Logo

११ असार, काठमाडौं । कानुन अनुसार असारको १० गते बजेट पेश गर्नुपर्ने भएकाले सोमबार धेरैजसो पालिकाले बजेट ल्याएका छन् । कतिले सभामा पेश गरे, कतिले पेश गरेनन् भनेर संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले तथ्याङ्क सङ्कलन गर्दैछ । छ वटै महानगरपालिका काठमाण्डौ, ललितपुर, विराटनगर, वीरगञ्ज, भरतपुर र पोखरासहित सात सयभन्दा धेरै पालिकाले सोमबार आउँदो आर्थिक वर्ष ०८१/०८२ को बजेट विनियोजन गरेका छन् ।

पाँच महानगरले चालू आर्थिक वर्षको तुलनामा बजेटको आकार केही बढाएका छन् भने वीरगन्जले घटाएको छ । अन्तरसरकारी वित्तीय व्यवस्थापन ऐन–२०७४ मा पालिकाले असार १० भित्र आउँदो आर्थिक वर्षको आम्दानी र खर्चको अनुमानित विवरण गाउँ/नगरसभामा पेस गर्नुपर्ने व्यवस्था छ ।

काठमाण्डौ महानगरले ल्यायो २५ अर्ब ७० करोडको बजेट

काठमाण्डौ महानगरपालिकाले आर्थिक वर्ष २०८१/८२ का लागि २५ अर्ब ७० करोड ६३ लाख २५ हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ । उपमेयर सुनिता डङ्गोलले १५औँ नगरसभाको बैठकमा आउँदो वर्षको वार्षिक बजेट पेश गरिन् । महानगरले पूर्वाधार विकास क्षेत्रका लागि सबैभन्दा धेरै १४ अर्ब ८१ करोड ५१ लाख ५१ हजार रुपैयाँको बजेट विनियोजन गरेको छ । जुन कुल बजेटको ६१ दशमलब २० प्रतिशत हो ।

कार्यालय सञ्चालन तथा प्रशासनिक क्षेत्रका लागि तीन अर्ब ४९ करोड ४५ लाख २९ हजार र सामाजिक विकास क्षेत्रका लागि तीन अर्ब ८१ करोड ३६ लाख १५ हजार रुपैयाँको बजेट प्रस्ताव गरिएको छ । सुशासन तथा अन्तर सम्बन्धित क्षेत्रका लागि एक अर्ब ८९ करोड २१ लाख र स्थानीय सञ्चित कोषबाट खर्च हुने गरी रकममध्ये आर्थिक विकास क्षेत्र अन्तर्गतका कार्यक्रमका लागि १९ करोड नौ लाख रुपयाँ प्रस्ताव गरिएको छ ।

महानगर गौरव र स्वर्णिम योजनाका लागि पाँच अर्ब ८० करोड रुपैयाँ बजेट गरिएको छ । उपमेयर डङ्गोलले विगतका कार्यक्रमलाई निरन्तरता तथा थप एक गरी ११ वटा गौरवको आयोजनाका लागि तीन अर्ब ८० कारोड बजेट रुपैयाँ विनियोजन गरिएको जानकारी दिनुभयो । त्यस्तैगरी कपडा बैङ्क, पोखरी मर्मत तथा सम्भार, फोहरबाट मल र महानगर होमस्टेलाई थप गरी ३० वटा स्वर्णिम योजना प्रस्ताव गरिएको छ । त्यसका लागि दुई अर्बको बजेट प्रस्ताव गरिएको छ ।

ललितपुर महानगरको बजेट ७ अर्ब ४६ करोड

ललितपुर महानगरपालिकाले आर्थिक वर्ष २०८१/०८२ का लागि सात अर्ब ४६ करोड ८३ लाख ९२ हजार रुपैयाँको बजेट नगरसभामा पेस गरेको छ । महानगरको पाँचौँ नगरसभाको तेस्रो बैठकमा उपमेयर मञ्जली शाक्य बज्राचार्यले गएको असार ५ गते प्रस्तुत नीति तथा कार्यक्रममा आधारित गरेर बजेट प्रस्तुत गरेका हुन् ।

’स्रोतको व्यवस्थापनतर्फ सङ्घीय सरकारबाट एक अर्ब ३२ करोड ८० लाख र बागमती प्रदेश सरकारबाट २२ करोड ९२ लाख ९२ हजार रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ । आन्तरिक स्रोतबाट तीन अर्ब ५५ करोड ९६ लाख रुपैयाँ सङ्कलन हुने अनुमान गरिएको छ’, प्रस्तुत वार्षिक बजेटमा उल्लेख छ । महानगरले चालु आर्थिक वर्षका लागि छ अर्ब ५० करोड पाँच लाख ८८ हजार रुपैयाँ बजेट विनियोजन गरेको थियो ।

