Logo

१९ असार,वीरगञ्ज । नेपाली कांग्रेसका बरिष्ठ नेता डाक्टर शेखर कोइरालाले एमालेसंगको गठबन्धन शेरबहादुर देउवाको एक्लै निर्णयले नभएको बताएका छन् ।

नेपाली कांग्रेस पर्साले बुधबार वीरगञ्जमा आयोजित कार्यकर्ता भेटघाटमा बोल्दै कांग्रेस बरिष्ठ नेता कोइरालाले यस्तो बताएका हुन । उनका अनुसार पछिल्लो समय साना दलहरुले गठबन्धनको नाममा २ ठूला दलहरुलाई आजित बनाइसकेको थियो ।

‘त्यसपछि नागरिक समाजदेखि लिएर पार्टीभित्र पनि सबैले अब ठूला दलहरु मिल्नुबाहेकको विकल्प नभएको आवाज उठन थालेको थियो,’उनी भन्छन् ।
उनी भन्छन्, ‘ माओवादीले दुइ ठूला दललाई आजित बनाइसकेको थियो, ऊ कहिले एमालेसंग गबन्धन गथ्र्यो, त कहिले कहिले कांग्रेससंग । यही रणनीतमा हामीलाई अल्झाइरहेको थियो, त्यसलाई निस्तेज पार्न दुइ दल एक भएका हुन ।’

यसरी चौतर्फी विरोध हुन थालेपछि मुलुकमा राजनीतिक स्थायित्व दिनका लागि कांग्रेसका सबैको सल्लाहमा विधिवत निर्णय गरेर एमालेसंग गठबन्धन गरेको उनले सुनाए । उनका अनुसार यो अब यो गठबन्धनले मूलतः संविधानमा निर्वाचन प्रणालीमा संशोधन गरेर राजनीतिक स्थायित्वतर्फ ध्यान दिनेछन् ।

संविधान संशोधन गर्दा केही मूलभूत बुँदाहरुमा सुधार गर्नुपर्ने जरुरी रहेको उनको ठम्याइ छ । धेरै सुधार गर्न थालियो भने फेरि विवाद हुन सक्ने अवस्था आउने भएकाले त्यसतर्फ सचेत हुन उनको सुझाव छ ।
उनले भने,‘ निर्वाचन प्रणालीतर्फ समानुपातिक वालाहरुको सीट हटाउनु पर्छ, तर उहाँहरुलाई राष्ट्रिय सभामा लैजानुपर्छ । योसंगै अन्य केही बुँदाहरुमा विज्ञहरुसंग सल्लाह गरेर सुधार गर्नुपर्छ ।’

योसंगै प्रत्यक्ष निर्वाचन प्रणालीमा होमिनुपर्ने अबको आवश्यकता रहेको उनको भनाइ छ । यी कुराहरुमा सुधार आयो भने मुलुकमा राजनीतिक स्थायित्व, आर्थिक विकास र सुशासन कायम हुने उनको ठहर छ । वर्तमान गठबन्धनले संविधान सुधार, सुशासन, भ्रष्टाचार नियन्त्रण र आम जनतालाई राहत दिने कुराहरुमा ध्यान दिन सुझाव दिए ।

त्यसकारण सबै दलहरुले अब देशमा पार्टी भन्दामाथि उठेर राष्ट्रलाई सम्झिनुपर्ने बेला आएको उनको तर्क छ । गिरिजाबाबुले भन्नु भएको सहमति, सहकार्य र एकता अनुसार हामी सबैले काम गरेर अगाडि बढ्यौं भने देशमा देखिएका समस्या समाधान हुने उनी बताउँछन् ।

कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सहमहामन्त्री बद्री पाण्डे, केन्द्रीय सदस्यहरु शंकर भण्डारी, केन्द्रीय सदस्य अजय चौरसिया, अनिल रुंगटा, प्रदेश सांसद श्याम पटेल, जिल्ला सभापति जनार्दन सिंह क्षेत्रीसहितको सहभागीता थियो ।


सम्बन्धित समाचार