Logo

२५ जेठ, काठमाडौं । सरकारले सुन आयातमा गरेको ५ प्रतिशत भंसार महशुल वृद्धि तत्काल खारेज गर्न व्यवसायीले अर्थ मन्त्रीको ध्यानाकर्षण गराएका छन् । सुनमा गरिएको भंसार वृद्धिले उपभोक्ता, व्यवसायी र सरकार कसैलाई फाइदा नहुने भन्दै बढाइएको महशुल फिर्ता लिन सरकारसँग व्यवसायीले माग गरेका हुन ।

सुनचाँदी व्यवसायीहरुको प्रतिनिधीमूलक संस्था नेपाल सुनचाँदी व्यवसायी महासंघ, नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघ र नेपाल हस्तकला व्यवसायी महासंघको तर्फबाट शुक्रवार अर्थ मन्त्री बर्षमान पुनलाई भेटगरी भंसार महशुल फिर्ता लिन आग्रह गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष मणिकरत्न शाक्यले बताए ।

नेपालमा सुनचाँदी आयातमा लगाइएको कोटा प्रणालीको नेपाल राष्ट्र बैंकले औचित्य पुष्टि गर्न सक्ने अवस्था नभएकोले व्यवसायीलाई खुला रुपमा सुन आयातको लागि वातावरण बनाई दिन मन्त्री पुनलाई आग्रह गरिएको अध्यक्ष शाक्यले जानकारी दिए । राष्ट्र बैंकलले तोकेको कोटा भन्दा ४० प्रतिशत मात्र सुन आयात भएकोले कोटाको औचित्य सकिएको छ, शाक्यले भने ।

सरकारले कुनै अध्ययन नगरी सुनमा लगाइएको ५ प्रतिशत भंसार महशुलले नेपाली व्यवसायी र कालिगढलाई विस्थापन गर्ने र भारतबाट सुन तस्करी बढने संभावना देखिएकोले यसलाई तत्काल सम्वोधन गर्न सरकारको ध्यानाकर्षण गरिएको शाक्यले बताए । भंसार वृद्धिले अवैध व्यापारलाई प्रश्रय दिन्छ र राज्यलाई राजश्वमा ठूलो नोक्सान हुन्छ, शाक्यले भने ।

सुनचाँदी व्यवसायी महासंघका पदाधिकारीसँगको भेटमा अर्थ मन्त्री पुनले भारत तर्फ सुन तस्करी रोक्नका लागि भंसार वृद्धि गरिएको बताए । भारत तर्फ हुने अवैध तस्करी रोक्न सरकारले भंसार वृद्धि गरेको मन्त्री पुनको भनाई थियो । उनले भारतमा भंसार र जिएसटी गरेर १८ प्रतिशत रहेकोले नेपालमा २० प्रतिशत बनाउँदा अवैध कारोवार रोकिन्छ कि भन्ने मनसायले गरिएको प्रष्टिकरण दिएका थिए ।

कोटा प्रणालीको कारण नेपालबाट भारत तर्फ सुन तस्करी हुने गरेको र नेपाली बजारमा समेत अवैध मार्गभएर आएको सुनको कारोवार बढी हुनेगरेको छ । व्यवसायीले कोटा प्रणालीको कारण सुनचाँदीको बजारलाई नकरात्मक प्रभाव पारेको र भंसार वृद्धिले अवैध व्यापारले प्रश्रय पाउँने भएकोले तत्काल व्यवसायीको माग प्रति ध्यान दिन मन्त्री पुनलाई अनुरोध गरेका थिए । व्यवसायीको माग सम्वोधन गर्ने बिषयमा अर्थ मन्त्री पुन सकरात्मक देखिनु भएको छ शाक्यले भने ।


सम्बन्धित समाचार