Logo

२४ असार, वीरगञ्ज । मधेशमा अहिले सम्म २६ प्रतिशत धान रोपाई भएको छ । कृषि विभागका अनुसार धान रोपाइँ हुने कुल क्षेत्रफल ३ लाख ८३ हजार १५० हेक्टर मध्ये ९७ हजार ९ सय हेक्टर अर्थात २६ प्रतिशत धान रोपाइँ भएको हो ।

असार २३ गते आईतबार सम्म देशभरि ३९ प्रतिशत धान रोपाइँ भएको छ । कुल क्षेत्रफल १३ लाख ९८ हजार २७३ हेक्टर मध्ये ५ लाख ३९ हजार ८ सय हेक्टर अर्थात ३९ प्रतिशत धान रोपाइँ भएको कृषि विभागले जनाएको छ । यो पटक २३ असारसम्म गत वर्षभन्दा ४ प्रतिशतले कम रोपाइँ भएको हो । गत वर्ष २३ असारसम्म ४२ दशमलव ९ प्रतिशत अर्थात ६ लाख ४२ हजार २८४ हेक्टरमा रोपाइँ भएको थियो ।

देशभरि भएको रोपाइँ मध्ये सबैभन्दा धेरै सुदूरपश्चिम प्रदेशमा भएको छ । सुदूरपश्चिममा करिब ६० प्रतिशत धान रोपाइँ भएको छ । १ लाख ७४ हजार ५७६ हेक्टर धान रोपाइँ हुने क्षेत्रफल मध्ये १ लाख हेक्टरभन्दा माथि रोपाइँ भइसकेको हो ।

यस्तै गण्डकी प्रदेशमा ४९.७ प्रतिशत, कर्णालीमा ४८ प्रतिशत, लुम्बिनीमा ४४.४ प्रतिशत रोपाइँ भइसकेको विभागले जनाएको छ । बागमती प्रदेशमा ४०.२ प्रतिशत रोपाइँ हुँदा कोशी प्रदेशमा ३५ प्रतिशत रोपाइँ भइसकेको विभागले जनाएको छ ।

सबैभन्दा कम मधेश प्रदेशमा करिब २६ प्रतिशत धान रोपाइँ भएको छ ।


सम्बन्धित समाचार