Logo

२१ असार, वीरगञ्ज । केन्द्रमा फेरिएको सत्ता समीकरणले मधेस प्रदेशको सरकारमा उथलपुथल ल्याएको छ ।

एमाले–कांग्रेसको नयाँ समीकरण बनेपछि २८ दिन अगाडि बनेको मुख्यमन्त्री सतिस सिंहको सरकार नै यथावत रहन्छ वा अर्को सरकार बन्छ भन्ने अन्योल बढेको हो । जनमत पार्टी, जनता समाजवादी पार्टी नेपाल र लोसपा नेपालले मधेसमा आ–आफ्नै नेतृत्वमा सरकार बनाउने ‘लबिङ’ सुरु गरेपछि सदनमा विश्वासको मत लिन तम्तयार भएका सिंह नेतृत्वको सरकार सङ्कटमा परेको छ ।

यद्यपि, अबको दुई दिन पछाडि मुख्यमन्त्री सिंह नेतृत्वको सरकारको परीक्षण हुँदैछ । जेठ २५ मा मुख्यमन्त्री सिंहको नेतृत्वमा सरकार गठन भएको थियो । सरकार गठन भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । सोही अनुसार मुख्यमन्त्री सिंहले असार २२ गते विश्वासको मत लिने कार्यसूची छ । तर मुख्यमन्त्री सिंहले लिन लागेको विश्वासको मतमा कुन दलले समर्थन जनाउने वा कसले नजाउने भन्ने अन्योल बढाएको छ ।

नयाँ समीकरणमा एमाले–कांग्रेससहित तीन वटै मधेसवादी दलले समर्थन जनाउने धारणा सार्वजनिक गरिसकेका छन् । तीन वटै दलले मधेसमा सरकारको नेतृत्व पाउने आशले नयाँ समीकरणलाई समर्थन गरेका छन् । मुख्यमन्त्री सतिस सिंह नेतृत्वको मधेस प्रदेश सरकार अबको २ दुई दिन पछाडि आफ्नो शक्ति परीक्षण गर्दैछ ।

आफ्नै दलको नेतृत्वमा बनेको सरकारलाई सहयोग गर्न जनमत पार्टी अध्यक्ष सीके राउतले दौडधुप सुरु गरेका छन् भने जसपा अध्यक्ष उपेन्द्र यादवले पुनः आफ्नो पार्टीको नेतृत्वमा सरकार बनाउने कसरत सुरु गरेका छन् ।

विश्वासको मत लिने दिनलाई नै लक्षित गरेर दुवै पार्टीका अध्यक्षद्वयले राजनीतिक भेटघाट तीव्र बनाएका छन् । जनमत पार्टी अध्यक्ष राउतले एमाले अध्यक्ष केपी शर्मा ओलीमार्फत मधेस सरकार आफ्नो पार्टीको नेतृत्वमा यथावत राख्न पहल गरिरहेका छन् भने जसपा अध्यक्ष यादवले कांग्रेस सभापति शेरबहादुर देउवामार्फत आफ्नो पार्टीको नेतृत्वमा सरकार बनाउने ‘लबिङ’ गरिरहेको स्रोतले बताएको छ ।

यता लोसपा अध्यक्ष महन्थ ठाकुरले पनि आफ्नो पार्टीको नेतृत्वमा सरकार बनाउन कसरत गरिरहेको स्रोतको दाबी छ । नयाँ समीकरणमा मधेस प्रदेश सरकारको नेतृत्व सहयोगी दललाई दिने सहमति भइसकेको बताइन्छ । त्यसैले मधेस केन्द्रित दलहरूले आफ्नो नेतृत्वमा सरकार बनाउन जोडतोडले दौडधुप सुरु गरेको स्रोतको दाबी छ ।


सम्बन्धित समाचार