Logo

२१ असार,वीरगञ्ज । धनुषाको मिथिला बिहारी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामदरश यादवसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यादवसहित लेखापाल सुभाष कुमार झा, जिन्सी शाखाका प्रमुख खरिदार उपेन्द्र यादवविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

अख्तियारका प्रवक्ता नरहरि घिमिरेका अनुसार उनीहरुमाथि आर्थिक वर्ष २०७९÷८० मा सञ्चालित वडा नम्बर ९ को श्री आधारभूत विद्यालय र रामजानकी प्राथमिक विद्यालयमामा विद्यार्थी सिकाई अभिवृद्धि कार्यक्रम अन्तर्गत कुनै काम नगरी भुक्तानी लिएको आरोप लागेको छ ।

विद्यालयमा पोशाक खरिद गर्दा सार्वजनिक ऐन र सार्वजनिक खरिद नियमावली बमोजिम लागत अनुमान तयार गरी कम्तिमा तीन वटा आपूर्तिकर्तासँग लिखित रुपमा दरभाउपत्र माग गरी खरिद मूल्यांकन समितिबाट निर्णय गराउनुपर्नेमा सो नगरी पालिकामा सूचीकृत रहेको भनी तीन वटा आपूर्तिकर्ताको झुट्टा दरभाउ पत्र तयार गरी खरिद मुल्याङ्कन समितिको बैठकमार्फत मूल्यांकन समेत नगराइ कार्यालयको टिप्पणी आदेशमार्फत भुक्तानी दिइएपछि अख्तियारले मुद्दा दायर गरेको हो ।

पैन्ट, स्कर्ट, सर्ट, जुत्ता, टाई, बेल्ट र मोजा समेत सात प्रकारका पोशाक सामाग्री एकमुष्टरुपमा दुई सय ९५ सेट बापत नौ लाख ९६ हजार ६६० रुपियाँ रकम मजदुर होजियारीका प्रोप्राइटर रामसुन्दर साह तेलीलाई भुक्तानी दिइएको आयोगको विज्ञप्तिमा उल्लेख छ ।

विद्यालयलाई बुझाइएका सामग्रीको मूल्य यकिन गर्दा प्राप्त दररेट अनुसार चार लाख ६१ हजार ९५० रुपियाँ मात्रै पर्ने देखिएको र पाँच लाख ३४ हजार ७१० रुपियाँ बराबरको रकम अस्वभाविक देखिएकोले सो रकम बिगो असुल हुन मागदाबी लिइ शुक्रबार विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर भएको आयोगले जनाएको छ ।

 


सम्बन्धित समाचार