स्वपनकुमार आइसीपी (इन्टीग्रेटेड चेक पोष्ट), बीरगन्जको वातानुकूलित प्रतिक्षालय कक्षमा डब्बल सट कफी खाँदै आफ्नो बाल्यकालीन साथी, परदेशी प्रसादको प्रतिक्षा गर्दै थियो । हरेक पाँच मिनेटमा स्वपनकुमार फोन ठोकिहाल्थ्यो, “अब कहा पुग्यौ ?” उसको उताउलोपन थामिनसक्नु भएको थियो ।
“जाबो दुई सय कि.मि. को दुरी, खुवाजस्तै चिल्लो बाटो, त्यो पनि बारह लेनको । तिन घन्टाभन्दा बढि नलाग्नु पर्ने, चार घन्टा बितिसक्यो, मोरो अझै सुगौली पनि पुगेको छैन ।” बरबराउँदै आफ्नो सदाबहार सुनौलो लठ्ठीको सहयोग लिँदै ऊ उठ्यो । र, लखरलखर गर्दै कैफेटेरियातिर बढ्यो ।
अचेल उसका पचास दसक पुराना घुडा पहिलाजस्तै चुस्तदुरुस्त रहेनन् । एक छिन बसिसकेपश्चात् उठ्दा अप्ठेरो मान्न थालेका छन् । ऊ स्वीजरल्याण्डबाट आयातित स्प्रिङ्ग वाटरको एक बोतल पाँच सय रुपैया तिरेर खरिद ग-यो । र, घाँटीमा गटट खन्यायो । पुरै कैफेटेरिया विभिन्न मुलुकका पर्यटकहरुको भिडले घेरिएको थियो ।
नेपाल घुमघाम सक्याएर उनीहरु बीरगन्ज नाका भएर भारततिर जाँदै थिए क्यारे । एकापसमा चाहिनेभन्दा अलि बढि नै तिखो स्वरमा गफ गर्दै थिए । मुख बिगार्दैस्वपनकुमार उनीहरुतिर केही बेरसम्म टोलाइरह्यो, तर मुखले केही भनेन । केही बेरपछि ऊ त्यहाँबाट युरिन ब्लडर खन्याउने ठाँउतिर लाग्यो ।
प्रोस्टेटको समस्या भएदेखि ब्लडर खन्याउने काम पनि सहज रहेन । बाथरुममा विदेशीहरु कुन्नि, कोकोसित फोनमा चिच्याउँदै गफ गर्दै थिए । अनि थेग्नै सक्ने गरी चुरोटको तिब्र गन्ध पनि । “कुन्नि ! यी गोरे कहिले सुध्रिने हुन् ? नेपालजस्तो सभ्य र शान्त मुलुकमा हुँदा त आफ्ना चालामाला छोडेका छैनन् भने अरु ठाँउमा कुन्नि के गर्दा होलान् ?” बरबराउँदै उसले जेनतेन ब्लडर खन्याउने काम सक्यायो ।
परदेशीप्रसाद झण्डै तिस बर्षअगाडि उच्च शिक्षा ग्रहण गर्न ऊ अमेरिका गएको थियो । पढाई सकिएपछि ऊ त्यही घरजम ग-यो । त्यसपछि तिस दसकसम्म ऊ सम्पर्कविहीन रह्यो । एक बर्षअगाडि मात्र ऊ मैसेन्जरमार्फत पूनः सम्पर्कमा आएको थियो । पुरानो सम्बन्धको नवीकरण भयो । केही दिनअगाडि मात्र ‘एक ब्यवशायीक काम परेर म भारतको पटना आउँदै छु’ जानकारी गराउँदै ‘मलाई भेट्न तिमी पनि पटना आइजा’ भनेर परदेशीप्रसादले इमोशनल पारामा आग्रह ग-यो ।
“यति नजिकसम्म आएर पनि आफ्नो पुरानो थातथलोमा नपुग्ने ?” स्वपनकुमारले पनि थप भावनात्मक क्षेप्यास्त्र हान्यो । क्षेप्यास्त्र ठीक ठाँउमा लाग्यो । उसले बीरगन्ज आउन स्वीकार ग-यो । सम्पूर्ण कामलाई थाती राख्दै आफ्ना मुल्यवान दुई दिन परदेशीप्रसादको स्वागतसत्कारमा खर्च गर्ने स्वपनकुमारले निर्णय ग-यो । त्यही भएर होला, सयौं जिम्मेवारी कर्मचारी हुँदाहुँदै परदेशीप्रसादलाई लिन ऊ स्वयम् इन्टीग्रेटेड चेकपोष्ट आएको छ ।
