Logo

१२ असार, काठमाडौं । सर्लाहीको लालबन्दीमा रहेको झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठानको सर्पपालन कार्यक्रममा भ्रष्टाचार भएको ठहर भएको छ । यो कार्यक्रममा १७ करोड ९८ लाख ३३ हजार रुपैयाँ भ्रष्टाचार भएको पाइएको छ ।

विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यहरु तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले हिजो मधेस प्रदेशका तत्कालिन आर्थिक मामिलामन्त्री विजयकुमार यादव, प्रतिष्ठानका अध्यक्ष रेवती पन्तसहित पाँच जनालाई दोषी ठहर गरेको हो ।

तत्कालीन आर्थिक मामिला मन्त्री यादव र प्रतिष्ठानका अध्यक्ष पन्तसहित महासचिव नवराज भण्डारी, कोषाध्यक्ष नीरज भण्डारी र सदस्य देवेन्द्र राय पनि दोषी ठहर भएका छन् । दुई जनाले सफाइ पाएका छन् । सफाइ पाउनेमा लालबन्दी नगरपालिकाका तत्कालीन प्रमुख मानबहादुर खड्का र मधेस सरकारका तत्कालीन सचिव प्रेमकुमार श्रेष्ठ रहेको विशेष अदालतका प्रवक्ता धनबहादुर कार्कीले दिए।

सर्लाहीको लालबन्दीमा रहेको प्रतिष्ठानसँग मिलेर सर्पको विष सङ्कलन, प्रशोधन र उत्पादन केन्द्र स्थापनाका लागि मधेस प्रदेश सरकारले आर्थिक वर्ष २०७६०७७ को बजेट वक्तव्यमा संघीय सरकारबाट समपूरक अनुदानका रुपमा प्राप्त रकमसहित बजेट विनियोजन गरेको थियो ।

कानुनविपरीत प्रतिष्ठानसँग साझेदारी गरेको र बदनियतपूर्वक १७ करोड ९८ लाख ३३ हजार रुपैयाँ निकासा गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०८० असोजमा भ्रष्टाचारको मुद्दा दायर गरेको थियो । विशेष अदालतले यो मुद्दामा पाँच जनालाई दोषी ठहर गरे पनि सजाय निर्धारण भने असार २५ को इजलासमा हुनेछ ।

 


सम्बन्धित समाचार