Logo

२ असार, वीरगञ्ज । बुवाआमाको सपना पूरा गर्न वैदेशिक रोजगारका लागि हवाई जहाजमा उडेर गएका पर्सागढीका सिकेन्द्र सहनी बन्द बाकसमा फर्किएका छन् ।

पर्सागढी नगरपालिका वडा नं.–९ सहनी टोल निवासी मुखतार सहनीका छोरा बर्ष २६ को सिकेन्द्र सहनी घरको आर्थिक अवस्था कमजोर भएको कारण ४ वर्ष अगाडि मलेसिया गएका थिए ।

त्यहाँ स्थित पोलिडायनामिक (एसडीएन) कम्पनीमा कार्यरत उनी जेठ २७ गते आफ्नै सुत्ने कोठामा मृत भेटिए । डोरीले पासो लगाईएको अवस्थामा उनको शव भेटेको थियो ।

‘छोराले दुई दिन अगाडी फोनमा कुरा गर्दै १–२ दिनमै घरमा पैसा पठाउदै छु भनेको थियो । तर त्यसको भोलि पल्ट नै उनको मृत्युको खबर आयो । यो सुन्दा आफ्नो होश नै उड्यो, घरको छानो टाउको मै खसेको झै भयो ।’ मृतक सहनीका बुवा मुख्तार सहनीले वेदना पोखे।

त्यसपछि छोराको शव स्वदेश फर्काउन सुरक्षित आप्रवासन कार्यक्रम (सामी) पर्सागढि नगरपालिका लाई अनुरोध गर्न पुगे मुख्तार । पर्सागढी नगरपालिकामा सञ्चालित सुरक्षित आप्रवासन (सामी) कार्यक्रमको सहयोगमा उनको शव घर ल्याईएको हो ।

सहनीको मृत्यु के कारणले भएको होला भन्ने खुल्न सकेको छैन । उनको शव शनिबार नै विहान स्थानीय आर्यघाटमा लगेर दाहसंस्कार गरिएको छ ।
सुरक्षित आप्रवासन कार्यक्रम (सामी) पर्सागढी नगरपालिका शाखाका प्रमुख चन्द्रकिसोर रायका अनुसार मृत्युको खबर सुन्नासाथ शव झिकाउन वैदेशिक रोजगार विभाग काठमाडौंमा पहल गरेर १ हप्ता भित्र सहनीको शव घर ल्याउन सफल भएको हो ।

सामी कार्यक्रम ३ वर्ष देखि पर्सागढीमा सञ्चालनमा रहेको र विदेशमा फसेकाहरुलाई उद्दार गर्ने, ठगिएकाहरुलाई क्षतिपूर्ति दिलाउने र वैदेशिक रोजगारबाट फर्किएकाहरुलाई सीपमुलक तालिम दिई रोजगारी दिने जस्ता कार्यक्रम गर्दै आईरहेको छ ।

 


सम्बन्धित समाचार