Logo

१२ असार,वीरगञ्ज । पर्साका झण्डै आधा दर्जन पालिकाहरुले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि बजेट ल्याएका छैनन् । जिल्लाका ५ वटा पालिकाहरुले आगामी वर्षका लागि बजेट नल्याएका हुन् ।

स्थानीय तहहरूले आगामी आर्थिक वर्षको बजेट असार १० गतेभित्र अनिवार्य ल्याउनुपर्ने प्रावधान छ । तर ५ पालिकाहरुले भने अहिलेसम्म नगरसभा गर्न सकेका छैनन् ।
यो समाचार तयार पार्दासम्म आगामी वर्षका लागि बजेट नल्याउने पालिकाहरुमा जिल्लाका छिपहरमाई गाउँपालिका, धोबिनी गाउँपालिका, पकाहामैनपुर गाउँपालिका, बिन्दबासीनी गाउँपालिका र बहुदरमाई नगरपालिका रहेका छन् ।

जनप्रतिनिधिहरूको आन्तरिक असमझदारीले पालिकाहरूको गाउँ सभा बस्न नसक्दा बजेट ल्याउन ढिलाइ भएको छ । आन्तरिक विवाद तथा अन्य प्राविधिक कारणले बजेट तोकिएको समयमा ल्याउन नसकिएको सम्बन्धित पालिकाका प्रमुखहरुको दाबी छ ।

किन ढिलाई ?

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ७१ र अन्तर सरकार वित्त व्यवस्थापन ऐन, २०७४ को दफा २१ को व्यवस्थाअनुसार प्रत्येक वर्ष असार १० गतेभित्र आर्थिक वर्षको राजस्व र व्ययको अनुमान सम्बन्धित गाउँ वा नगर सभामा पेस गर्नुपर्ने हुन्छ ।

सोही व्यवस्था अनुसार आफ्नो एक वर्षे आय व्ययको विवरण गाउँ वा नगरसभामार्फत सार्वजनिक गर्नुपर्ने हुन्छ । स्थानीय तहका प्रमुखले प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि टेकेर उपप्रमुखले आर्थिक वर्षको बजेट ल्याउने प्रावधान छ ।
पर्साको पकाहामैनपुर गाउँपालिकाको कार्यालयमा भने तालाबन्दी भएको छ । गाउँपालिका उपाध्यक्ष नेतृत्वको टोलीले तालाबन्दी गरेको हो ।

गाउँपालिका बैठकबाट निर्णय नगराएर अल्पमतमा गाउँसभा गरेको विरोधमा उनीहरुले तालाबन्दी गरेका हुन् । उनीहरुले उठाएका माग सम्बोधन नभएसम्म नगरसभा हुन नदिने चेतावनी समेत दिएका छन् ।

यसैगरी बहुदरमाई नगरपालिकाका मेयर सिंहासन सा तेलीले पालिकामा भएको आन्तरिक विवादका कारण नगरसभा गर्न नसकेको बताए । यस्तै बिन्दबासीनी गाउँपालिकाका मेयर प्रमोद तिवारीले समेत जनप्रतिनिधिबिच सामान्य आन्तरिक विवाद रहेको र वार्तामार्फत विवाद साम्य गरी नगरसभा गर्ने जनाए ।

धोबिनी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृतले समेत आफूहरु निरन्तर बैठकमा रहेको र यहि हप्ता नीति तथा कार्यक्रम प्रस्तुत गरी बजेट ल्याउने बताए । छिपहरमाइ गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृतले केन्द्र सरकारबाट आउने वित्तिय अनुदान प्राप्त नभएकाले नगरसभा रोकिएको बताए ।

कुन पालिकाको कति बजेट ?

पर्सा जिल्लामा १४ वटा स्थानीय पालिका छन् । उनीमध्ये ९ वटा पालिकाहरुले मात्र सोमबारसम्म बजेट ल्याएका हुन् ।

समयमै बजेट सार्वजनिक गर्ने पालिकाहरुमा वीरगञ्ज महानगरपालिका, सखुवाप्रसौनी गाउँपालिका, पटेर्वासुगौली गाउँपालिका, ठोरी गाउँपालिका, जगरनाथपुर गाउँपालिका, कालिकामाइ गाउँपालिका, जिराभवानी गाउँपालिका, पोखरीया नगरपालिका र पर्सागढी नगरपालिका रहेका छन् ।

असार १० गतेको समयभित्र बजेट सार्वजनिक गरेका ९ वटा पालिकाहरूले शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, पूर्वाधार विकास, सरसफाई व्यवस्थापन लगायतलाई मुख्य प्राथमिकतामा राख्दै बजेट ल्याएको जनाएका छन् । जिल्लाका पालिकाहरुमध्ये वीरगञ्ज महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि २ अर्ब ८९ करोड ४८ लाख रुपैँया बराबरको बजेट ल्याएको छ ।

यसैगरी पोखरीयाले ४७ करोड १२ लाख, जगरनाथपुरले ४४ करोड ३४ लाख, सखुवाप्रसौनीले ५८ करोड रुपैँया बराबरको बजेट सार्वजनिक गरेको छ । यस्तै कालिकामाई ४३ करोड ६५ लाख, पटेर्वासुगौली ४९ करोड ११ लाख, जिराभवानी ४५ करोड ८० लाख, ठोरी ४७ करोड ५ लाख र पर्सागढी नगरपालिकाले ५१ करोड ४७ लाख बराबरको बजेट प्रस्तुत गरेको छ ।


सम्बन्धित समाचार