Logo

३० जेठ, वीरगन्ज । वीरगन्ज पथलैया औद्योगिक करिडोरको बहुराष्ट्रिय कम्पनी सूर्या नेपालले भन्सार राजस्व छलि गर्न तयारी वस्तुलाई कच्चा पदार्थ घोषणा गरी आयात गर्ने गरेको खुलेको छ ।

सुर्य नेपालले कच्चा पदार्थ भन्दै तयारी सुर्ति आयात गर्ने गरेको भेटिएको हो । सूर्या नेपाल उद्योगले चुरोट बनाउनका लागि भारतबाट सुर्ती आयात गर्ने गरेको छ । त्यसरी आयात गरिने सुर्ति ६ महिनादेखि १ वर्ष लगाएर ‘कट टोबाको’ को रुपमा नेपालमा आयात गर्ने गर्छ ।

यसरी आयात गरेको सुर्ति भन्सार बिन्दुमा औद्योगिक उत्पादनका लागि आवश्यक कच्चा पदार्थ (रअ मेटरियल्स) सुर्ति भन्दै घोषणा गरेर आयात गर्ने गरेको रहस्य खुलेको हो । सूर्या नेपालले त्यसरी आयात गर्ने गरेको ‘कट टोबाको’ सुर्ति कच्चा सुर्ति नभई तयारी सुर्ति भएको महालेखा परिक्षक कार्यालयले भनेको छ ।

नेपाल, भारत र बेलायतका संयुक्त लगानीमा सञ्चालनमा रहेको सूर्या नेपाल प्रालीमा भारतको आइटीसी लिमिटेडको ५९ प्रतिशत शेयर हिस्सा रहेको छ । बाँकी बेलायत र नेपाली शाह राजपरिवारका सदस्य तथा नातेदारहरुको रहेको छ ।

कम्पनीमा साझेदारी हिस्सा रहेको भारतीय कम्पनीले नै भारतमा तयारी सुर्ति बनाएर नेपालमा पठाउने गर्छ । भारतले सुर्ति को कच्चा पदार्थ आयातलाई ८ भागमा विभाजन गरेर आयत गर्ने गर्छ । तर नेपालले भने २ भागमा मात्रै विभाजन गरेको छ ।

भन्सार शिर्षक नम्बर २४०१ बाट उत्पादन नभएको (अनम्यानुफ्याक्चर्ड) सुर्ति जाँचपास हुने गरेको छ । यो शिर्षकबाट जाँचपास गर्दा भन्सार महसुल दर प्रतिकिलो ३० प्रतिशतका दरले तिर्नुपर्छ । यस्तै, अन्तशुल्क प्रतिकिलो १ सय ३० रुपैयाँ र मूल्य अभिवृद्धि कर १३ प्रतिशत तिर्नुपर्छ ।

प्रोसेस सुर्ति आयात गर्दा भन्सार शिर्षक नम्बर २४०३ बाट जाँचपास गर्नुपर्ने व्वस्था छ । जसमा भन्सार महसुल प्रतिकिलो ३० प्रतिशत, अन्तशुल्क प्रतिकिलो ४ सय ६० रुपैयाँ र भ्याट १३ प्रतिशत तिर्नुपर्ने व्यवस्था छ । सुर्य नेपालले भने भन्सार बिन्दुमा कर छलि गर्नका लागि तयारी सुर्तिलाई अनम्यानुफ्याक्चर्ड सुर्ति घोषणा गर्ने गरेको छ ।

सूर्या नेपालले चुरोटको फिल्टर र डिब्बालाई पनि कच्चा पदार्थ नै भनेर प्रतित पत्रमा उल्लेख गरेर आयात गरेको छ । चुरोटको फिल्टर र डिब्बालाई औद्योगिक कच्चा पदार्थ भनेर बैंकमा एलसी खोल्ने बेलामै स्पष्ट उल्लेख गरेको देखिएपनि भन्सार कर्मचारीहरुले त्यसलाई सहजै पास गरिदिनुले पनि द्रव्यमोहको प्रभाव स्पष्ट देखिन्छ ।

