Logo

१८ असार,वीरगञ्ज । सिद्धार्थ बैँकको वीरगञ्ज शाखामा भएको आगलागीबाट करोडौँको क्षति भएको छ । बैँकको आर्दशनगरस्थित शाखामा भएको आगलागीबाट २ करोड रुपैँयाभन्दा बढीको क्षती भएको प्रहरीले जनाएको छ ।

सोमबार (हिजो) अपरान्ह बैँकको माथिल्लो तल्लाबाट अचानक आगलागी सुरु भएको थियो । अपरान्ह सुरु भएको आगो करिब ४ घण्टापछि मात्र नियन्त्रणमा आएको थियो ।
आगोलाई वीरगञ्ज महानगरपालिकासहित पोखरीया नगरपालिका, नेपाल प्रहरी, बाराको जितपुरसिमरा उपमहानगरपालिका र भारतसमेतबाट आएको ८ वटा दमकल र स्थानीयहरुको सहयोगमा नियन्त्रणमा लिइएको थियो ।

प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार बैँकमा रहेको स्टोर रुमबाट सल्किएको आगो उग्र रुप लिएर यत्रतत्र फैलिएको थियो । ‘स्टोर रुममा सर्ट सर्किट भएर सुरुमै आगो लागेको थाहा नपाउँदा जताततै फैलिएको अनुमान छ, वडा प्रहरी कार्यालय विर्ताका प्रहरी निरिक्षक इन्स्पेक्टर पुष्कर बोगटीले भने, विस्तृत विवरण भने आउन बाँकी छ ।’

उनका अनुसार घटनाको यथार्थ कारणबारे भन्ने खुल्न बाँकी छ । आगलागीका कारण अत्यन्तै ठूलो क्षति भए पनि एकीन विवरण आउन बाँकी रहेको भन्दै उनले २ करोडभन्दा बढीको क्षती भएको अनुमान रहेको उनले बताए । प्रहरीका अनुसार आगलागीबाट बैँकको कोठाहरुमा पूर्ण रूपमा क्षति भएको छ ।

बैंकको भुइ तल्ला बाहेक अन्य ४ तल्लाका सम्पूर्ण कोठाहरु जलेर नष्ट भएको प्रहरी निरिक्षक बोगटीले बताए । यस्तै आगोका कारण बैँकका फाइल, फर्निचर, १ वटा जेनेरेटर लगायत समेत जलेको प्रहरीले जनाएको छ । घटनाबारे आवश्यक अनुसन्धान भइरहेको पर्सा प्रहरीले जनाएको छ ।


सम्बन्धित समाचार