Logo

२२ असार, वीरगञ्ज । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले आज विश्वासको मत लिदैछन् ।

सरकार गठनको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था अनुसार मुख्यमन्त्री सिंहले आज प्रदेशसभामा विश्वासको मत लिन लागेका हुन् ।

मधेस प्रदेशसभामा चौँथो ठूलो दलका रुपमा रहेको जनमत पार्टीका सिंहको नेतृत्वमा गत जेठ २५ गते प्रदेश सरकार गठन भएको थियो ।

प्रदेश सभाको बैठक आज विहान ११ बजे बस्दै छ । जनमत कै सरकारलाई निरन्तर्ता दिनलाई आफ्नो समर्थनमा ८ दलले सघाउने दावी मुख्यमन्त्री सिंहको दावी छ ।

मुख्यमन्त्री सिंहको समर्थनमा ८ दल
सरकारमा सहभागी ६ दल र कांग्रेस र लोसपाले समेत आफ्नो पक्षमा विश्वासको मत दिने मुख्यमन्त्री सिंह बताउँछन् ।

एमाले संसदीय दलका नेता सरोज यादवले आफ्नो पार्टीले विश्वासको मत दिने बताए । रातोपाटीसँग उनले भने, ‘हाम्रो पार्टीले यही सरकारलाई विश्वासको मत दिने निर्णय गरिसकेको छ, त्यसकारण हामीले ह्वीप पनि जारी गरिसकेका छौँ ।’

माओवादीबाट खेलकुद मन्त्री बनेका युवराज भट्टराई (समीर) ले पनि वर्तमान सरकारलाई नै आफ्नो पार्टीले विश्वासको मत दिने तयारी गरेको बताए ।

‘तत्काल हाम्रो पार्टीले यही सरकारलाई विश्वासको मत दिने तयारी छ, त्यसकारण भोलि हामी सरकारको पक्षमा मतदान गर्नेछौँ,’ उनले भने ।

यसैगरी मुख्यमन्त्री सिंहको पक्षमा कांग्रेसले पनि मतदान गर्ने तयारी गरेको जनाइएको छ । कांग्रेसका एक प्रदेश सांसदले भने, ‘हाम्रो पार्टी यसअघि मुख्यमन्त्री सिंहको विपक्षमा खडा भएको थियो, तर वर्तमान समीकरणले यही सरकारलाई सघाउने भनेपछि भोलि हामी विश्वासको मतको पक्षमा मतदान गर्ने भएका छौँ ।’

एकीकृत समाजवादीले पनि वर्तमान सरकारलाई सघाउने भएको छ । सत्ता समीकरण फेरिए पनि यही सरकारमा अहिलेसम्म रहेको हुनाले आफ्नो पार्टीले शनिबार लिन लागिएको विश्वासको मतको पक्षमा मतदान गर्ने तयारी गरेको एकीकृत समाजवादी पार्टीका संसदीय दलका नेता गोविन्द न्यौपानेले बताए ।

लोसपाले पनि अहिलेको सरकारलाई नै समर्थन गर्ने भएको छ । लोसपा एक सांसदका अनुसार केन्द्रमा नयाँ समीकरण बनेपछि त्यसको निर्णय अनुसार नै मुख्यमन्त्री सिंहको सरकारलाई समर्थन गर्न लागिएको हो । त्यसैगरी नागरिक उन्मुक्ति पार्टी र नेपाल संघीय समाजवादी पार्टीले समेत वर्तमान सरकारको पक्षमा मतदान गर्ने तयारी गरेको छ ।

जसपा नेपाल विपक्षमा मतदान गर्ने
प्रदेश सभामा रहेको अधिकांश दलले मुख्यमन्त्री सिंह नेतृत्वको सरकारलाई समर्थन गर्ने निर्णय गरे पनि जनता समाजवादी पार्टी नेपालले भने त्यसको विपक्षमा रहने निर्णय गरेको छ ।

जसपा नेपालका वरिष्ठ नेता एवं पूर्व मुख्यमन्त्री लालबाबु राउत गद्दीले आफ्नो पार्टीले विश्वासको मतको विपक्षमा मतदान गर्ने बताए । उनले भने, ‘हामी हिजो पनि विपक्षमा खडा थियौँ, भोलि पनि प्रतिपक्षमा रहन्छौँ । हाम्रो पार्टीको यही निर्णय छ ।’

प्रदेश सभामा एमालेको २४, जनमतको १३, कांग्रेसको २२, लोसपाको ८, एकीकृत समाजवादीको ७, माओवादीको ९, नागरिक उन्मुक्तिको १ र नेपाल संघीय समाजवादीको १ जना सांसद छन् ।


सम्बन्धित समाचार