Logo

१३ असार,वीरगञ्ज । बारा जिल्लाका १६ पालिकाले आगामी आर्थिक वर्षका लागि १७ सय करोड भन्दा बढीको बजेट ल्याएको छ । आफ्नो पालिकाको विकासका लागि जिल्लाका १६ वटै पालिकाहरुले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि बजेट

१७ सय ५ करोड भन्दा बढीको बजेट सार्वजनिक गरेका छन् । नगरसभा गरी बजेट सार्वजनिक ल्याउनुपर्ने संवैधानिक प्रावधान छ ।

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ७१ र अन्तर सरकार वित्त व्यवस्थापन ऐन, २०७४ को दफा २१ को व्यवस्थाअनुसार प्रत्येक वर्ष असार १० गतेभित्र आर्थिक वर्षको राजस्व र व्ययको अनुमान सम्बन्धित गाउँ वा नगर सभामा पेस गर्नुपर्ने हुन्छ ।

सोही व्यवस्था अनुसार आफ्नो एक वर्षे आय व्ययको विवरण गाउँ वा नगरसभामार्फत सार्वजनिक गरेका हुन् । २ उपमहानगरपालिका, ५ नगरपालिका र ९ गाउँपालिका गरी १६ वटा स्थानीय तहले आगामी वर्षका लागि उक्त परिमाणको बजेट प्रस्तुत गरेका हुन् ।

कुन पालिकाको कति बजेट ?

आगामी वर्षका लागि सबै पालिकाहरुले शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार, कृषि, पर्यटन लगायतलाई प्राथमिकता दिदैँ बजेट सार्वजनिक गरेको देखिन्छ । १७ सय ५ करोडको बजेटमा सबै भन्दा बढी २ वटा पालिकाले अर्बका बजेट सार्वजनिक गरेका छन् भने अन्यले करोडौंको बजेट प्रस्तुत गरेका छन् । हेरौं कुन पालिकाले आगामी वर्षका लागि कति बजेट ल्याएको छ ।

बढी बजेट ल्याउनेमा जितपुर सिमरा उपमहानगरपालिकाको स्थान छ । उक्त नगरपालिकाले सबैभन्दा बढी २ अर्ब १० करोड ५० लाख रुपैँया बराबरको बजेट ल्याएको छ । भने दोस्रोमा कलैया उपमहानगरपालिकाले रहेको छ, जसले १ अर्ब ५१ करोड ९१ लाखको बजेट सार्वजनिक गरेको हो ।

यसैगरी निजगढ नगरपालिका ९० करोड १ लाख, महागढीमाई नगरपालिका ७७ करोड ५४ लाख, कोल्हवी नगरपालिका ६८ करोड ९४ लाख, सिम्रौनगढ नगरपालिका ६४ करोड ५३ लाख र पचरौता नगरपालिकाले ६१ करोड ४३ लाख रुपैँयाको बजेट सार्वजनिक गरेका हुन् ।

यस्तै गाउँपालिकातर्फ प्रसौनी ४७ करोड ५ लाख, आर्दश कोतवाल ४५ करोड ५२ लाख, फेटा ४१ करोड २१ लाखको बजेट ल्याएका छन् । बारागढी गाउँपालिका ३९ करोड ३९ लाख, सुवर्ण गाउँपालिका ३९ करोड १ लाख, देवताल गाउँपालिका ३४ करोड ७३ लाख, परवानीपुर गाउँपालिका ३४ करोड ५७ लाख, बिश्रामपुर गाउँपालिका ३१ करोड ९९ लाख र करैयामाई गाउँपालिका १३ करोड ४६ लाखको बजेट सार्वजनिक गरेको हो ।

९ वटा पालिकाले बजेट प्रविष्ट गरेनन्

कार्यपालिकाबाट आर्थिक वर्षको बजेट सभामा पेश भएको विवरण अनिवार्यरुपमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको पोर्टलमा प्रविष्ट गर्नुपर्ने हुन्छ । तर बारा जिल्लाका अधिकांश पालिकाले उक्त पोर्टलमा बजेट प्रविष्ट गरेका छैनन् ।

१६ वटै पालिकाले समयमै आगामी वर्षका लागि बजेट सार्वजनिक गरेपनि ७ वटा पालिकाले मात्र मन्त्रालयको बेवसाइटमा बजेट प्रविष्ट गरेका छन् । यसरी बजेट प्रविष्ट गर्ने पालिकाहरुमा बाराको कलैया उपमहानगरपालिका, जितपुरसिमरा उपमहानगरपालिका, कोल्हवी नगरपालिका, निजगढ नगरपालिका, करैयामाई गाउँपालिका, फेटा गाउँपालिका र बारागढी गाउँपालिका रहेका छन् ।

अन्य ९ वटा पालिकाहरुले भने पोर्टलमा बजेट प्रविष्ट गर्न बाँकी नै छ ।


सम्बन्धित समाचार