Logo

३२ जेठ,काठमाडौँ । प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले राष्ट्र प्रमुखको विदेश भ्रमणबारे सदनमा जानकारी गराउने न्यूनतम मर्यादा समेत सरकारले पूरा नगरेको प्रति असन्तोष जनाउँदै सरकारसँग यसको कारण स्पष्ट पार्न माग गरेको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमण र राष्ट्रपति रामचन्द्र पौडेलको जेनेभा भ्रमणबारे सरकारले सदनलाई जानकारी नगराएकोमा सरकारसँग काँग्रेसले जवाफ माग गरेको हो ।

शुक्रबार बसेको प्रतिनिधि सभा बैठकमा काँग्रेसका प्रमुख सचेतक रमेश लेखकले प्रधानमन्त्री दाहाललाई भारतीय समकक्षी नरेन्द्र मोदीको शपथ ग्रहण समारोहमा सहभागी हुन गएकोमा धन्यवाद व्यक्त गरेको छ । तर, दाहालले भारत भ्रमणबारे सदनमा जानकारी नगराएको प्रति भने उनले त्यसलाई सदनको दुर्भाग्य भनेर आलोचना गरे ।

दाहालले भ्रमणबाट फर्किएको पाँच दिनसम्म पनि सदनलाई जानकारी नगराएको प्रति जवाफ माग गर्दै नेता लेखकले भने, ‘प्रधानमन्त्रीजी यो सदनमा उपस्थित भएर आफ्नो भारत भ्रमणबारे जानकारी गराउनुहोला र सदनले पनि थाहा पाउला भनेर हामी पाँच दिनसम्म कुरेर बसेका थियौं । तर, उहाँ पाँच दिन भैसक्दा पनि आउन सक्नु भएन, मैले उहाँलाई स्मरण गराउनुपर्ने भयो ।’ लेखकले भने, ‘प्रधानमन्त्री यो सदनको नेता हो । देशको कार्यकारी प्रमुख विदेश भ्रमणमा जाँदै गर्दा यो सदन अनभिज्ञ रहनुपर्ने, जानकारी नपाइनाले र पत्रिका पढेर थाहा पाउनुपर्ने यो जुन स्थिति छ, यो सरकारको दुर्भाग्य हो कि मेरो सौभाग्य ?’

देशका कार्यकारी प्रधानमन्त्री र राष्ट्रपति जस्तो व्यक्ति विदेश भ्रमणमा जाँदा सदनलाई जानकारी नगराउनु दुर्भाग्य भएको सांसद लेखको भनाई छ ।

नेता लेखकले भने, ‘सरकारका कारणले संसदको न्यूनतम गरिमा र मर्यादा पनि कायम गर्ने काम भएन, यसका प्रति काँग्रेस खेद व्यक्त गर्दछ ।’


सम्बन्धित समाचार