Logo

७ असार, वीरगञ्ज । बारा–पर्सा औद्योगिक कोरिडोरमा रहेका अधिकांश सिमेन्ट उद्योगमा ताला लागेको छ । कोरोना महामारीयता खस्किएको बजार र तीव्र प्रतिस्पर्धाबीच यो कोरिडोरका आधा दर्जन सिमेन्ट उद्योग बन्द भएका हुन् ।

लागतभन्दा कम मूल्यमा सिमेन्ट बेच्दा पनि प्रतिस्पर्धामा टिक्न नसकेपछि ती उद्योगले उत्पादन नै बन्द गर्नुको विकल्प नदेखिएका हुन् । कोरिडोरका उद्योग बन्द हुँदा करीब १० अर्ब रुपैयाँको लगानी डुबेको दाबी उद्योगीहरुको छ ।

केहीले क्षमताको तुलनामा न्यून परिमाण उत्पादन गरेरै भए पनि निरन्तरता दिएका छन् । बैंकको दबाब र कामदार कर्मचारीको खर्च थेग्नकै लागि भए पनि उद्योग चलाउनुपर्ने बाध्यता आइपरेको एक उद्योगीले बताए ।

‘नाफा कमाउनभन्दा पनि घाटा कम गर्न उद्योग चलाउनु परेको छ । लागतभन्दा कम मूल्यमा सिमेन्ट बेचेर उत्पादनलाई कहिलेसम्म धान्ने हो भन्न सकिने अवस्था छैन,’ ती उद्योगीले भने । घाटा खाएर सिमेन्ट बेच्दा नसक्ने अवस्था भएपछि उद्योगी अनिल अग्रवालले उद्योग सधैंका लागि बन्द गर्ने निर्णय लिए । अग्रवालको श्री सिमेन्ट कोरोना महामारीयता बन्द भएको हो ।

वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्षसमेत रहेका अग्रवालले सिमेन्टमा बाहिरको ठूलो लगानी भित्रिएसँगै ग्राण्डिड (अन्य स्रोतबाट क्लिंकर ल्याएर सिमेन्ट बनाउने)मा आधारित उद्योगहरू धराशयी हुनेक्रम शुरू भएको बताए ।

एक समय बारा–पर्सा सिमेन्ट उत्पादनको हब रहेको स्मरण गर्दै उनी भन्छन्, ‘कोरोना महामारीयता खस्किएको बजार र तीव्र प्रतिस्पर्धाबीच यो कोरिडोरका आधा दर्जन सिमेन्ट उद्योग बन्द भएका छन् ।

चिनियाँ लगानीमा खुलेका उद्योगले बजारमा लागतभन्दा पनि सस्तोमा सिमेन्ट पु¥याउन थालेपछि बारा–पर्सालगायतका क्षेत्रमा खुलेका ग्राण्डिड उद्योग समस्यामा पर्न थालेको उद्योगीहरूले बताए । सरकारले स्वदेशी क्लिंकर उद्योगलाई प्रवद्र्धन गर्न क्लिंकर आयातमा उच्च दरको भन्सार महशुल तिराउने नीति लिएको छ ।

सरकारले क्लिंकर उत्पादनलाई प्रवद्र्धन गरी आयातित क्लिंकरमा उच्च दरको भन्सार महशुल असुल्न थालेपछि यस्ता उद्योगमा ताला लाग्नेक्रम शुरू भएको हो । अहिले कोरिडोरका जगदम्बा, शालिमार, नारायणी र विश्वकर्मा सिमेन्टले मात्र उत्पादन जारी राखेका छन् ।

इन्टरनेशनल, कृष्णा, आरएमसी, श्री सिमेन्ट, अम्बे, एडभान्स सिमेन्ट बन्द भइसकेका छन् । स्टार सिमेन्ट त्यसअघि नै बन्द भइसकेको थियो । ठूलो लगानीमा खुलेका क्लिंकर उद्योगसहितका उद्योगसँग प्रतिस्पर्धा गर्न बाध्य कोरिडोरका उद्योगलाई कोरोना महामारीपछिको मन्दीले झन् मारमा पारेको एक उद्योगीले बताए ।

स्वदेशी क्लिंकर उद्योगले आयातित क्लिंकरको मूल्यलाई आधार मानेर स्थानीय क्लिंकरको मूल्य तोक्नु र आफैंले उत्पादन गरेको सिमेन्ट सस्तो बनाउँदा ग्राण्डिङ युनिट बन्द हुने स्थिति आएको उद्योगीहरू बताउँछन् । ‘ठूलो लगानीमा खुलेका उद्योगले क्लिंकरको भाउ बढी भन्न थाले ।

सिमेन्ट भने सस्तोमा बेचे । यसले तिनै उद्योगबाट क्लिंकर किनेर उत्पादन गर्नेहरू बजारमा टिक्नै नसक्ने अवस्था भयो,’ बन्द भइसकेको इन्टरनेशल सिमेन्टका सञ्चालक सन्दीप अग्रवालले भने ।

‘कोरिडोरमा एक सय ११ ओटा उद्योगले राम्रै उत्पादन गरेका थिए । नेपाललाई सिमेन्टमा आत्मनिर्भर बनाउनमा यी उद्योगको योगदान मानिएको थियो,’ इन्टरनेशनल सिमेन्टका सञ्चालक अग्रवाल भन्छन्, ‘५/७ वर्षअघिसम्म यो कोरिडोरलाई सिमेन्ट उद्योगको केन्द्र मानिन्थ्यो । तर, ती सबै उद्योग ग्राण्डिड युनिट थिए ।’ चिनियाँ लगानीमा खुलेका ठूला उद्योगले बजारमा सस्तोमा सिमेन्ट ‘पेल्न थालेपछि’ यो क्षेत्रमा उद्योगको दुर्दशा भएको उनको बुझाइ छ ।

सफल भएन निकासी

केही उद्योगीले भारततर्फ निकासी गरेरै भए पनि उत्पादन जोगाउने योजना नबनाएका होइनन् । यो योजनामा सफलता हात नपरेको उद्योगीको भनाइ छ । सरकारले सिमेन्टको निकासी बढाउन निकासी मूल्य र विद्युत् खपत दुवैमा अनुदान दिने घोषणा गरेको थियो ।

भारतमा निकासीका लागि भारतीय गुणस्तरको मापदण्डमा झन्झटका कारण निकासी गर्न नसकिएको एक उद्योगीले बताए । नेपालमा चिनियाँ लगानीमा सञ्चालित उद्योगबाट उत्पादित क्लिंकर प्रयोग गर्ने सिमेन्ट आयातमा अवरोध गर्ने ‘अघोषित नीति’का कारण निकासी हुन नसकेको ती उद्योगीको दाबी छ।


सम्बन्धित समाचार