Logo

३२ जेठ,चितवन । पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका( ३ फिस्लिङ बजार नजिक आज बिहान दुईवटा सवारीसाधन आपसमा ठोक्किँदा २० जना घाइते भएका छन्।

घाइतेमध्ये पाँचजनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। नेपालगन्जबाट काठमाडौँतर्फ आउँदै गरेको भे १ ख ४०६० नम्बरको रात्री बस कारसँग ठोकिएपछि त्रिशूली नदी किनारमा खसेको छ।

काठमाडौँबाट मुग्लिनतर्फ गइरहेको बागमती प्रदेश ०२–०३९च ३७२० नम्बरको कारसँग ठोक्किएपछि बस नदी किनारमा खसेको प्रहरीले जनाएको छ।जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरीका अनुसार कारमा सवार पाँचजना गम्भीर घाइते छन्। बसमा ४५ जना यात्री थिए। सबै यात्रीको अवस्था सामान्य छ।

गम्भीर घाइते भएका कारमा सवार सबैलाई उपचारका लागि चितवन पठाइएको गजुरीस्थित जिल्ला ट्राफिक प्रहरी कार्यालय प्रहरी निरीक्षक रवीन्द्रकुमार श्रेष्ठले जानकारी दिए।

दुर्घटना लगत्तै सशस्त्र प्रहरी बल नेपाल बिपद ब्यबस्थापन तालिम शिक्षालय कुरिनटारबाट सशस्त्र प्रहरी निरीक्षक श्रीकृष्ण श्रेष्ठको कमान्डमा मेडिकल टिमसहित ३५ जनाको सुरक्षा फौज घटनास्थलमा पुगेको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए।

‘घाइतेमध्ये ११ जनालाई उपचारार्थ भरतपुरतर्फ पठाइएको छ,’ उनले भने, ‘बाँकी सामान्य घाइते स्थानीय स्वास्थ्य संस्थामा उपचारपछि आआफ्नो गन्तव्यतर्फ लागेका छन्।’

 


सम्बन्धित समाचार