Logo

१६ असार,वीरगञ्ज । माध्यमिक शिक्षा परीक्षा (एसइई) २०८० को नतिजा सार्वजनिक भएको छ । सार्वजनिक नतिजाअनुसार यस वर्ष पर्सा जिल्लाबाट ३६ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।

शिक्षा बिकास तथा समन्वय इकाइ कार्यालय पर्साका अनुसार यस वर्ष जिल्लाभारबाट ३६ दशमलब ४२ प्रतिशत विद्यार्थी मात्र उत्तीर्ण भएका हुन् । गत वर्षको चैत्र १७ गतेदेखि २७ गतेसम्म सञ्चालित परीक्षामा जिल्लाभरबाट ९ हजार ५२१ जना विद्यार्थीले एसईई परीक्षा दिएका थिए ।

उनीहरुमध्ये ३ हजार ४६८ जना विद्यार्थीमात्र उत्तीर्ण भएका हुन् । परीक्षामा सहभागी मध्ये ६३ दशमलव ५८ प्रतिशत विद्यार्थी अनुत्तीर्ण (एनजी) भएका हुन् । शिक्षा बिकास तथा समन्वय इकाई पर्साका प्रमुख मोतीप्रसाद भट्टराईका अनुसार यस वर्ष साधारणतर्फ ९ हजार ३३८ जना र प्राविधिक धारतर्फ १८३ जना गरी ९ हजार ५२१ जना परीक्षार्थी एसईईमा सहभागी थिए ।

जसमध्ये साधारणतर्फ ३ हजार ३७७ जना अर्थात् ३६ दशमलव १६ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका हुन् । कार्यालयले उपलब्ध गराएको तथ्यांक अनुसार प्राविधिक धारतर्फको नतिजा जिल्लाभरबाटै उत्कृष्ट छ । त्यसतर्फ जिल्लाका ९१ जना अर्थात् ४९ दशमलव ७२ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।

यसैगरी स्तरवृद्धि तर्फ सहभागी ५६३ जना विद्यार्थीमध्ये ३८३ अर्थात् ६८ दशमलव ०३ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका प्रमुख भट्टराईले बताए ।

कति विद्यार्थीको कुन ग्रेड ?

नयाँ पाठ्यक्रमअनुसार पहिलो पटक एसईई परीक्षा दिएका विद्यार्थीको लेटर ग्रेडिङ निर्देशिका–२०७८ को व्यवस्थाअनुसार नतिजा प्रकाशन भएको हो । उक्त व्यवस्थाअनुसार विद्यार्थीले प्रत्येक विषयमा न्यूनतम ३५ प्रतिशत अंक ल्याउनुपर्नेछ ।

हरेक विषयमा ७५ पूर्णाङ्कको लिखित परीक्षा सञ्चालन भएकाले न्यूनतम २७ अंक ल्याउनै पर्छ । उक्त अंक अर्थात् १.६ जीपीएभन्दा कम अंक ल्याउने विद्यार्थी ननग्रेडिङ (एनजी) मा पर्नेछन् । उनीहरूलाई बोर्डले ग्रेडसिटसमेत उपलब्ध गराउने छैन ।

राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको नतिजा अनुसार जिल्लाभरबाट साधारणतर्फ उत्तीर्ण विद्यार्थीमध्ये ‘बी प्लस’ ग्रेड ल्याउने विद्यार्थीको सङख्या बढी छ । त्यसपछि क्रमश ‘ए’, ‘बी’, ‘ए प्लस’ र ‘सी’ ल्याउने छन् ।

‘बी प्लस’ ल्याउने विद्यार्थी सङख्या जिल्लाभरबाट १ हजार २०९ जना छन् । ए ल्याउने ९७७ जना, बी ८४० जना, ए प्लस २७० जना र सी ल्याउने विद्यार्थी ८१ जना रहेका प्रमुख भट्टराईले जानकारी दिए । यसैगरी प्राविधिक धारतर्फ उत्तीर्ण ९१ जना विद्यार्थीहरुमध्ये समेत ‘बी प्लस’ ल्याउने विद्यार्थी सङख्या सबैभन्दा बढी छ । ५८ जना विद्यार्थीले उक्त ग्रेड प्राप्त गरेका छन् ।

त्यसपछि ए र बी ल्याउने क्रमश : १५/१५ जना छन् । भने ए प्लस ल्याउने ३ जना रहेका छन् । ननग्रेडिङ भएका विद्यार्थीहरुले यही साउन १८ र १९ गते हुने ग्रेडवृद्धि परीक्षामा सहभागी हुन पाउने छन् । उक्त परीक्षाको नतिजा १ महिनामा प्रकाशित हुने बोर्ड जनाएको छ ।

ग्रेडवृद्धि हुने विद्यार्थी भने यसै शैक्षिक सत्रमा कक्षा ११ मा पढ्न पाउनेछन् । त्यस्तै २ भन्दा बढी विषयमा ननग्रेडिङमा पर्ने विद्यार्थीले पनि यहि साउनमा हुने परीक्षामा सहभागी हन पाउनेछन् ।

पर्सा जिल्लाको यसबर्षको एसईई परीक्षाको नतिजा संतोषजनक नरहेको शिक्षा विकास समन्वय इकाई पर्सा प्रमुख भट्टराईले बताए । राष्ट्रिय परीक्षा बोर्डले ३५ प्रतिशत ल्याउनु पर्ने प्रावधान राखेर विद्यार्थीहरुलाई नम्बर ल्याउन केही समस्या भएको विश्लेषण समन्वय इकाई प्रमुख भट्टराईको छ ।

शैक्षिक प्रणालीमा सुधार गर्नुपर्ने शिक्षा बिकास तथा समन्वय इकाइ कार्यालय प्रमुख भट्टराईको जोड छ ।


सम्बन्धित समाचार