Logo

३० जेठ, वीरगञ्ज । सशस्त्र प्रहरी बल (एपीएफ)ले पर्साको वीरगञ्ज महानगरपालिका–१९ बर्वालगायतका क्षेत्रमा सञ्चालित विभिन्न गोदाममा छापा मारेको छ ।मंगलबार राति छापा हानेर प्रहरीले ४४ लाखभन्दा बढीको अवैध सामान नियन्त्रणमा लिएको छ ।

प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगञ्ज बाट सशस्त्र प्रहरी नायब उपरीक्षक सुरज रिजालको कमान्डमा खटिएको फौजले उक्त अवैध सामान नियन्त्रणमा लिएको एपीएफका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।
उनका अनुसार वीरगञ्ज भन्सार कार्यालयका कर्मचारीसमेतको उपस्थितिमा अवैध रूपमा सञ्चालित गोदाममा छापा मारेर सौन्दर्य क्रिम, मुङ दाल, मोटर पार्टस्लगायतका सामान बरामद गरेको हो ।

बरामद सामानमा १४ लाख ५९ हजार २ सय रुपैयाँ बराबरको लेक्मी ब्रान्डको क्रिम १४ हजार ५ सय ९२ पिस, सोही ब्रान्डको ८ लाख ६ हजार ४ सय रुपैयाँ बराबरको १६ हजार १ सय २८ पिस क्रिम रहेको छ ।
यस्तै सोही महानगरपालिकाको अर्को एक ठाउँबाट एक घरमा अवैध रुपले गोदाम गरी राखिएको ६ लाख रुपैयाँ बराबरको ३ हजार किलो दालसमेत बरामद भएको सहप्रवक्ता थापाले जानकारी दिए ।

यसैगरी मंगलबार राति नै सोही गुल्मले वीरगन्ज महानगरपालिका–१० बाट अवैध रुपमा राखिएको ११ लाख रुपैयाँ बराबरको मोटर पार्टस् र १० लाख ७५ हजार मूल्य बराबरको किराना सामानसमेत बरामद गरेको छ ।
बरामद सामान बुधबार बिहान आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वीरगन्ज भन्सार कार्यालय पर्सामा बुझाइएको छ ।


सम्बन्धित समाचार