Logo

१ असार,वीरगञ्ज । बाराका रामराजा बहुमुखी क्याम्पस प्रमुख हरिभूषण कुश्वाहाको हत्या प्रकरणमा नयाँ मोड लिएको छ ।
व्यक्तिगत रिसइबीका कारण गाउँकै एकजनाले हत्या गरेको खुलासा भएको छ । घटनास्थलबाट प्राप्त एक भिडिओ ‘क्लिप’ले कुश्वाहा हत्या प्रकरणको पर्दाफास गरेको हो । जसका कारण प्रहरी अनुसन्धान नै साँघुरो बनाइदिएको छ ।

शनिबार (हिजो) साँझ गोली प्रहार भएपछि घाइते कुश्वाहाले त्यस बेला बोलिरहेको कुराहरुको भिडिओ सर्वसाधारणले रेकर्ड गरेका थिए ।
रेकर्ड भएको उक्त भिडिओमा उनले आफूमाथि गोली प्रहार गरेको व्यक्तिका बारेमा बोलिरहेको देखिन्छ । जसले गर्दा २४ घण्टा नबित्दै प्रहरी अनुसन्धान ‘न्यारो डाउन’ तर्फ गएको अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीहरुको दाबी छ ।

सर्वसाधारणले आफ्नो मोबाइलमा कैद गरेका ती भिडिओ प्रहरी कहाँ पुगिसकेको अनुसन्धानमा संलग्न एक अधिकारी बताउँछन् ।
जसमा उनले गाउँकै सुरेन्द्र कुश्वाहाले गोली प्रहार गरेको भनेका छन् । उनको यो बयानले हत्याराको पहिचान भइसकेको अनुसन्धानमा संलग्न अधिकारीहरुको दाबी छ । अनुसन्धानमा संलग्न अधिकारीहरु मात्रै नभइ प्रमुख एसपी महेन्द्र

खड्काले भिडिओ रेकर्ड भएकोबारे आफूलाई जानकारी पाइसकेकोे स्वीकारे । बाराका निमित्त प्रमुख जिल्ला अधिकारी छविरमण भट्टराइले मृतकले गोली लागेपछि घाइते रहँदाकै अवस्थामा बोलेका कुराहरुको भिडिओ रेकर्ड प्राप्त भएको पुष्टि गरे ।
रेसखबरसंग बोल्दै निमित्त प्रजिअ भट्टराइले भने,‘ घाइते भइसकेपछि उहाँले प्रष्टरुपमा आफूमाथि गोली प्रहार गर्ने व्यक्तिको नाम नै लिनु भएको छ, जुन भिडिओ एसपी साहेबसंगै हामीलाई पनि प्राप्त भएको छ । त्यो भिडिओ हेर्दा मृतक कुश्वाहाले गाउँकै सुरेन्द्र कुश्वाहाले आफूमाथि गोली चलाएको प्रष्टरुपमा बोलेका छन् ।’

त्यो भिडिओमा गाउँका सुरेन्द्र कुश्वहाको नाम लिइएको प्रहरी स्रोतले जानकारी दिएको छ । आरोपित कुश्वाहा भूपू आर्मीको जवान रहेको  खुलेको छ । बाराका प्रहरी प्रमुख खड्काले पनि कुश्वाहा हत्या प्रकरणमा विभिन्न कोणबाट अनुसन्धान भइरहेको बताए ।

मृतक कुश्वाहाले घाइते भएपछि घटना विवरणबारे आफूलाई फोन गरेर सबै जानकारी दिएको एसपी खड्काले खुलासा गरे ।
एसपी खड्काले भने, ‘कुश्वाहालाई गोली लागिसकेपछि उनले सबै जानकारी आफूलाई गराए, तर अनुसन्धान चलिरहेको हुनाले त्यसबारेमा अहिले खुलासा गर्न सकिदैन । तैपनि प्रहरी अनुसन्धानको नजिक पुगिसकेको छ ।’

घटनामा संलग्न रहेको आरोपमा अहिलेसम्म ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । मृतक कुश्वाहाको आदर्श कोतवाल नगरपालिका वडा नम्बर २ खजुरिया निवासी हुन ।


सम्बन्धित समाचार