Logo

२२ असार,वीरगञ्ज । गएरातिदेखि परेको अबिरल बर्षाका कारण ठोरी गाउँपालिकाको जनजीवन प्रभावित भएको छ ।बर्षाका कारण हालसम्म कुनै मानवीय क्षति नभएपनि ठोरीका अधिकांश ठाउँहरु जलमग्न भएका छन् । कतिपय घरमा पानी पसेर डुबान भएको छ ।

ठोरी ३ को ब्रम्हानगर र नयाँवस्ती लगायतका ठाउँमा रहेका स्थानीयको घर डुबानमा परेको पुर्व वडाध्यक्ष सुर्य लामाले जानकारी दिनुभयो । हुलाकी सडक अग्लो र सडकको किनारको नालाको कारण सहजै पानीको निकास नहुँदा प्रायः जसो घरहरुमा पानी पसेको लामाले बताउनुभयो ।

रातिदेखिको अबिरल बर्षाका कारण ठोरीमा अवरुध्द विद्युत सेवा दिउसो १ बजेदेखि सुचारु भएको छ । बिरगंज ठोरी हुलाकी सडक खण्ड सुचारु भएतापनि नारायगढ ठोरी सडक खण्डमा भने सवारी आवागमन ठप्प भएको छ । सो रुटमा पर्ने खोलाहरुमा बाढी आएको कारण आज कुनै पनि सवारी साधन ओहोरदोहोर गरेका छैनन् ।

सडक सम्पर्क विच्छेद भएका कारण ठोरी भएर नारायणगढ जाने यात्रुहरुलाई समस्या भएको छ । गाउँपालिकाको वडा १ र २ मा वर्षाको कारण हालसम्म कुनै क्षति नपुगेको इलाका प्रहरी कार्यालय ठोरीले जानकारी दिएको छ । उता ठोरी ४ को निर्मलवस्ती, आठघरे, मिलचोक, शान्तिटोल, सुन्दरटोल, बिजयबस्ती, विशालचोक, ट्याङ्ग्रेलाईन लगायतका ठाउँका हुलाकी सडक किनारको उत्तरपट्टीका प्रायः घर डुबानमा परेको छ ।

अबिरल बर्षाले अहिलेसम्म मानवीय हताहती भने नभएको ईलाका प्रहरी कार्यालय ठोरीले जनाएको छ। वर्षाको कारण खोलामा पानीको सतह बढेपनि अहिलेसम्म बाढी गाउँ पसेको बारे कुनै जानकारी नआएको प्रहरीको भनाइ छ ।


सम्बन्धित समाचार