Logo

१६ असार,वीरगञ्ज । वैदेशिक रोजगारीमा जानाका लागि गरिने स्वास्थ्य परीक्षणमा अधिकांश प्रयोगशालाबाट ठगिने गरेको घटना बाहिरिएको छ । वैदेशिक रोजगार विभागले मान्यता दिएको स्वास्थ्य संस्थामा नै वैदेशिक रोजगारीमा जाने युवाले स्वास्थ्य परीक्षण गरेपनि उनको स्वास्थ्यको गलत रिपोर्ट निकालेर ठग्ने गरेको तथ्य बाहिरिएको हो ।

वीरगन्जका एक चिकित्सकले नै वैदेशिक रोजगारमा जाने युवाहरुलाई प्याथोलेजी ल्याबहरुले ठग्ने गरेको घटना बाहिर ल्याएका छन् । गोपनीयताका कारण भन्दै ती चिकित्सकले पीडितको नाम उल्लेख नगरेपनि उनले सामाजिक सञ्जाल फेसबुक मार्फत वैदेशिक रोजगार विभागबाट मान्यता पाएको स्वास्थ्य संस्थाले नै स्वास्थ्य व्यक्तिलाई पनि अयोग्य प्रमाणित गरेर रकम दिएपछि योग्य बनाईदिने गरेको घटना सार्वजनिक गरेका हुन् ।

ग्याष्ट्रो लिभर क्लिनिकका डाक्टर राकेश कुमार झाले फेसबुकमा ‘सत्य कथाः सफेदपोस ठग !’ भनेर घटनाको यसरी बेलिबिस्तार लेखेका छन् : कुनै पनि स्वास्थ्य समस्या नभएका युवालाई स्वास्थ्य परीक्षणका क्रममा उनी ‘अनफिट’ देखाइयो अर्थात उनको स्वास्थ्यमा समस्या देखाइयो ।

त्यहाँ उनलाई स्वास्थ्य समस्याका कारण उनी वैदेशिक रोजगारमा जान अयोग्य भएको जानकारी गराइयो । तर, निश्चित रकम खर्च गरे मेडिकलमा ‘फिट’ देखाइदिने र विदेश जान सकिने प्रस्ताव राखिन्छ । तर, ती युवा उक्त स्वास्थ्य संस्थाको रिपोर्टमा शंका गर्छन् ।

आफू पूर्णतया स्वस्थ रहेको आत्मविश्वासका कारण उनी स्वास्थ्य संस्थाले गरेको प्रस्ताव अस्वीकार गर्छन् । र, अलमलमा पर्दै उनी घर फर्कन्छन् । पछि आफन्तहरूको सल्लाहमा पीडित युवा डाक्टर राकेश झाको क्लिनिकमा स्वास्थ्य परीक्षण गराउन आइपुगे ।

त्यसपछि उनले आफ्ना कुराहरू राखे । यसअघि पनि स्वास्थ्य परीक्षणका क्रममा युवाहरू ठगिने गरेको कहिलेकाहीँ सुन्दै आएको झाले उनको स्वास्थ्य परीक्षण गर्दा कुनै समस्या देखिएन । थप परीक्षणका लागि रेडियोलोजिस्टकोमा समेत सिफारिस गरे । रेडियोलोजिस्टको परीक्षणबाट पनि ती युवामा कुनै समस्या देखिएन ।

अर्थात उनी पूर्णतया ‘फिट’ देखिए । वैदेशिक रोजगारीमा जान चाहेका मधेशका एक युवाले स्वास्थ्य परीक्षणका क्रममा भोगेको सत्य घटना डाक्टर झाले सामाजिक सञ्जालमा सार्वजनिक गरे । यस्ता व्यथाका कथाहरू दिनहुँ सयौं गरिब युवाहरूले भोगिरहेका होलान् भन्ने डाक्टर झालाई लागेको छ ।

