Logo

७ असार, वीरगञ्ज । पर्सा प्रहरीले आजदेखि ‘स्मार्ट कन्ट्रोल रुम’ सेवा सञ्चालनमा ल्याएको छ । पर्साका प्रमुख जिल्ला अधिकार दिनेश सागर भुसालले  ‘स्मार्ट कन्ट्रोल’ रुमको उद्घाटन गरेका हुन ।

उद्घाट गर्दै प्रमुख जिल्ला अधिकारी भुसालले ‘स्मार्ट कन्ट्रोल’ बाट भुइँ मान्छेको समस्या समाधान तर्फ तदारुकता देखाउन प्रहरीलाई निर्देशन दिए । प्रहरीले आजदेखि सञ्चाल गरेको ‘स्मार्ट कन्ट्रोल’ सेवाको अवधारणा राम्रो रहेकोले त्यही बमोजिमको सेवा प्रवाह गर्न सुझाव दिए ।

सेवाग्राहीको काम छिटो छरितो बनाउनका लागि पर्सा प्रहरीले मधेश प्रदेशमा पहिलोपटक ‘स्मार्ट कन्ट्रोल’ रुम सेवा सञ्चालन ल्याइएको हो ।

समस्याको तत्काल सम्बोधन तथा अपराध रोकथाम हेतुले उपत्यकापछि पर्सामा पहिलोपटक ‘स्मार्ट कन्ट्रोल’ बाट सेवा प्रवाहको अवधारणा ल्याइएको पर्सा प्रहरी प्रमुख कुमोध ढुंगेलले बताए ।

उनका अनुसार अब यो सेवामार्फत प्रहरीले कुनै पनि घटनाको छिटो र छरितो जानकारी लिइ त्यसको समाधानका लागि तुरुन्त प्रहरी परिचालन हुनेछ ।

के हो स्मार्ट कन्ट्रोल रुम ?

जिल्ला प्रहरी कार्यालयमा विभिन्न माध्यमबाट खबर संकलन गरी उचित प्रक्रियाबाट प्रहरी परिचालन तथा नियन्त्रण गर्नको निमित्त स्थापना गरिएको प्रविधियुक्त कक्षलाई स्मार्ट कन्ट्रोल रुम बुझिन्छ ।

यो कन्ट्रोल रुममा १०० नम्बरमा आउने कलको गुनासाहरु टिपोट गरिन्छ, त्यसपछि लगत्तै सम्बोधनका लागि घटनास्थलमा रहेका प्रहरीलाई परिचालित गरिन्छ । यो सेवा तत्कालका लागि पर्सा प्रहरीले ४ वटा फोनबाट सुरु गरेको छ ।

कसरी लिइने स्मार्ट कन्ट्रोल रुम बाट सेवा ?

जिल्ला प्रहरी कार्यालय पर्साले आजदेखि सञ्चालनमा ल्याएको स्मार्ट कन्ट्रोल रुमबाट सेवा लिन सहज छ । यो सेवाका लागि सर्वसाधारणले १०० मा फोन गर्नुपर्ने हुन्छ ।

त्यसपछि आफ्नो घटना विवरण टिपाउनु पर्ने हुन्छ । घटना विवरण टिपाइ सकेपछि स्मार्ट कन्ट्रोल रुमबाट तत्कालै प्रहरी कन्ट्रोल र सम्बन्धित एरियामा रहेका प्रहरी यूनिटसहितका प्रहरी संयन्त्रलाई त्यो सूचना पठाइन्छ ।

सूचना पठाएको केही मिनेटभित्रमै नजिकका प्रहरी संयन्त्रले घटनास्थलमा पुगेर सेवा प्रदान गर्नेछन् । यहाँ फोन गर्दा घटनास्थलमा समयमै प्रहरी पुग्नुपर्ने हुन्छ । नपुगे त्यो प्रहरीलाई कारबाही हुने व्यवस्था छ ।

समस्या सुनुवाइ हुन्छ कि नाइ ?

यो स्मार्ट कन्ट्रोल रुममा सबै कुरा रेकर्ड हुन्छ । स्मार्ट कन्ट्रोल रुममा २४ घण्टा प्रहरीको ड्यूटी रहन्छ, जसको काम खाली सर्वसाधारणबाट आएको गुनासाहरुको सम्बोधन गराउने हो ।

प्रहरीका अनुसार सर्वसधारणको समस्या समाधानकै लागि यो सेवा सुरु गरिएको हो । त्यसमा पनि स्मार्ट कन्ट्रोल रुमको प्रत्यक्ष निगरानी प्रहरी प्रमुख ९एसपी० स्वयमले गरिरहेका हुन्छन् ।

प्रहरी प्रमुख कुमोध ढुंगेल भन्छन्, ‘अब यो सेवाले एसपीलाई फोन गर्ने दिनको अन्त्य भएको छ, सर्वसाधारणले जुनसुकै समयमा फोन गरेर आफ्ना समस्या प्रहरीलाई टिपाउन सक्छन् ।

समस्या टिपाएको केही मिनेटमै प्रहरी घटनास्थलमा पुग्छ, पुगेन भने त्यो एरियाको प्रहरी कारबाहीमा पर्छ । त्यसकारण यो सेवा जनताको लागि हो । अब बिना सोसफोर्स नै सर्वसाधारणले प्रहरी सेवा लिन पाउनेछन् ।’ ‘त्यसकारण ढुक्क भएर आफ्ना समस्या प्रहरीको १०० नम्बरमा लेखाउनु होला, अब १०० नम्बरबाटै सबै समस्याको समाधान गरिनेछ,’ उनले भने ।

उनी भन्छन्, ‘तर १०० नम्बरमा फोन गरेर गलत सूचना नदिनु होला, फोन गर्दा सबै विवरण आएको हुन्छ । यदि गलत सूचना दिनु भएको छ भने प्रहरीले फेरि सूचना दिने ती व्यक्ति नै कारबाही गर्छ ।

त्यसकारण समयमै सेवा लिनका लागि सही सूचना दिनु होला ।’ यो सेवाले अब १०० नम्बरमा फोन गर्दा घटनास्थलमा प्रहरी ढिला आउने समस्याको अन्त्य गर्ने भएको छ ।


सम्बन्धित समाचार