Logo

२२ जेठ, वीरगञ्ज । पर्साको ठोरी छोटी भन्सारले  पुनःसञ्चालनको एक महिनमा पौने २ लाख रुपैया राजश्व संकलन गरेको छ । सञ्चालनको समयदेखि जेठ २० गते सम्म उक्त भन्सारले १ लाख ७५ हजार दुई सय राजश्व संकलन गरेको छ ।

कर्मचारी अभावमा लामो समयदेखि बन्द रहेको ठोरी छोटी भन्सार कार्यालय गत वैशाख १९ गतेबाट पुनः सञ्चालनमा आएको छ ।

वैशाखमा ४० हजार दुई सय रुपैयाँ र जेठ महिनाको २० गतेसम्म एक लाख ३५ हजार रुपैयाँ गरी १ लाख ७५ हजार २ सय राजश्व संकलन भएको ठोरी छोटी भन्सार कार्यालयका नासु शशी विश्वकर्माले जानकारी दिए ।

छोटी भन्सार कार्यालयबाट १० हजार रुपैयाँ मूल्य बराबरका सामग्री मात्रै भन्सार राजश्व तिरर नेपाल ल्याउन पाइन्छ । छोटी भन्सार कार्यालयले उठाएको राजश्वमा नेपाल घुम्न अस्थायी अनुमतिपत्र लिएका भारतीय नम्बर प्लेटका गाडीहरूले बुझाएको रकम रहेको छ ।

कार्यालय सञ्चालनमा आएको महिना दिनमा भारतीय नम्बर प्लेटका १७८ वटा मोटरसाइकल, जिप, कारले अस्थायी अनुमतिपत्र लिएको विश्वकर्माले बताए । यसरी अनुमति लिनेमा भारतीय नम्बर प्लेट भएका तीनवटा ट्याक्टर पनि छन् । जुन बिहेमा जन्ती लिएर आएका थिए ।

भारतीय नम्बर प्लेटका गाडी नेपाल आउन चाहे वर्ष दिनमा बढीमा ३० दिन बस्न पाउने गरेर अस्थायी अनुमति दिने नियम छ ।

नेपालका जुनसुकै भन्सार कार्यालयबाट अस्थायी अनुमतिपत्र लिए पनि त्यस्ता गाडी नेपालभर नै गुड्न पाउँछन् ।

गाडीको क्षमता र दिन अनुसार राजश्व बुझाउनु पर्छ । ठोरी भन्सारबाट एकदेखि तीन दिनसम्मको अनुमति काट्ने धेरै रहेको विश्वकर्माले बताए ।


सम्बन्धित समाचार