Logo

१२ असार,वीरगञ्ज । नेपाल भारत खुला सीमा–सुमधुर सम्बन्धको सेतु विषयक अन्तरक्रिया कार्यक्रम वीरगञ्जमा सम्पन्न भएको छ ।
नेपाल भारत खुल्ला सीमा संवाद समूह पर्साको आयोजनामा होटल भिष्वामा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा सहभागीहरुले नेपाल भारतबिच बहुआयमिक सम्बन्ध रहेको औल्याएका थिए । अन्तरक्रिया कार्यक्रममा सहभागी राष्ट्रिय मुक्ती क्रान्तिका नेता केशव झाले नेपाल र भारतको आधुनिक सिमा र नामांकन हुनुअघि नै जनता–जनताविच सम्बन्ध कायम रहेको तर्क गरे ।

नेपाल र भारत सम्बन्ध दिल्ली र काठमाण्डौंको नियम कानुनले मात्रै चल्न नसक्ने बताउँदै उनले भने, ‘यहाँ बहुआयामिक सम्बन्ध छ । जनता–जनताबिच सम्बन्ध छ । खुला सीमा अवसर हो, दुवै देशको लागि यहाँका जनता रक्षक हुन ।’
त्यसकारण दिल्ली र काठमाण्डौँबाट लादिएको कानुनले सीमाका जनताहरु नबाधिने उनको भनाइ छ ।

कार्यक्रममा सहभागी पत्रकार चन्द्रकिशोरले सीमा सुरक्षाको नाममा मधेशमा सैनिकीकरण भइरहेको टिप्पणी गरेका थिए । उनका अनुसार पछिल्ला समय देशमा भारतसँग सीमा जोडिएका मधेश प्रदेशका नाकाहरुमा अपराध बढेको भन्दै आवाज उठिरहेको छ ।

उनी भन्छन्, ‘अपराध त बढेको छ तर के कारणले खुल्ला सीमाना वा अन्य कारणले ? अब यसको लेखाजोखा हुन जरुरी छ । नत्रभने एउटा बहाना देखाएर अर्को रोटी सेक्ने काम भइरहेको छ ।’
खुल्ला सीमामा अपराध बढ्नु भनेको संयन्त्रको कमजोरीले भएको उनको ठम्याइ छ । त्यसकारण अपराधको बहाना बनाएर नेपाल भारतका जनताबिचको सम्बन्धलाई तोड्ने प्रयास भइरहेको उनको बुझाइ छ ।

कार्यक्रममा नेपाल भारत खुला सिमा सम्वाद समुहका राष्ट्रिय अध्यक्ष राजिव झाले इपिजि रिपोर्ट बनाउने समिति समावेशी नभएको र नेपाल भारत सिमा सम्बन्धि ज्ञान नभएका व्यक्तिहरुले बनाएकोले नमान्ने बताए ।
दुनियाँ ‘ग्लोबलाइजेसन’ तर्फ अग्रसर भइरहेको वेला सिमामा तारबार लगाउने कुरा असान्दर्भिक र हास्यासपद रहेको उनको भनाइ छ ।

कार्यक्रममा प्रदेश सांसद श्याम पटेल,डा. घनश्याम ठाकुर, नेजामुदिन समानी, कृष्णा पटेल, रम्भा मिश्र , शिव पटेल, शिपु तिवारी, देवेन्द्र मिश्र, अशोक वैद्द्य, भारतीय महावाणिज्यदूतावासका शशि भुषण, अनिरुद सिंह कल्वार लगायतको सहभागीता थियो ।

नेपाल भारत खुल्ला सीमा संवाद समूहका अध्यक्ष डा. राजीव झाको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।


सम्बन्धित समाचार