ म्याग्निच्युडको भूकम्प गएको छ । समाचार एजेन्सी एनएचकेका अनुसार भूकम्पबाट कुनै क्षति भएको छैन । सुनामीको चेतावनी पनि जारी भएको छैन । सोमबार बिहान स्थानीय समय अनुसार करिब साढे ६ बजेतिर भूकम्पको पहिलो धक्का महसुस भएको थियो ।

पहिलो धक्का ५.९ म्याग्निच्युडको र दोस्रो धक्का ४.८ म्याग्निच्युडको मापन भएको थियो ।

बीबीसीका अनुसार जापानमा भूकम्पको शक्ति म्याग्निच्युडमा भनिँदैन । जमिनको कम्पनको आधारमा मापन गरेर त्यसको आधारमा एकदेखि सातसम्म मान दिइन्छ ।

गत जनवरीमा इशिकावामा भूकम्प जाँदा जमिन अधिकतम सात अंकको मानसम्म पुग्ने गरी हल्लिएको थियो । सो भूकम्पमा परी ४८ जनाको मृत्यु भएको थियो ।

आज बिहानको भूकम्पको धक्कालाई ५.९ मान दिइएको छ । यो धक्काले इशिकावा प्रान्तको वाजिमा, सुजु, नोटो, नानो र अनामिजु लगायत शहरहरुमा महसुस भएको थियो ।

भूकम्प लगत्तै विद्युत् आपूर्ति बन्द हुँदा पूर्वी जापानको बुलेट ट्रेनको सेवासमेत केहीबेर प्रभावित भएको थियो । होकुरिकु–शिंकान्सेन र जोयत्सु–शिंकान्सेन बुलेट ट्रेन सेवा केहीबेर रोकिएर करिब ७ बजेतिर पुनः सुरु भएको जापानका सञ्चार माध्यमहरुले जनाएका छन् ।

अन्य सार्वजनिक यातायातका सवारी साधन पनि सामान्य रुपमा चलिरहेका छन् ।


सम्बन्धित समाचार