उनी भन्छन्, ‘यो कथा तपाइँहरूसँग साझा गर्दैगर्दा जति दुख लागेको छ ।त्यो भन्दा बढ्ता मलाई हाम्रा व्यवसायिक चिकित्सक र संस्थाहरूको ‘ठग व्यवहार’ प्रति चिन्ता जागेको छ । एउटा डक्टरले निशंकोच स्वस्थ मानिसलाई अस्वस्थ भएको प्रमाणित गरिदिन्छ ! अनि त्यसैको आडमा ऊ आबद्ध स्वास्थ्य संस्थाले गरिब युवाहरूबाट असुली गर्ने प्रपञ्च रच्छ !यस्तो अमानवीय र अनैतिक काम गर्ने व्यक्ति र संस्थाहरूलाई कारबाहीको दायरामा ल्याउन र वैदेशिक रोजगारीमा जाने युवाहरूलाई स्वास्थ्य परीक्षणका क्रममा ठगिनबाट रोक्न नेपाल सरकार वा नेपाल चिकित्सक संघले गम्भीरतापूर्वक काम गरोस् ।’

डाक्टर झा का अनुसार त्यस्ता समस्या लिएर महिनामा ३, ४ जनासम्म आउने गरेका छन् । वैदेशिक रोजगार विभागबाट मान्यता प्राप्त स्वास्थ्य संस्थाहरु र चिकित्सकहरुले नै ठगी धन्दा गर्ने गर्दा सही र इमान्दार पेशामा लागेका चिकित्सहरुप्रति पनि नागरिकहरुको नकारात्मक भावनाहरु बढ्दै गएको बताए ।

यस्ता गलत र ठगीधन्दामा लागेकाहरुलाई कारवाहीको दायरामा ल्याउनका लागि पनि आफूले सामाजिक सञ्जालमा पोष्ट गरेको बताए ।

चिकित्सक पेशालाई नै बदनाम हुने गरी गरिने गलत क्रियाकलापको जोसुकैले विरोध गर्नुपर्ने भन्दै उनले यस्ता घटनाले सबैभन्दा धेरै जनशक्ति पलायन हुने मधेस प्रदेशका कति युवाहरु यसरी ठगिएर दुःख पाएका होलान् ? भन्ने प्रश्न पनि गरेका छन् ।

यस विषयमा वैदेशिक रोजगार विभागका निर्देशक एवं सूचना अधिकारी गुरुदत्त सुवेदीले वैदेशिक रोजगारीका लागि जाने गन्तव्य मुलुकहरु अनुसारको छुट्टाछुट्टै स्वास्थ्य संस्थाहरु तोकिएको र कतिपय यहाँका स्वास्थ्य संस्थाबाट योग्य भएका व्यक्तिहरु पनि गन्तव्य मुलुकमा पुगेर फर्किने गरेको धेरै घटनाहरु रहेकोले ‘अनफिट’ बनाउने र फेरी पैसा लिएर ‘फिट’ बनाएर पठाउने सम्भावना कम रहने बताए ।

यदि त्यस्तो घटना छन् भने त्यसलाई सुक्ष्म ढंगले अनुसन्धान गरेर कारवाहीको दायरामा ल्याईने उनले बताए । यहाँका स्वास्थ्य संस्थाहरुबाट स्वास्थ्य परीक्षणमा पास भएर गएकाहरु त्यहाँ पुगेर फेरी स्वास्थ्य परीक्षण गर्नुपर्ने र त्यहाँ स्वास्थ्य परीक्षणमा फेल भएमा पुनः नेपाल नै फर्काइदिने यहाँ आएर क्षतिपूर्ति दावी गर्दा समस्या जटिल हुने गरेको सूचना अधिकारी सुवेदीको भनाई छ ।

उनका अनुसार यहाँबाट पास भएर गएका र वैदेशिक रोजगारमा पुगेको गन्तव्य मुलुकबाट फर्किने गरेको धेरै घटनाहरु रहेको बताए । यहि अनफिट गरेर पैसा लिएर पुनः फिट गराउने घटना छन् र त्यस्ता पीडित छन् भने वैदेशिक रोजगार विभागमा गएर उजुरी दिन पनि उनले आग्रह गरेका छन् ।


सम्बन्धित समाचार