Logo

२१ जेठ, काठमाडौँ । अबैध रुपमा ल्याइएको ६० किलो सुन प्रकरणमा सिआईबीको अनुसन्धान सुस्त हुन थालेको छ । सुन तस्करी जाँचबुझ आयोगको सिफारिसको आधारमा सीआईबीले ६० केजी र भेप प्रकरणमा दोस्रो चरणको अनुसन्धान गरिरहेको छ ।

उक्त प्रकरणमा पछिल्लो चरणमा १० जना मानिसलाई पक्राउगरी हिरासतमा राखेर अनुसन्धान भइरहेको सिआईबीका प्रवक्ता एसपी होबिन्द्र बोगटीले बताए । जाँचबुझ आयोगको रिर्पोटको आधारमा उनीहरुमाथि अनुसन्धान भइरहेको छ, एसपी बोगटीले भने ।

पसआईबीका अनुसार काभ्रेको तेमाल गाउँपालिका–४ घर भएका ४५ वर्षीय कान्छामान लामा ‘थर्कमान’, वीरगन्ज महानगरपालिका–११ घर भएका ५२ वर्षीय सुरेन्द्रमान श्रेष्ठ, भारत घर भई ललितपुर बस्ने २२ वर्षीय प्रशान्त गणेश बजवलकर, भारत महाराष्ट्र घर भएर न्यूरोड बस्ने सिद्धनाथ अशोक गायकवाड ‘सिद्धार्थ’ र भारत घर भएर न्यूरोड बस्ने दिनेश भनिने धिरज निदेश बैटेलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको छ ।

त्यसैगरी धादिङको सिद्धलेक गाउँपालिका घर भएका प्रेमनाथ सेडाईं, भक्तपुर सुर्यविनायक घर भएका राजु खत्री, काभ्रे तेमाल–४ का कान्छा लामा, तिब्बत घर भएर बौद्ध बस्ने गंगा टासी, गोरखा बारपाक सुलिकोट गाउँपालिका–५ घर भएका १८ वर्षीय सायरी विक र उदयपुरको त्रियुगा घर भएकी उषा खत्री निरौलालाई समेत सिआईबीको हिरासतमा राखेर अनुसन्धान भइरहेको छ ।

उनीहरु ६० किलो सुन प्रकरणमा संलग्न देखिएकोले हिरासतमा राखेर अनुसन्धान भइरहेको एसपी बोगटीले जानकारी दिए । उनीहरुलाई विभिन्न मितीमा विभिन्न ठाउँबाट पक्राउ गरिएको हो । प्रहरीका अनुसार उनीहरू करिब १ महिनादेखि थुनामा राखेर अनुसन्धान भइरहेको छ ।

आरोपीहरुविरुद्ध प्रहरीले भन्सार चोरी पैठारी तथा संगठित अपराध मुद्दा चलाएको छ । पहिलो चरणमा चिनियाँ नागरिकहरू याओ पुचेङ्ग, लि वेन सुङ्ग, ली नेङकाई, डीङ सेग्फा, जीक्वाङ लिन, टीयान मि र वेन तोङ सहित २६ जना पक्राउ परेका थिए ।

टीयान मि र वेन तोङ ठमेल स्थित केटीबी रेस्टुरेन्टका सञ्चालक हुन् । पहिलो चरणमा पक्राउ परेका तिब्बत मूलका भारतीय नागरिक ५३ वर्षीय थाप्तेन छिरिङसँग र बेल्जियन नागरिक दावा छिरिङ सहितका अभियुक्तहरू पुर्पक्षका लागी थुनामा छन् ।


सम्बन्धित समाचार