Logo

१३ असार,वीरगञ्ज । मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेटमा छुटेका योजनाहरु ‘रेडबुक’मा थप्ने सहमति भएको छ ।

प्रदेश सरकारले बिहीबार डाँकेको सर्वदलीय बैठकमा आगामी वर्षका लागि जारी रेडबुकमा प्रदेश सांसदहरुको छुटेका योजनाहरु थप्ने सर्वदलीय सहमति भएको हो । प्रदेश सांसदका योजनाहरु आगामी वर्षका लागि ल्याएको बजेटमा नराखिएको भन्दै सरकारको व्यापक आलोचना हुन थालेपछि प्रदेश सरकारले आज सर्वदलीय बैठक डाकेको थियो ।

बजेट पास नगर्ने सांसदहरुले चेतावनी दिन थालेपछि प्रदेशका मुख्यमन्त्री सतिस सिंहले बजेटमा भएको त्रुटिबारे सुझाव लिन बैठक बोलाएका हुन । बैठकमा सरकारले आगामी वर्ष ०८१ /०८२ को ‘रेडबुक’ को कार्यक्रममा पुनर्लेखन गर्न सुझाव दिएको स्रोतले जानकारी दिएको छ ।

सर्वदलीय बैठकमा सत्तारुढ तथा प्रतिपक्षका दलका नेताहरुले सांसदहरुको दिएको योजना समावेश नगरिएको गुनासा गरेका थिए । कांग्रेस संसदीय दलका नेता कृष्णा यादवले आज मुख्यमन्त्री स्वयम्ले राखेको सर्वदलीय बैठकमा बजेटप्रति सत्तारुढ दलदेखि लिएर प्रतिपक्षी दलहरुले असन्तुष्टि जनाएको बताए ।

त्यसपछि मुख्यमन्त्री सिंहले बजेटमा त्रुटि भएको बताउँदै बजेटमा छुटेका योजनाहरु समावेश गर्न सहमति गरेको स्रोतको दाबी छ । बजेट पास भइसकेपछि ‘रेडबुक’मा नै छुटेका योजनाहरु थप्न सर्वदलीय दलको बैठकमा मौखिक सहमति भएको कांग्रेस संसदीय दलका नेता यादव बताउँछन् ।

मुख्यमन्त्री सिंहले भने, ‘योजनाहरु छुटेको प्रदेश सांसदहरुको धेरै गुनासा आए, त्रुटि पनि भएको छ । त्यही त्रुटिलाई सुधार गर्न सर्वदलीय बैठक बोलाएको हुँ, जहाँ छुटेका योजनाहरु थपेर जाने सहमति भएको पनि छ ।’

उनका अनुसार धेरै बेवारिसे योजनाहरु पनि रेडबुकमा समावेश भएका छन् । ‘ती योजनाहरु कुनै सांसदज्यूहरुको पनि होइन, यस्ता योजनाहरुलाई हटाएर छुटेका योजनाहरु समावेश गरिनेछ,’ मुख्यमन्त्री सिंहले भने ।
प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि १ असारमा ४३ अर्ब रुपैयाँको बजेट ल्याएको थियो ।


सम्बन्धित समाचार