भरतपुर महानगरको बजेट ६ अर्ब ५५ करोड

भरतपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि छ अर्ब ५५ करोड ८५ लाख ९८ हजार रुपैयाँ बजेट पेस गरेको छ । महानगरपालिकाको नगरसभा तथा १५औँ अधिवेशनमा उपमेयर चित्रसेन अधिकारीले बजेट पेश गर्नुभएको हो । आगामी वर्षको बजेट चालूभन्दा २४ करोड छ लाख आठ हजार रुपैयाँ बढी हो । कूल बजेटमा एक अर्ब ८० करोड रुपैयाँ आन्तरिक आय हुने अनुमान छ ।

प्रस्तुत बजेटमा अन्तरसरकारी वित्तीय हस्तान्तरणबाट दुई अर्ब चार करोड ६३ लाख ३१ हजार, सङ्घ राजस्व बाँडफाँटबाट ३२ करोड ४७ लाख तथा बागमती प्रदेश सरकारको राजस्व बाँडफाँटबाट २५ करोड ७५ लाख ६७ हजार गरी जम्मा ५८ करोड २२ लाख ६७ हजार, जनसहभागिता÷श्रमदानबाट ५० करोड, बैंक मौज्दात एक अर्ब ६० करोड, सडक बोर्ड नेपालबाट तीन करोड रुपैयाँ रहने प्रक्षेपण गरिएको छ । चालू आर्थिक वर्षमा निर्माण सम्पन्न हुन नसकेका तथा भुक्तानी बाँकीमा रहेका र क्रमागत एवं बहुवर्षीय ठेक्का भएका योजना समयमै सम्पन्न गर्नको लागि एक अर्ब ६० करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ ।

महानगरपालिकाका ठूला तथा रणनीतिक महत्व तथा गौरवका पूर्वाधार निर्माण गर्न एवम् सङ्घीय र बागमती प्रदेश सकारबाट प्रस्ताव भएका समपूरक र विशेष अनुदानअन्तर्गत योजनाको कार्यान्वयनका लागि समपूरक साझेदारी कोष स्थापना गरी कार्यान्वयनमा ल्याउन १२ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ ।

पोखरा महानगरपालिकाले ल्यायो ७ अर्ब ५१ करोडको बजेट

पोखरा महानगरपालिले आर्थिक वर्ष २०८१/०८२ का लागि सात अर्ब ५१ करोड ३२ लाख ८३ हजार रुपैयाँ बराबरको बजेट प्रस्ताव गरेको छ । महानगरको १५औँ नगरसभामा उपमेयर मञ्जुुदेवी गुुरुङले बजेट प्रस्तुुत गर्दै सङ्घीय सरकार अनुदानबाट चार अर्ब २० करोड २२ लाख एक हजार, प्रदेश सरकार अनुदान वापत नौ करोड ६३ लाख ८१ हजार, आन्तरिक आयबाट एक अर्ब ५५ करोड ५१ लाख ४० हजार रुपैयाँ बेहोरिने जानकारी दिए ।

त्यस्तै सङ्घीय राजस्व बाँडफाँटबाट ३८ करोड ३३ लाख ७५ हजार र प्रदेश राजस्व बाँडफाँटबाट नौ करोड ७२ लाख २० हजार रुपैयाँ बेहोरिने बजेट वक्तव्यमा उल्लेख छ । स्थानीय राजस्व बाँडफाँटबाट एक अर्ब १२ करोड ८६ लाख ६१ हजार र रोयल्टी बाँडफाँटबाट ५४ लाख २४ हजार रुपैयाँ प्राप्त हुने अनुुमान गरिएको छ । नगरविकास कोष ऋण चार करोड ४८ लाख ८० हजार रुपैयाँ रहने उल्लेख छ ।

बजेट अन्तर्गत शिक्षा, खेलकुद तथा युवा र प्रज्ञा–प्रतिष्ठानसम्बन्धी कार्यक्रम सञ्चालन गर्न एक अर्ब ६५ करोड, स्वास्थ्यमा ३५ करोड, पर्यटन तथा सहरी विकासका कार्यक्रम सञ्चालनका लागि ५६ करोड, सामाजिक विकास अन्तर्गत लक्षित वर्गतर्फ छ करोड र संस्थागत विकासका लागि दुुई करोड विनियोजन गरिएको उपमेयर गुरुङले बताए ।