उसको कैनेडियन सेक्युरिटी गार्ड, स्टीफन पनि आप्mनो साहुको परिवर्तित चालामाला देखेर दङ्गदास छ । विचरो केही नभन्दै अलि पर सजग मुद्रामा उभिएको छ । स्वपनकुमारको गन्ती नेपालकै ठूलै पर्यटन ब्यवशायीमा हुने गर्छ । एभरेष्ट आधारशिविरमा सञ्चालित विश्वविख्यात पाँच तारे होटल, ड्रिमाण्डु इन, उसकै हो । पर्सा राष्ट्रिय निंकुजको सम्पूर्ण ब्यवस्थापन उसकै कम्पनी, ट्रिटवेल कम्पनीले हेर्दै छ ।
रारा तालको ठीक बीचमा बन्दै गरेको रिर्सोट, ग्लोरी नेपाल पनि उसकै हो । नेपालभरि सञ्चालित ओला टैक्सी सर्विसमा पनि उसको ठूलो लगानी छ । ऊ जति ठूलो मान्छे भए पनि मनमा घमण्ड एक पैसा पनि राखेको छैन । एक महिनाअगाडि मात्र पाँच करोडमा एउटा गाडी खरिद गरेको थियो ।
उसको गाडीलाई भारतको कुनै पनि कुनामा पुग्न मिल्ने गरी विशेष अनुमति प्राप्त छ । गाडीको ड्राइभर, परविन्दर ठाकुर पनि उस्तै स्मार्ट युवक रहेछ । कुनै बेला ऊ भारतीय उद्योगपति अडानीको निजी गाडी चलाउने गथ्र्यो । त्यही गाडी र ड्राइभर उसले पदेशीप्रसादको लागि पटना पठाइदिएको थियो ।
अचेल भारततिर घुम्न आएका तेस्रा मुलुकका यात्री नेपाल प्रवेश गर्न खोज्दा काठमाण्डौको हवाई बाटोभन्दा बीरगन्जको सडक बाटो बढि रुचाउन थालेका छन् । कारण हुनः समयको बचत, थोरै झन्झट र बीरगन्ज र रक्सौलका अध्यागमण विभागको छिटोछरितो र न्यानो ब्यवहार ।
अनि अन अराइवल भिसाको चुस्तदुरुस्त ब्यवस्था पनि । सार्वजनिक सवारी साधनबाट आउने यात्रीहरुको लागि पनि रक्सौल बस टर्मिनल र रेलवे स्टेशनमा सयौ ओला टैक्सीहरु पालो कुरेर बसेका हुन्छन् । बीरगन्जलगायत हरेक नेपाली गन्तब्यको लागि भाडा निश्चित गरिएको छ । कुनै कचकचको कामै छन् ।
लगेजको झंझट छैन भने मेट्रो चढेर पनि आउन सकिन्छ । अनि पर्यटक प्रहरीले पनि आप्mनो मिठो ब्यवहार र दुरुस्त सेवाका कारण आउने पर्यटकहरुको मन जितेका छन् । यिनै कुरोमा ऊ मग्न थियो, उसको फोन गुनगुनाउन थाल्यो, “ओए ! ड्रिमकुमार! म आइसीपीभित्र छिरे ।” उताबाट परदेशीप्रसादको फोन रहेछ ।
“लु, त्यसो भए एलियनप्रसाद, तिमी इमिग्रेशनको काम सक्याएर बाहिर आउनु, म गोल्डेन कलरको लठ्ठीसहित मेनगेटमै उभिएको हुन्छु ।” पुलकित हुँदै उसले फर्कायो । अचेल कुनै पनि विदेशी पाहुनालाई नेपाल प्रवेशको अनुमति पाउन हद समय लाग्यो भने पन्द्रह मिनेट । गाडीलाई कन्भेयर बेल्टसम्म पुर्याएर सम्पूर्ण कागजात त्यहाँ उपस्थित पर्यटन सहयोगीलाई जिम्मा लगाइ दिए पुग्छ ।
