Logo

१८ असार, चितवन । आफ्नै सुन पसल लुटपाट भएको नाटक गरेर बिमा कम्पनीबाट दुई करोड २० लाख रुपियाँ हत्याउन खोज्ने गिरोहलाई चितवन प्रहरीले मंगलबार सार्वजनिक गरेको छ ।

चितवनको कालिका नगरपालिका वडा नं. ६ खोलेसिमलमा सुन पसल संचालन गरि बस्ने विनोद सुनारलाई प्रहरीले पक्राउ गरेको हो । विनोदले आफ्नो सुन पसलबाट हतियारधारी समूहले २ करोड १७ लाख ५४ हजार मूल्य बराबरको गहना चोरी गरेर भागेको भनि प्रहरीमा उजुरी गरेका थिए ।

केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को टोलीले घटनाको अनुसन्धान गर्दा सुनारको योजनामा पसलमा सुनका गहना चोरी भएको नाटक गरी बिमा रकम ठगी गर्न योजनाबद्ध रूपमा एक समूहलाई खटाएको खुलेको हो ।

सिआइबीले सुन पसले सुनारसहित विजय विश्वकर्मा, पूर्णबहादुर विश्वकर्मा, पवनकुमार पासवान र अन्जना पुडासैनी केसीलाई पक्राउ गरेको छ । उनीहरूमध्ये विनोद सुनार सुन पसलका संचालक (साहुजी) हुन भने विजय विश्वकर्मा पसलका व्यवस्थापक हुन ।

प्रहरी नियन्त्रणमा रहेका विनोद सुनचाँदी पसलका संचालक विनोद सुनार कालिका नगरपालिका वडा नंं ६ का स्थायी बासिन्दा हुन । चोरीमा संलग्न बर्ष ५० का पूर्णबहादुर विश्वकर्मा तनहुँको म्याग्दी गाउँपालिका वडा नं. ७ का बासिन्दा हुन भने व्यवस्थापक विजय विश्वकर्मा कालिका नगरपालिका वडा नं ७ का बासिन्दा हुन ।

त्यसैगरी चोरीमा संलग्न रहेका बर्ष १८ का पवनकुमार पासवानको स्थायी घर बाराको बरागढी नगरपालिका वडा नंं ४ मा रहेको प्रहरीले जनाएको छ । लुटेको भनिएको गहना लुकाउन सहयोग गर्ने बर्ष ४२ की अञ्जना पुडासैनी केसी कालिका नगरपालिका वडा नंं ६ की स्थायी वासिन्दा हुन ।

खोलेसिमल बजारमा रहेको विनोद सुनचाँदी पसलमा असार १ गते राति लुटपाट भएको भनि प्रहरीलाई जानकारी गराइएको थियो । प्रहरीका अनुसार पसल संचालक सुनारले लुटपाटको घटनामा १ किलो ७ सय ग्राम सुन र ३३ तोला चाँदी अज्ञात व्यक्तिहरुले लुटेर भागेको उजुरी गरेका थिए ।

चितवनका प्रहरी प्रमुख प्रहरी उपरीक्षक भावेश रिमालका अनुसार विनोद सुनचाँदी पसलको नाममा सिद्धार्थ बिमा कम्पनीमा दुई करोड २० लाख रुपैयाँको बिमा गरिएको रहेछ । व्यापार राम्रो नभएको र बजारमा लेनदेन धेरै व्यक्तिसँग बढदै गएपछि विनोद आफैंले सुनचाँदी पसल डकैती गराएर बिमा बापतको रकम हत्याउने योजना बनाएको प्रारम्भीक अनुसन्धानबाट खुलेको एसपी रिमालले जानकारी दिए ।

प्रहरीको अनुसन्धान विवरणअनुसार सुनारले पूर्णबहादुर विश्वकर्मालाई ५० हजार रुपैयाँ रकम दिएर लुटपाट गर्न सम्झौता गरे । उनकै योजनाअनुसार असार १ गते राति विश्वकर्मा र पवनकुमार पासवान मोटरसाइकलमा आएका थिए ।

प्रहरीको अनुसार त्यसदिन पसलका संचालक विनोद सुनार पसलमा थिएनन् । उनीहरुलाई लुटपाटमा पसलका म्यानेजर विजय विश्वकर्माले सहयोग गरेका थिए । चोरी गरेका गहनाहरु पनि पवन र पूर्णबहादुरले अञ्जना पुडासैनी केसीलाई राख्न दिएका थिए ।

प्रहरीले अनुसन्धान थालेपछि लुटपाट भएको भनिएको दुई दिनपछि अञ्जनाको घरमा गइ विनोद आफैंले गहना लिएर आएको पत्ता लगायो । प्रहरीले लुटेको भनिएको सुनचाँदी पनि विनोदको सुन पसलबाट आज मंगलबार नै बरामद गरेको छ ।

उनीहरुलाई लुटपाट तथा चोरी अभियोगमा प्रहरीले अनुसन्धान अघि बढाएको छ । चितवनकाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक रिमालका अनुसार उनीहरुविरुद्ध आजै जिल्ला अदालतबाट ६ दिनको म्याद थप गरी थप अनुसन्धान अघि बढाइएको छ ।


सम्बन्धित समाचार