Logo

१५ असार,वीरगञ्ज । कार्यक्रमको आयोजना गर्न आग्रह बारा पर्सामा सम्पन्न कार्यक्रमबाट २ सय ८ पोका रगत संकलन भएको छ । बारा पर्साको ४ छुट्टाछुट्टै स्थानमा सम्पन्न कार्यक्रमबाट उक्त पोका रगत संकलन भएको हो ।

फरकफरक संघसस्ंथाहरुको आयोजनामा छुट्टाछुट्टै सम्पन्न कार्यक्रमहरुमा १५ जना महिलासहित २ सय ८ जनाले रगतदान गरेका हुन् ।

बढ्दो गर्मीसँगै रक्तसञ्चार केन्द्रमा भएको रगत अभावलाई मध्यनजर गर्दै आकस्मिक रगतदान कार्यक्रम आयोजना गरेको आयोजकहरुले जनाएका छन् ।

बाराको बिश्रामपुर गाउँपालिकास्थित सामाजिक सेवा नामक सस्ंथाले आयोजना गरेको कार्यक्रममा २६ जनाले रक्तदान गरेका छन् । गाउँपालिकाको वडा नम्बर ५ इटियाहीमा आयोजित कार्यक्रममा उनीहरुले रगतदान गरेका हुन् ।

रक्तदान गर्नेहरुमा लक्ष्मीनारायण सर्राफ, बृजेश प्रसाद कुशवाहा, रुपेश कुशवाहा, दिपक सरार्फ, अभिनाश सर्राफ, सन्नी सर्राफ लगायतका रहेका छन् ।

यसैगरी वीरगञ्ज हेल्थ केयर हस्पिटलको आयोजनामा भएको कार्यक्रममा १ सय १५ जनाले रक्तदान गरेका छन् । स्टार युथ क्लवको सहयोगमा वीरगञ्ज–१४ बहुअरीस्थित आयोजित कार्यक्रममा ७ जना महिलासहित १ सय १५ जनाले रक्तदान गरेका हुन् ।

कार्यक्रममा खुश्बु नेशा, नजदा खातुन, राज कुमार साह, सदाम अन्सारी, समिर अन्सारी लगायतकाले रक्तदान गरेका थिए । वीरगञ्ज महानगरपालिका वडा नम्बर ६ स्थित वृहस्पति फाउन्डेसन नेपालले आयोजना गरेको कार्यक्रममा २९ जनाले रक्तदान गरेका थिए ।

कर्पोरेट डेभलपमेन्ट बैँक लिमिटेडको प्रायोजकमा ‘सक्षम समाजको निर्माण, सेवा नै हाम्रो अभियान’ को नारासहित कार्यक्रम आयोजना गरिएको थियो । माइस्थान मन्दिर प्राङगणमा भएको कार्यक्रममा ४ जना महिलासहित २९ जनाले रगतदान गरेका हुन् ।

रक्तदान गर्नेहरुमा सुजिता राउत, धिरज गुप्ता, रिसु पटेल, बिजय साह, राज सोनी लगायतका छन् । यस्तै नव जनकल्याण युवा सञ्जाल आर्दशनगर १० को आयोजना सम्पन्न कार्यक्रममा ३८ जनाले रक्तदान गरेका छन् ।

वीरगञ्जको ग्यालेक्सी सेकेन्ड्री स्कुलमा भएको कार्यक्रममा ४ जना महिलासहित ३८ जनाले रगतदान गरेका हुन् । रक्तदान गर्नेहरुमा सिद्दीकी कार्की, आरती सिंह, संगीता कुमारी दास, अनिता दोङ, सुशिल कुमार गुप्ता, श्याम प्रसाद लाल, दिपक कुमार कार्की लगायतका छन् ।

रक्तदान गर्न आग्रह

रक्तसञ्चार केन्द्र वीरगंजमा अहिले रगतको अभाव भएको छ । केन्द्रमा सबै समूहको रगत अभाव भएको रक्तसञ्चार केन्द्र वीरगञ्जका प्रमुख सौरभराज पाण्डेले बताए । अत्याधिक गर्मीमा रक्तदान कम हुने र बिरामीहरुको चापले गर्दा रगतको आवश्यकता बढी हुने हुँदा रगतको चरम अभाव भएको उनको भनाइ छ ।

रगतको माग अनुसार पूर्ति गर्न नसकेकाले रक्तदान गरेर जीवनदान दिन रक्तदाता, सङ्घसंस्था, रेडक्रसकर्मीमा रक्तदान कार्यक्रमको आयोजना गरिदिन उनले आग्रह गरेका छन् । केन्द्रमा अहिले रगत छैन भनेपछि सबैबाट सहयोग प्राप्त भएको र आगामी दिनहरुमा समेत कार्यक्रमको आयोजना गरी रक्तदान गर्न रक्तसञ्चार केन्द्र वीरगञ्जले अनुरोध गरेको हो ।


सम्बन्धित समाचार