त्यसैगरी, वीरगन्ज भन्सार कार्यालयका ३ प्याकेजिङ उद्योगले पैठारी गरेको अनम्यानुफ्याक्चर्ड सुर्ती प्रोसेस गरेको वा कट टोबाको समेत भएकोले प्रति केजी रू. २११ देखि रू. २३५ सम्मको अनम्यानुफ्याक्चर्ड सुर्तीलाई केही प्रज्ञापनपत्रहरूमा भन्सार दरबन्दी २४०३.९९.३० (कट टोबाको) बाट ८० प्रतिशत भन्सार महसुल, रू. ४६० प्रति के.जी. अन्तःशुल्क, मूल्य अभिवृद्धि कर र प्रति के.जी. रू.६० स्वास्थ्य जोखिम कर लगाई जाँचपास भएको छ ।

भने प्रति के.जी. रू.२३० देखि रू.२३८ सम्मको अनम्यानुफ्याक्चर्ड सुर्तीलाई नै भन्सार उपशीर्षक २४०१.२००० (अनम्यानुफ्याक्चर्ड सुर्ती) बाट २० प्रतिशत भन्सार महसुल, रू. १३० प्रति के.जी. अन्तःशुल्क र मूल्य अभिवृद्धि कर लगाई जाँचपास गर्दा छुट भएको राजस्व रू. ६ करोड ४६ लाख ९६ हजार सम्बन्धमा यकिन गरी छुट भएको राजस्व रकम असुल गर्नुपर्ने उल्लेख छ ।

विश्व भन्सार संगठन वल्र्ड कस्टम अर्गनाइजेशन (डब्लुसिओ) को गाइडलाइनलाई नै उपेक्षा गर्दै भन्सार कार्यालयहरुले तयारी सुर्तिलाई कच्चा पदार्थ भन्दै जाँचपास गरिरहेका छन् ।

आर्थिक ऐन, २०७९ को दफा २ मा विदेशबाट पैठारी हुने मालवस्तुमा अनुसूची–१ बमोजिम भन्सार महसुल लगाउनुपर्ने, दफा ५ मा नेपालभित्र पैठारी भएका मालवस्तुमा अन्तःशुल्क ऐन, २०५८ बमोजिम अन्तःशुल्क असुल गर्नुपर्ने व्यवस्था छ ।

दफा ६ मा मूल्य अभिवृद्धि कर ऐन, २०५२ बमोजिम मूल्य अभिवृद्धि कर लगाई असुल गर्नुपर्ने उल्लेख छ । आर्थिक वर्ष २०७९।०८० मा अनम्यानुफ्याक्चर्ड सुर्तीलाई बिराटनगर, वीरगन्ज लगायतका भन्सार कार्यालयले अधिकांश प्रज्ञापनपत्रमा कट टोबाको भनी भन्सार उपशीर्षक २४०३.९९.३० बाट जाँचपास गरेका छन् ।

जसमा ८० प्रतिशत भन्सार महसुल, रू.४६० प्रतिकेजी अन्तःशुल्क र मूल्य अभिवृद्धि कर लगाई जाँचपास गरेका छन् ।

सुर्ती प्रोसेस गरिएको हो वा कट टोबाको समेत रहेको हुनसक्ने देखिएकोले भन्सार उपशीर्षक २४०१.२००० बाट जाँचपास गर्दा वीरगन्ज भन्सार कार्यालयका ३ पैठारीकर्ताको ८८२ प्रज्ञापनपत्रको कारोबार मूल्य रू. २ अर्ब ६३ करोड ७८ लाख २० हजार र सुख्खा बन्दरगाह भन्सार कार्यालय,

