Logo

२३ असार,वीरगञ्ज । बाराको जीतपुर सिमरा उपमहानगरपालिकाको डुमरवाना क्षेत्रका किसानले लगाएको असारे बिजी ४२ धानको मूल्य नपाउँदा किसानहरु निराश भएका छन् ।

असार २० बसेको मन्त्रिपरिषद् बैठकले आगामी आर्थिक वर्ष २०८१÷८२ को लागि मोटा धानको मूल्य प्रतिक्विन्टल ३ हजार ४१० रुपैयाँ ५१ पैसा र मध्यम धानको मूल्य प्रतिक्विन्टल ३ हजार ५८० रुपैयाँ ६२ पैसा तोकेको छ । तर, किसानले लगाएको धानको भने बजार मूल्य नपाउँदा किसान निराश भएका हुन् ।

बाराको जीतपुर सिमरा उपमहानगरपालिकाको वडा नम्बर ११, १२, १३, १५, १८ र १९ नम्बर वडाका किसानहरुले लगाएको बीजी–४२ धानको मूल्य नपाउँदा किसान निराश भएका हुन् । अहिले उनीहरुले लगाएको बीजी–४२ धानको मूल्य २१÷२२ रुपैंया प्रतिकिलोमा मात्रै बिक्री हुने गरेको छ । किसानले लगाएको असारे बीजी–४२ धान अहिले धमाधम भित्र्याउदै छन् । तर, अबिरल बर्षाले धान भित्र्याउन पनि समस्या भएको छ । बर्षाले पाकेको धान भित्र्याउन समेत नपाएको किसानको गुनासो छ ।

भित्र्याउन लागेको धान पनि पानीले भिजेर दुर्गन्ध आउन थालेको किसानको भनाई छ । असारे बीजी–४२ धान भित्र्याएर फेरी अर्को धान रोप्ने तयारीमा किसान रहेका छन् । अहिले किसानले उत्पादन गरेको बीजी–४२ धानको भने मूल्य भन्दा ढुटोको मूल्य बढी हुँदा दोहोरो मारमा किसान परेका छन् ।

किसानले दुख गरेर उब्जाएको बालीले उचित मूल्य नपाउँदा र त्यहि धान सस्तोमा बिक्री गरेर महंगोमा धानको ढुटो किन्नुपर्दा किसान दोहोरो मारमा परेका हुन् । दिनप्रतिदिन बढ्दै गएको महंगी र किसानले लगाएको धानबालीले उचित मूल्य नपाउँदा किसानहरु निराश बन्ने गरेका छन् ।

बाराको जीतपुर सिमरा उपमहानगरपालिकाका किसानहरुले बर्षौदेखि यस्तो समस्या भोग्दै आएको स्थानीय सञ्चारकर्मी विदुर खड्काले बताए ।


सम्बन्धित समाचार