Logo

२५ जेठ, वीरगञ्ज । मधेशमा जनतमको नेतृत्वमा बन्ने सरकारमा ६ दलहरुले सरकारमा पठाउने आफ्ना मन्त्रीहरुको नाम टुंगो लगाएको छ ।

प्रदेश प्रमुखको भवनमा १२ बजे हुने शपथग्रहणका लागि ६ दलले लगभग सरकारमा सहभागी हुने मन्त्रीहरुको नामावली टुंगो लगाइसकेको बताइएको छ ।

मुख्यमन्त्री सतिस सिंहको सरकारमा दलहरुले जनमतबाहेका १० जना मन्त्रीहरुकै नाम टुंगो लागिसकेको स्रोतले जानकारी दिएको छ ।

कसको नाममा लाग्यो टुंगो र ?

एमाले संसदीय दलका नेता सरोज यादवको नेतृत्वमा एमाले सरकारमा सहभागी भइरहेको दलका उपनेता दीपेन्द्र ठाकुरले जनाए ।

एमालेबाट भौतिक मन्त्रीमा सरोज यादव, शिक्षा मन्त्रीमा प्रमोद जैसवाल, स्वास्थ्य मन्त्रीमा शत्रुघन सिंह कोइरी र युवा तथा खेलकुद मन्त्रीमा राजकुमार लेखीलाई पठाउने निर्णय गरेको छ ।

यसैगरी माओवादी केन्द्रले अर्थमन्त्रीमा भरत साह र पर्यटन मन्त्रीमा युवराज भट्टराइलाई सरकारमा पठाउने निर्णय लिएको छ ।

जनमतले भने मुख्यमन्त्री र एक राज्यमन्त्रीलाई मात्र शपथग्रहण कार्यक्रम पठाउने निर्णय गरेको छ । पार्टी अध्यक्ष सिके राउत बाहिर रहेको कारणले सरकारमा सहभागी हुने मन्त्रीको नाम टुंगो नलागिसकेको जनमतका सतिस सिंहले बताए ।

तर, आज मुख्यमन्त्रीमा सिंहसंगै राज्य मन्त्रीमा रंजु खङ्ग मण्डलले भने शपथ लिने भएकी छन् । यता एकीकृत समाजवादीले यसअघिका सरकारमा सहभागी मन्त्रीहरु फेरि दोहो-याउने निर्णय गरेको छ ।

एकीकृत समाजवादीले कृषि मन्त्रीमा गोविन्द न्यौपाने र उर्जा मन्त्रीमा बेची लुङगेलीलाई पठाउने निर्णय गरेको हो ।

त्यस्तै नागरिक उन्मुक्ति पार्टीले श्रम तथा रोजगार मन्त्रीमा उर्मिलादेवी सिंह र नेपाल संघीय समाजवादीले गृह तथा सञ्चार मन्त्रीमा विमला अन्सारीलाई सरकारमा पठाउने निर्णय गरेको शपथ लिन लागेका मुख्यमन्त्री सिंहले जानकारी दिएका छन् ।

सबै दलहरुले अहिलेसम्म टुंगो लगाइएको मन्त्रीहरुको नामावलीमा कुनै विवाद नआए आजै सबै मन्त्रीहरुलाई शपथग्रहण गराउने तयारी छ ।

 


सम्बन्धित समाचार