Logo

१९ असार,काठमाडौं । नेपालमा दुई ठूला दलहरु मिलेर सरकार गठनको जोहो भइरहेका बेलामा विपक्षी दल कमजोर हुने अवस्था उत्पन्न भएको छ । लोकतन्त्रमा विपक्षी कमजोर हुनुलाई त्यति राम्रो मानिँदैन । किनकि सत्ताले जनताका आवाजलाई कुल्चिने डर हुन्छ ।

तर छिमेकी भारतमा लोकतन्त्रको अवस्था नाजुक भएको करिब एक दशकपछि अहिले त्यहाँ लोकतन्त्र फस्टाएको महसुस गर्न थालिएको छ । खासगरी पछिल्लो अठारौं लोकसभाले विपक्षीलाई पनि त्यहाँ बलियो ढंगले उभ्याएको छ ।

त्यहाँ विपक्षी नेता राहुल गान्धीले सोमबार करिब डेढ घण्टाको आफ्नो मन्तव्यमा सत्तापक्षलाई आच्छु आच्छु पारेको देखेर लोकतन्त्रवादीलाई निकै आशा जगाएको छ । भारतको लोेकसभाको सोमबारको बैठकमा विपक्षी नेता गान्धीले शिवजीको तस्बिर देखाउँदै बोलेको विषयले त्यहाँ हंगामा मच्चियो ।

राष्ट्रपति द्रौपदी मुर्मूले हालै संसदमा सम्बोधन गरेकोमा त्यसको धन्यवाद प्रस्तावका क्रममा बोलेका राहुलले शिवजीको तस्बिर देखाउँदै भनेका थिए, “शिवजी भन्छन् नडराऊ । अरुलाई पनि डर नदेखाऊ । अभय मुद्रा देखाउँछन् । अहिंसाको कुरा गर्छन् । तर, जो मानिस आफूलाई हिन्दू भन्छन् उनीहरु चौबीसै घण्टा घृणा, हिंसा र झूठ फैलाउँछन् ।”

राहुल खासगरी हिन्दुवादी सत्तारुढ पार्टी भाजपामाथि प्रहार गरिरहेका थिए । राहुलको यो मन्तव्यलाई बीचमा रोक्दै प्रधानमन्त्री नरेन्द्र मोदीले भने, “यिनले ठूलो आरोप लगाइरहेका छन् । नेता प्रतिपक्ष हिन्दु समुदायको हिंस्रक भनिरहेका छन् ।”

प्रधानमन्त्री सोमबार राहुल बोल्दै गर्दा दुईपटक उठेका थिए, विगतमा त्यो दृश्य बिरलै देखिन्थ्यो । यसको जवाफमा राहुलले तुरुन्तै भने, “केवल नरेन्द्र मोदी, भाजपा र आरएसएस मात्र हिन्दु समाज होइनन् । हामी सबै हिन्दु हौं ।”

भाजपाका सांसदले राहुलको मन्तव्यको बीच बीचमा कैयौं पटक आपत्ति जनाएका थिए । त्यसमा प्रधानमन्त्री मोदीदेखि गृहमन्त्री अमित शाह र रक्षामन्त्री राजनाथ सिंहसम्म थिए । उनीहरुले पनि राहुललाई आफ्नो भनाईलाई लिएर सदनमा माफ माग्न आग्रह गरेका थिए ।

राहुलले आफ्नो मन्तव्यमा धर्म, महंगी, अग्नीबीर योजना, किसानका मुद्दालगायतका विषय जोडदार रुपमा उठाएका थिए । बितेका दुई चुनावमा कांग्रेससँग संसदको १० प्रतिशत सिट अर्थात् ५४ सिट पनि थिएनन् ।
यस्तो अवस्थामा कांग्रेसले संसदमा विपक्षको नेता दाबी गर्न पाएन ।

२०१४मा कांग्रेसको साथ ४४ सिट थियो भने सन् २०१९मा ५२ सिट थियो । यसपालि कांग्रेसको साथ ९९ सिट छ । सोमबार लोकसभामा विपक्षी नेता राहुल गान्धीले बोलेको पहिलो महत्वपूर्ण भाषण थियो । यसको केही भाग लोकसभाको रेकर्डबाट हटाइएको छ ।

आफ्नो भाषणको हिस्सा हटाइएकोमा राहुलले मोदीको दुनियाबाट सत्य हटाउन सकिएला, तर, वास्तविकतामा सत्यलाई हटाउन सकिँदैन भन्दै मंगलबार व्यंग्य गरे । ‘जे मलाई भन्नु थियो त्यो भनिदिए । जति हटाउनु पर्छ हटाउनुस् । जुन सत्य हो त्यो सत्य नै रहन्छ ’उनको भनाई थियो ।

