Logo

८ असार,वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले आज आगामी आर्थिक वर्ष ०८१/ ०८२ का लागि नीति तथा कार्यक्रम ल्याएको छ ।

‘सुन्दर, समुन्नत, समृद्ध र वैभवशाली शहर, बीरगन्ज महानगर’ नाराका साथ महानगरका मेयरले १५ औं नगरसभामा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन । महानगरका मेयर राजेशमान सिंहले वीरगञ्जका विकाशका लागि आगामी आर्थिक वर्षमा महानगरबाट गरिने ६३ बुँदे नीति तथा कार्यक्रमहरु नगरसभाको बैठकमा प्रस्तुत गरेका छन् ।

मेयर सिंहले आगामी आर्थिक वर्षमा पर्यटन, सरसफाइ, वन र वातावरणलाई बढी लक्षित गरी नीति तथा कार्यक्रम ल्याएका छन् । सभामा प्रस्तुत गरिएको नीति तथा कार्यक्रममा वीरगञ्जको खानेपानी समस्या समाधान गर्न सार्वजनिक स्थानमा डिप बोरिङ्ग गर्ने कार्यलाई निरन्तरता दिँदै नेपाल खानेपानी संस्थानसंगको सहकार्यमा पाइपलाइन विस्तार गर्ने कार्यलाई तिव्रता दिने भनेको छ ।

साथै नगरका मुख्य स्थानहरु, सामुदायिक विद्यालय, नारायणी अस्पताल लगायतका ठाउँहरुमा ‘वाटर एटीएम’ प्रणाली स्थापना गरिने उल्लेख गरेको छ । यसैगरी नेपाल खानेपानी संस्थानसंगको सहकार्यमा आर्थिक विपन्न परिवारको पहिचान गरी ४ हजार घरधुरीमा धारा जडान गर्ने नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ ।

योसंगै पूर्वाधार निर्माण तथा आर्थिक विकास, शिक्षा तथा स्वास्थ्य, कृषि तथा पशुपंक्षी, खेलकुदसहितका क्षेत्रलाई लक्षित गरी नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । यसैबिच नगरसभाका सदस्यहरुले नगरसभा सुरु भएलगत्तै विरोध जनाएका थिए । मेयर सिंहले नीति तथा कार्यक्रम प्रस्तुत गर्न लाग्दा नगरसभा सदस्यहरुले नाराबाजी गर्दै विरोध जनाएका थिए ।

त्यसपछि मेयर सिंहले बन्दसत्रमा नगरसभा सदस्यहरुले उठाएको माग पूरा गर्ने आश्वासन दिएपछि विरोधका कार्यक्रम रोकिएको थियो ।


सम्बन्धित समाचार