विराटनगर महानगरले ल्यायो साढे ३ अर्बको बजेट

विराटनगर महानगरपालिकाले आर्थिक वर्ष २०८१/०८२ का लागि तीन अर्ब ४९ करोड ९८ लाख ८६ हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ । नगरसभाको १४औँ अधिवेशनमा उपमेयर शिल्पानिराला कार्कीले बजेट प्रस्तुत गरेका हुन् । बजेटमा आयतर्फ वित्तीय समानीकरण अनुदानमा सङ्घीय सरकारबाट ३२ करोड ६६ लाख र प्रदेश सरकारबाट दुई करोड ४९ लाख २९ हजार रुपैयाँको अनुमान गरिएको छ । साथै राजस्व बाँडफाँटमध्ये मूल्य अभिवृद्धि करबाट १६ करोड ११ लाख ७६ हजार एक सय २६, अन्तःशुल्कबाट पाँच करोड ८५ लाख ४१ हजार दुई ७९ रुपैयाँ आय हुने अनुमान गरिएको छ ।

यस्तै वन रोयल्टीतर्फ पाँच लाख ८२ हजार पाँच सय ९५, घरजग्गा रजिस्ट्रेशन दस्तुरबाट ५६ करोड ७९ लाख २८ हजार, सवारी साधन करबाट तीन करोड ८७ लाख एक हजार र मनोरञ्जन तथा विज्ञापन करबापत एक करोड, आन्तरिक आयतर्फ एक अर्ब १० करोड ८६ लाख ८५ हजार तथा नगद मौज्दात २५ करोड रुपैयाँ अनुमान गरिएको छ ।

यसैगरी सङ्घीय सरकार सशर्त अनुदान ८० करोड ७७ लाख, विशेष अनुदान सात करोड ५० लाख समपूरक अनुदान एक करोड १० लाख, प्रदेश सरकार सशर्त अनुदानतर्फ तीन करोड ९० लाख ४३ हजार र प्रदेश सरकार समपूरक अनुदान दुई करोड गरी कूल तीन अर्ब ४९ करोड ९८ लाख ८६ हजार रुपैयाँ आय हुनेगरी अनुमान छ । व्ययतर्फ सञ्चालन तथा प्रशासनिक खर्च ५९ करोड, ऋणको साँवाब्याज भुक्तानी पाँच करोड, चालु आवको चालु खर्चतर्फको दायित्व भुक्तानी तीन करोड ३४ लाख ८३ हजार समपूरक कार्यक्रम छ करोड १० लाख, वडास्तरीय योजनातर्फ ४३ करोड तीन लाख १२ हजार खर्च हुने अनुमान छ ।

वहुवर्षीय ठेक्का तथा गौरवका आयोजना एवं दायित्व सरिआएका योजनाका भुक्तानीका लागि ५० करोड, बस्ती विकास र तराई–मधेस समृद्धि कायक्रमतर्फ पाँच करोड ६० लाख, सडक, ढल, नाला तथा अन्य मर्मतसम्भारतर्फका लागि चार करोड ५० लाख, मर्मतसम्भारका लागि १० करोड तथा गाडी खरिदका लागि दुई करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ ।

वीरगञ्ज महानगरको आउँदो वर्षका लागि बजेट २ अर्ब ८९ करोड

वीरगञ्ज महानगरले आउँदो वर्षका लागि २ अर्ब ८९ करोड ४८ लाख रुपैयाँको बजेट ल्याएको छ । गएको शनिवार १५ औं नगरसभामार्फत् महानगरले बजेट सार्वजनिक गरेको हो । चालु वर्षमा महानगरको बजेट (संशोधितसहित) ३ अर्ब ५१ करोड रुपैयाँको छ ।

चालूको तुलनामा आगामी वर्षका लागि महानगरको बजेट ६२ करोडले घटेर आएको हो । बजेटमा चालू खर्चतर्फ २ अर्ब ४ करोड ६६ लाख रुपैयाँ अर्थात् ७० दशमलव ७ प्रतिशत छुट्याइएको छ भने पुँजीगत खर्चतर्फ ८१ करोड १८ लाख ८ हजार रुपैयाँ अर्थात् २८ दशमलव १ प्रतिशत बजेट विनियोजन गरिएको छ ।


सम्बन्धित समाचार