Logo

२० असार,वीरगञ्ज । नारायणी अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट एनामुल हकले अस्पताल प्रशासनको नियम वितरित गइ काम गरेको आरोप लागेको छ ।

उनीमाथि अस्पतालमा हाजिर भएदेखि नै नियम विपरित काम गरेको आरोप लागेको हो । गत जेठ ११ गते सरुवा भइ अस्पतालको कमान सम्हालेपछि सोही महिनाको २१ गते विभिन्न पदमा कार्यरत मेडिकल अधिकृतदेखि तल्लो दर्जाको ४७ जना कर्मचारीलाई हटाइएको थियो ।

मेसु हकको यो कार्य विरुद्ध नारायणी अस्पताल विकास समितिका अध्यक्ष धिरज गुप्ताले तत्काल एक प्रेस विज्ञप्ति जारी गर्दै भर्त्सना गरेका थिए । कर्मचारी निकालेको एक महिना नबित्दै मेसु एनामुलले असार १४ गते राजधानी केन्द्रित सौर्य दैनिकमा नवौँ तहका मेडिकल अफिसरदेखि स्वीपरसम्म ३४ जना कर्मचारीको आवश्यकता भएको भनी एक हप्ताको समय राखी मौखिक अन्तर्वार्ताको माध्यमले नियुक्ति गर्ने आशयको विज्ञापन प्रकाशित गराएपछि मेसु एनामुलको नियत उदाङ्गिएको छ ।

मेडिकल अधिकृत चिकित्सक, स्टाफ नर्स, हेल्थ असिस्टेन्ट रेडियोग्राफर जस्ता विज्ञहरुलाई राख्दा जहाँ पनि लिखित परीक्षा लिने गरिन्छ र तत्कालको लागि श्रेणीविहीन कर्मचारी राख्नु पर्ने भए मौखिक अन्तर्वार्ता लिने प्रचलन रहेको नारायणी अस्पतालका पुर्व मेसु डा. चितरञ्जन साहको भनाइ रहेको छ ।

२०७५ सालमा नारायणी अस्पतालको मेसु हुँदा पनि डा. एनामुल हक आर्थिक अनियमिततामा फसेकोले उनको सरुवा गरिएको थियो । अहिले पुनः आउने वित्तिकै आर्थिक आतंक मच्चाउनका लागि कर्मचारी हटाउने र राख्ने खेल शुरु गरेका छन् । फास्ट ट्रयाक अवलम्बन गरी कर्मचारी भर्नाको यस प्रक्रियाबाट लगभग एक करोड रुपैयाँसम्म हात पार्ने योजना बुनिएको बताइन्छ ।

यता अस्पतालका मेसु डा. हकले भने यो आरोपको अस्विकार गरेका छन् । उनले अस्पतालमा पहिले ज्यालादारीमा कर्मचारीहरु राखिएको भएपनि अब भने दरबन्दी अनुसार कर्मचारी नियुक्ति गरिने बताए । नेपाल सरकारको कार्यविधि अनुसार उचित पारिश्रमिक सहित करार कर्मचारी नियुक्ति गर्ने उनको भनाइ छ । त्यसका लागि नारायणी अस्पतालबाट कर्मचारीहरुको मागको सूचना खुलाएको डा. हकले जानकारी दिए ।


सम्बन्धित समाचार