गाडीभित्र राखिएका सबै मालसमानको जाँचपडताल स्क्यानर मेशिनबाट गरिन्छ । समान्यतया गाडी, ड्राइभर र मालसमानको जाँचपडतालमा पनि पन्द्रह मिनेटभन्दा बढि लाग्दैन । कथंकदाचित समान्यभन्दा बढि समय लाग्ने भयो भने पनि यात्रुहरु सुविधासम्पन्न कैफेटेरियामा बसेर चियाकफी खाँदै बस्छन् ।
कैफेटेरियासँगै लहरै पर्यटन बोर्ड, मुद्रा सटही, सिमकार्ड, ट्रेबेलिङ्ग कार्ड स्वास्थ विमा कार्ड र टे«बेलिङ्ग ऐजेन्टहरुका काउन्टर पनि राखिएका छन् । साथसाथै नेपालमा उत्पादित सामग्रीहरुका बुटिक पसल र मसाज पार्लरहरु पनि । नजिकै सानो डिस्पेन्सरी पनि राखिएको छ । यस्तो ब्यवस्था दुबै देशको भंसार परिसरमा गरिएको छ । जे होस्, समय वितेको पत्तो लाग्दैन ।
स्वपनकुमार अराइवल गेटनिर उभिएको थियो । उसको फोन पूनः गुनगुनायो । “म बाहिर आए । तर तिमीलाई देखिन त ।” परदेशीप्रसादले यसोभन्दा ऊ हतारिँदै चाडैतिर मुन्टो घुमाउन थाल्यो । परदेशीप्रसाद उसको ठिक्कपछाडि पच्चिस पैसे मुस्कानका साथ उभिएको थियो । दुबै जनाका आँखा जुद्धे । एक आर्कालाई अङ्कमाल गरे । केही सेकेण्डमै उनीहरु औपचारिकताबाट यथार्थमा ओर्ले । “साले ! कुकुर ! पाजी !” जस्ता अति विशिष्ट श्रेणिका अलङ्कारका साथ एकआर्कालाई सम्बोधन गर्न थाले ।
परदेशीप्रसादको काँधामा एक ल्यापटप ब्याग थियो र हातमा केही ब्रोचर । “तिमीलाई पनि टुरिष्ट सम्झेर ब्रोचर भिडाइदिएजस्तो छ नि ।” ब्रोचरतिर हेर्दै स्वपनकुमारले हाँस्दै भन्यो । “अ ! इमिग्रेशनको काम सक्याएर अगाडि बढ्दै गर्दा एक जना फिलिपिनो महिला उफ्रिँदै आइपुगिन् । र, ब्रोचर भिडाउँदै अङ्ग्रेजीमा एके सैतालिस चलाउन थालिन्, वेलकम टु हिस्टोरिकल गेटवे अफ नेपाल ।
यो ब्रोचरमा बीरगन्जको नाइट मार्केट, मसाज सेन्टर, फैन्टासी वल्र्ड, वाटर वल्र्ड, फुड स्ट्रीट, वीरगन्ज टावर, अन्य टुरिष्ट प्लेसहरु, इमरजेन्सी नम्बरहरु, टुरिष्ट पुलिसका नम्बर र यस्तैयस्तै कुराहरु छन् ।” भनेर उनी अझै गफिन खोज्दै थिइन् “अरे, यार म पनि बीरगन्जकै मान्छे हुँ,” नेपालीमा भनेपछि बल्ल उनी शान्त भइन् ।
“जे होस्, अनुहार, ज्यान र पहिरनले जति आकर्षक थिइन्, वचनले त्यो भन्दा पनि राम्री ।” उनीहरु गफ गर्दै थिए, सेक्युरिटी गार्ड, स्टीफनले जनाउ दियो, “सर, हाम्रो गाडी अरावल गेटसम्म आइपुगेको छ ।” दुबै जना गाडी भएको ठाँउमा आइ पुगे । सबै जना गाडीमा बसिसकेपछि गाडी स्टार्ट गर्दै स्टीफनले सोध्यो, “सर ! घरतिर नै हो नि ।” “हो, तर आउटर रिङ्ग रोडको बाटो समातेर जाने ।”
