Logo

९ असार,वीरगञ्ज । बाराका रामराजा बहुमुखी क्याम्पस प्रमुख हरिभूषण कुश्वाहाको हत्या प्रकरणमा प्रहरीले अझ मुख्य अभियुक्त पक्राउ गर्न सकेको छैन ।
गोली हानी हत्या भएको आज १० दिन भइसक्दा पनि प्रहरीले अझ मुख्य अभियुक्त पक्राउ गर्न सकेको छैन । मृतक कुश्वाहाले गोली लाग्दा घाइते भएकै बखत मृत्युकालीन घोषणा गरेका थिए ।

जसमा उनले प्रष्टरुपमा आफ्नै गाउँको सेनाका भूतपूर्व जवान सुरेन्द्र कुश्वाहाले आफूमाथि गोली चलाएको भनेका थिए । मृतक कुश्वाहाले मृत्युकालीन घोषणासंगै बारा प्रहरी प्रमुख महेन्द्र खड्कालाई समेत त्यही बेला फोन गरेर आफ्नो घटनाको बेलीविस्तार सुनाएका थिए ।

तरपनि प्रहरी अझसम्म मुख्य अभियुक्त पक्राउ गर्न नसकेको बताइरहेको छ । विभिन्न पाटोबाट अनुसन्धान चलिरहेकोले भन्दै केही ढिलाइ हुन गएको बारा प्रहरीको धारणा छ । बारा प्रहरी प्रवक्ता दधिराम न्यौपानेले क्याम्पस प्रमुख कुश्वाहा मृत्यु प्रकरणमा प्रहरीले विभिन्न पाटोबाट अनुसन्धान चलाइरहेको बताए ।

उनले भने,‘हामी यो घटनामा गम्भीर छौं, प्रहरीले आफ्नो अनुसन्धान गम्भीरताका बढाइरहेको छ । चाँडै सकारात्मक नतिजा पनि आउँछ ।’

के गर्दैछ प्रहरी ?

बारा आदर्श कोतवाल गाउँपालिका निवासी कुश्वाहामाथि गोली प्रहार भइसकेपछि प्रहरी सूक्ष्म अनुसन्धान थालेको भनिरहेको छ । त्यसपछि विभिन्न माध्यमबाट गोली प्रहार गर्ने व्यक्तिको पहिचान भइसकेपछि त्यही अनुसार प्रहरीले आफ्नो टोली परिचालन गरिसकेको छ ।

गोली प्रहार गर्ने आरोपितलाई पक्राउ गर्न बारा प्रहरीले डिएसपीको कमाण्डमा ५ वटा प्रहरीको विशेष टोली परिचालित गरेको छ । भारत विहारको विभिन्न ठाउँमा प्रहरी टोली परिचालित छ । विहारको घोडासहनदेखि लिएर विभिन्न ठाउँमा प्रहरी टोली परिचालित रहेको प्रहरी स्रोतले जानकारी दिएको छ । चाँडै आरोपित प्रहरी नियन्त्रणमा आउने गरी प्रहरी टोलीले काम गरिरहेको स्रोतको दाबी छ ।

किन ढिलाइ ?

मृतक कुश्वाहाले मृत्युकालीन घोषणा गरिसकेपछि आरोपित त्यही बेला फरार भएको प्रहरी ठम्याइ छ । आफ्नो नाम आइसकेपछि प्रहरीले पक्राउ गर्ने डरले आरोपित व्यक्ति त्यही बेला भारततर्फ फरार भएको पाइएको प्रहरी स्रोतको दाबी छ ।

मोबाइल ‘स्वीच अफ’ गरेर मुख्य अभियुक्त फरार भएको बताइन्छ । तर त्यसको बाबजुद पनि विभिन्न कोणबाट प्रहरीले मुख्य अभियुक्त नजिक पुगिसकेको स्रोतको भनाइ छ ।
अनुसन्धान गर्न तथा मुख्य अभियुक्तलाई पक्राउ गर्ने केही समय लाग्ने भएको हुँदा ढिलाइ हुन गएको प्रहरी तर्क छ ।

त्यसकारण अरु कुनै कारणले नभइ केही प्राविधिक कारणले ढिलाइ भइरहेको अनुसन्धानमा संलग्न एक अधिकृत बताउँछन् । उनका अनुसार तर त्यसको बाबजुद पनि मुख्य अभियुक्त भने चाँडै प्रहरी नियन्त्रणमा आउने छन् ।
गएको शुक्रबार (३२ जेठ) आदर्श कोतवाल गाउँपालिकाको बतरामा घरबाट फर्किने क्रममा कुश्वाहामाथि एक राउण्ड गोली प्रहार भएको थियो । गम्भीर घाइते कुश्वाहाको उपचारको क्रममा मृत्यु भएको थियो ।


सम्बन्धित समाचार