Logo

२२ जेठ, काठमाडौं । छिमेकी देश भारतमा फेरि नरेन्द्र मोदी प्रधानमन्त्री बन्ने संकेत देखिएको छ । मंगलबार बिहानदेखि जारी लोकसभा निर्वाचनको मतगणनामा प्रधानमन्त्री मोदीको भारतीय जनता पार्टी सहितको गठबन्धन नेशनल डेमोक्रेटिक एलाइन्स (एनडी) बहुमत सिटमा अगाडि छ । गणनाका क्रममा मत तलमाथि हुन सक्ने भए पनि रुझानमा एनडीए गठबन्धनको बहुमत छ ।

गठबन्धनले निर्वाचनपूर्ण नै नरेन्द्र मोदीलाई प्रधानमन्त्रीको रुपमा अघि सारेकोले मतगणना सकिँदासम्म यही गठबन्धनको बहुमत कायम रहे मोदी नै प्रधानमन्त्री बन्नेछन् । एनडीए गठबन्धनले बहुमत ल्याउने संकेत देखिए पनि प्रधानमन्त्री मोदी र उनको पार्टी भाजपाको लोकप्रियतामा भने भारी गिरावट आएको देखिएको छ ।

प्रारम्भिक रुझानमा सत्तारुढ एनडीए गठबन्धन २९१ सिटमा अगाडि देखिएको छ । विपक्षी इण्डिया गठबन्धन २२६ सिटमा अगाडि छ । अन्य दलहरु २८ सिटमा अगाडि छन् । यो २०१९ को नतिजाको तुलनामा भाजपासहितको एनडीए गठबन्धनलाई नोक्सानी र कांग्रेससहितको इण्डिया गठबन्धनको सफलता हो ।

२०१९ को लोकसभामा भाजपासहितको एनडीए गठबन्धनको ३४२ सिट थियो । कांग्रेससहितको इण्डिया गठबन्धनमा ११९ सिट मात्र थियो । कुनै गठबन्धनमा नरहेका अन्य दल र स्वतन्त्र सांसदको संख्या ४८ थियो । अघिल्लो लोकसभामा इण्डिया गठबन्धनमा तृणमूल कांग्रेस समेत जोडिएको थियो । अहिले ममता बनर्जीको तृणमूल कांग्रेसले एक्लै चुनाब लडिरहेको छ र यो दल पश्चिम बंगालका १९ सिटमा अगाडि छ । यो समेत जोड्ने हो भने अहिले इण्डिया गठबन्धन २४५ सिटमा अगाडि छ ।

दुवै गठबन्धनका नेतृत्वकर्ता नरेन्द्र मोदी र राहुल गान्धी आ–आफ्नो संसदीइ सिटमा अगाडि छन् । नरेन्द्र मोदी सुरुवाती रुझानमा ६ हजारसम्म मतले पछि परेका थिए तर अहिलेसम्म उनले करिब १ हजार मतले अग्रता लिएका छन् । रायबरेली सिटबाट उम्मेदवार बनेका राहुल गान्धी १८ हजारभन्दा बढी मतले अगाडि छन् ।

२०१९ को निर्वाचनमा राहुल गान्धीलाई हराएकी भाजपा सांसद तथा मन्त्री स्मृति इरानी भने यस पटक भारी मतले पछाडि परेकी छिन् । २०१९ मा स्मृति इरानीले उत्तर प्रदेशको अमेठी सिटमा राहुल गान्धीलाई हराएकी थिइन् । अहिले अमेठीमा कांग्रेसले सोनिया गान्धीका पीए किशोरीलाल शर्मा उम्मेदवार छन् । उनले स्मृति इरानीलाई झण्डै १४ हजार मतले पछाडि पारेका छन् ।

अहिलेसम्मको रुझानमा भाजपासहितको एनडीए गठबन्धन २९१ सिटमा अगाडि छ जुन उसको लागि भारी नोक्सानी हो । २०१९ मा भाजपा एक्लैले २९३ सिट जितेको थियो र उसको एक्लै बहुमत थियो । तर अहिले गठबन्धनका सबै दलको सिट जोड्दा पनि अघिल्लो चुनाबमा भाजपा एक्लैले जितेको सिटजति पनि पुगेको छैन । यसले यसपटक भाजपाले एकल बहुमतले सरकार बनाउन नसक्ने र त्रिशंकु संसद बन्ने देखिएको छ ।

 


सम्बन्धित समाचार