पर्साको एक पैठारीकर्ताको ६३ प्रज्ञापनपत्रको कारोबार मूल्य रू. २१ करोड ९७ लाख ८४ हजारसमेत रू. २ अर्ब ८५ करोड ७६ लाख ४ हजार कारोबार मूल्यमा लाग्ने राजस्व सम्बन्धमा छानबिन हुनुपर्ने महालेखाको निष्कर्ष छ ।

डब्लुसीओको गाइडलाइन अन्तर्गत एचएस कोड २४०१ मा अनम्यानुफ्याक्चर्ड सुर्ति भन्नाले टोबाकोको सिङगै पात हुनुपर्ने कुनैपनि प्रोसेस भएको हुन नहुने उल्लेख छ ।

यस्तै, भन्सार शिर्षक २४०३ मा सुर्तिको पातलाई गरिएको कुनैपिन प्रोसेसलाई मानेको छ । सुर्य नेपाललाई सुर्तिको कच्चा पदार्थ पठाउने एसटीसीले प्रोसेस गरेर मात्रै सुर्ति पठाउने गरेको महालेखाले जनाएको छ ।

नेपालभित्र पैठारी हुने मालवस्तुको उपयुक्त वर्गीकरण गरी सोही अनुसारको दर लगाई भन्सार जाँचपास गर्नुपर्ने उल्लेख छ । भन्सार विभागले कार्यालयहरूलाई पटक– पटक परिपत्र गरी मालवस्तु जाँचपास गर्दा स्पेसिफिकेसन, गुणस्तर खुलाई जाँचपास गर्न निर्देशन दिएकोमा भन्सार कार्यालयले जाँचपास गर्दा उक्त निर्देशनको पूर्ण पालना नगरेको महालेखाले जनाएको छ ।

मालवस्तु पैठारी गर्दा बिलमा अनम्यानुफ्याक्चर्ड सुर्ती उल्लेख गरीएको छ भने वीरगन्ज भन्सार कार्यालयले जाँचपास गर्दा प्रणालीमा केही कारोबारको परिमाणसमेत खुलाएको छैन ।

सूर्या नेपालले मगाउने सिगरेटको फिल्टर र डिब्बा समेत औद्योगिक कच्चा पदार्थको नाममा आयात गर्ने र भन्सार अधिकारीहरुले पनि जाँच पास गरिदिने गरेको स्रोतको भनाई छ ।

एक भन्सार एजेण्टका अनुसार केही अघि सूर्या नेपालको नाममा आएको चुरोटको तयारी फिल्टर र डिब्बा समेत कच्चा पदार्थको नाममा जाँच पास भएको छ । ती एजेण्ट भन्छन्, ‘सानो कम्पनी भए भन्सार अधिकृतहरुले कहाँ पास गथ्र्यो होला र ?’

वीरगन्ज आईसीपी भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक डिलाराम पन्थीले भने सूर्या नेपालले अधिकांश कच्चा पदार्थ नै मगाउने गरेको बताए ।

उनले महालेखा परीक्षकको कार्यालयको प्रतिवेदनको आधारमा कुनै सञ्चार माध्यममा आएको समाचारले केही अर्थ नराख्ने बताए ।

उनले भने, ‘महालेखा परीक्षकको प्रतिवेदनकै आधारमा काम गर्ने हो भने कुनैपनि का हुन सक्दैन ।’ सूर्या नेपालले आयात गर्ने वस्तुहरुको तथ्यांक समेत भन्सार कार्यालयले दिन अनाकानी गरेको छ ।

वीरगन्ज भन्सार कार्यालयका सूचना अधिकारीलाई रघुलाल कर्णसँग सूर्या नेपालले आयात गर्ने सूर्तीको विषयमा सूचना माग गर्दा कुनै एउटा संस्थाको मात्रै वस्तु आयातको विवरण माग गर्दा सूचनाको लागि निवेदन दिनुपर्ने बताए ।

उनले कार्यालयको नाममा निवेदन दिनएपछि मात्रै सूचना उपलब्ध गराउन सक्ने सूचना अधिकारी कर्णले बताए ।

 


सम्बन्धित समाचार