लोकसभामा राहुलको सोमबारको चर्चा मंगलबार पनि कायम रह्यो । लोकसभाका सभामुख र गान्धीको एउटा संवाद पनि निकै रमाइलो थियो । उनले एउटा प्रसंगमा त्यहाँका पाका भनिने नेताहरुलाई समेत लोकतन्त्रको पाठ पढाएका छन् ।

हालै लोकसभाको सत्र सुरु भएपछि सभामुखको निर्वाचन भएको थियो । सभामुख पदमा भाजपाका नेता ओम बिरला निर्वाचित भएका थिए । सभामुख चुनावपछि मोदी र राहुल बिरलालाई पु¥याउन उनको आसनसम्म पुगेका थिए ।

त्यहाँ बिरलाको अभिवादन अलि अनौठो थियो । मोदीसँग पुरै झुकेका थिए भने गान्धीसँग ठाडो भएर नै कुरा गरेका थिए । त्यसबारे राहुलले पछि टिप्पणी गरे र पाका नेतालाई संसदीय लोकतन्त्रको पाठ पनि पढाए ।

राहुलले सो प्रसंग जोड्दै भने, “स्पिकर सर, तपाईंको कुर्सीमा दुई व्यक्ति बसेका छन् । एक लोकसभाका स्पिकर जो भारतीय संघका स्पिकर हुन् । दोस्रो ओम बिरला छन् । जब मोदीजी गए र तपाइसँग हात मिलाए । अनि मैले हात मिलाएँ । मैले एक कुरालाई बढी ध्यानमा राखेँ ।”

राहुल भन्दै गए, “जब मैले हात मिलाएँ, तपाईं सिधा उभिनुभयो । जब मोदीजीले हात मिलाउनु भयो । तपाईं झुक्नुभयो र उहाँसँग हात मिलाउनु भयो ।”

राहुल गान्धीले बोल्दै गर्दा अमित शाह आफ्नो सिटबाट उठेर बोले आसनमाथि आरोप लगाइयो भन्दै टिप्पणी गरेका थिए ।
एनडीएका सांसदले पनि सो भनाईको विरोध गरे ।

अन्ततः यसको जवाफ ओम बिरलाले यसरी दिनुप¥यो, “माननीय प्रतिपक्षका नेता, माननीय प्रधानमन्त्री सदनका नेता हुन् । मलाई मेरो संस्कृति, संस्कारले भन्छ, निजी जीवनमा पनि सार्वजनिक जीवनमा पनि र यो आसनमा पनि । जो मभन्दा ठूला हुन् उनको झुकेर नमस्कार गर्नुपर्छ । मलाई सिकाइएको छ । बराबरवालासँग बराबरको व्यवहार गर्नुपर्छ ।”

बिरलाले थपे, “म यो कुरा आसनबाट बताइरहेको छु । मेरो संस्कृति र संस्कार यही हो । बडासँग झुकेर आवश्यक परेमा गोडामा छोएर सम्मान गर्ने । जो उमेरभन्दा साना छन् उनीहरुसँग बराबरको व्यवहार गर्ने । यो हाम्रो संस्कृति र संस्कार हो । म यसको पालना गर्दछु ।”

यसपछि राहुल फेरि उभिएर बोले, “स्पिकर सर, तपाईंको कुरालाई म सम्मानपूर्वक स्वीकार गर्दछु । यद्यपि तपाईंलाई भन्न चाहन्छु कि यो सदनमा स्पिकरभन्दा ठूलो कोही हुँदैन । स्पिकर हामी सबैभन्दा ठूला हुन् । हामी सबैले स्पिकरको सामु झुक्नु आवश्यक छ ।”

बिरलाको सामुन्ने हात जोडेर झुक्दै गान्धीले फेरि थपे , “म तपाईंको सामुन्ने झुक्नेछु । साराका सारा विपक्ष तपाईंको साथ झुक्नेछ । यो लोकतन्त्र हो र तपाईं यो सदनको नेता । तपाईं कसैको सामुन्ने झुक्नु आवश्यक छैन । तपाईं कस्टोडियन(रखवाले) हो ।”

एनडीएका नेताले त्यसमा प्रतिवाद गर्दै प्रधानमन्त्री सदनको नेता हुने बताए ।

राहुलले फेरि भने, “लोकसभामा स्पिकरको भनाई नै मान्य हुन्छ । लोकसभा सांसद हुनुको नाताले म स्पिकरको अधिनमा छु । म यस्तो मान्दछु । हुन सक्छ यो सदनमा अरु कोही हुन सक्छ जसले यस्तो मान्दैन । तर, म र विपक्षी यो मान्छौं कि हामी तपाईंको अधिनमा छौँ ।” एजेन्सीको सहयोगमा


सम्बन्धित समाचार