Logo

१८ असार,काठमाडौं । सर्वोच्च अदालतले धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया रद्द नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । मंगलबार न्यायाधीश मोहम्मद अब्दुल अजीज मुसलमानको इजलासले अध्यक्ष नियुक्तिको प्रक्रिया रद्द नगर्न आदेश जारी गरेको हो ।

अध्यक्षका लागि आवेदन दिएर सर्टलिस्टमा परेका पाँचमध्ये तीनजना अन्तर्वार्तामा अनुपस्थित भएपछि सिफारिस समितिले प्रक्रिया रद्द गर्ने निर्णय गरेको थियो । समितिको निर्णयविरुद्ध सर्टलिस्टमा परेका सन्तोषनारायण श्रेष्ठले सर्वोच्चमा रिट दायर गरेका थिए । उनले रिटमार्फत प्रक्रिया रद्द गर्ने कानुनी व्यवस्था नरहेको भन्दै सिफारिस समितिको निर्णय खारेजीको माग गरेका छन् ।

विपक्षीका नाममा कारण देखाउँ आदेशसमेत जारी गर्दै अन्तरिम आदेश प्रयोजनका लागि दुवै पक्षलाई छलफलमा बोलाउने पनि आदेश भएको छ । त्यतिन्जेलसम्मका लागि अध्यक्ष छनोटको प्रक्रिया रद्द नगर्न अल्पकालीन अन्तरिम आदेश जारी भएको सर्वोच्चका सूचना अधिकारी गोविन्दप्रसाद घिमिरेले जानकारी दिए ।

रिटमा प्रधानमन्त्री कार्यालय, अर्थ मन्त्रालय, महान्यायाधिवक्ताको कार्यालय, अध्यक्ष नियुक्ति गर्ने प्रयोजनका लागि गठित सिफारिस समितिसहितलाई विपक्षी बनाइएको छ । २०८० माघ ४ मा गठित सिफारिस समितिले अध्यक्ष पदमा आवेदन माग गरेपछि १९ जनाले दिएका थिए ।

समितिमा आवेदन परेकामध्ये पाँचजना सर्टलिस्टमा छानिएका थिए । कार्ययोजना प्रस्तुतीकरण र अन्तर्वार्ताका लागि बोलाइएकामा सर्टलिस्टमा परेका पाँचमध्ये सन्तोषनारायण श्रेष्ठ र बोर्डका कार्यकारी निर्देशक मुक्तिनाथ श्रेष्ठमात्र कार्ययोजना प्रस्तुतीकरणका लागि उपस्थित भएका थिए ।


सम्बन्धित समाचार