मुस्काउँदै स्वपनकुमारले आदेश जारी ग¥यो । केही बेरपछि सडकवरिपरिको बिहङ्गम दृश्य देखेर परदेशप्रसादलाई अचम्म भयो, “बाफ रे ! यो हाम्रै बीरगन्ज हो कि भारतको बेंग्लुरु ? बारह लेनका सडक । तिन तल्ले फ्लाईओभर । सँगसँगै मेट्रो पनि कुद्दै छन् । सडकमा गाडीको चाप उतिक्कै । जता आँखा गयो आकाश छुने भवनहरु । मैले सुनेको भन्दा पनि खतरा विकशित भइसकेको रैछ ।”
“तिस बर्ष पुरानो बीरगन्ज सम्झेर हेप्न खोज्या थियौ कि क्या हो ? यो त क्यै होइन, केही बेरपछि बाटोमा नयाँ अद्यौगिक क्षेत्र आउने छ, त्यो हेर्नु । साँझ बीरगंजको रात्री बजार घुम्न जाने । भोलि ठोडीतिर जाने, परसी जनकपुर धामतिर । बल्ल थाहा पाउने छौ, यो क्षेत्रको भव्यता ।”
परदेशी प्रसादको अनुहारमा अनौठो मानेजस्तो भङ्गीमा उत्पन्न भयो । स्वपनकुमारले बेलबिस्तार लगाई रह्यो,
“मात्र हाम्रो मधेश प्रदेशमा एप्पल, सामसङ, टेस्ला, रिलायन्स, पानासोनिक र स्टेन्चरजस्ता सय भन्दा बढी मल्टीनेशनल कारखानाहरु छन् । हाम्रो प्रदेशमा त हैलिक्यापटर बनाउने समेत कम्पनी छ । सिलिकन भ्यालीसित जोडिएका सयभन्दा बढि आइटी कम्पनीहरु छन् । मेडिकल कलेज नै दसभन्दा बढि छन् । संसारभरिका विद्यार्थी यहाँ पढ्न आउँछन् । अनि राष्ट्रिय स्तरका कलकारखाना त हजारभन्दा बढि नै होलान् । पन्ध्र वटा जति आयुर्वैदिक औषधीका कारखानाहरु छन् । प्रायः औषधी विदेशी बजारमा विक्री हुन्छन् । यहाँ कलकारखानामा खट्ने कामदार, सबै अफ्रिकन मुलुकबाट झिकाइएका छन् । क्यार्नू, नेपाली कामदार अचेल भेट्नै गाह्रो । आधीजति विदेशमा छन् । बाँकि जे छन्, सबै कृषि क्षेत्रमा ब्यस्त छन् । नेपाली च्याउ, चेरी, स्ट्राबेरी, ड्रगन फ्रुट, स्याउ, सुन्तलाजस्ता खानेकुरा तथा औषधीय कच्चापदार्थ विसभन्दा बढि मुलुकमा निर्यात गर्ने गर्छौ । यही बीरगन्जमा बनेको वाइनले त तिम्रै अमेरिकामा रामै्र उधुम मचाएको छ । बीरगन्ज अब चानचुने ठाँउ रहेन । देशको आर्थिक राजधानी भएछ । अर्थमन्त्री त महिनाको पन्द्रह दिन हामी बीरगन्जीयाहरुको बीचमा बिताउने गर्छन् । बुझिस् ।”
स्वपनकुमार यिनै कुरामा ब्यस्त थियो । “ऐ दाइ ! एअरपोर्ट आइ पुग्यौ । उठ्नोस् नि ।” कसैको तिखो स्वर कानपुरमा बारम्बार ठोक्किन थालेपछि उसका नेत्रका ढोका खुले । ऊ त काठमाण्डौको सांघुरो गल्लीदेखि हवाईअड्डासम्म कुद्ने आदिमकालीन मारुती ८०० मोडेलको एक टैक्सीभित्र लम्पसार थियो । चश्मा मिलाउँदै चारैतिर आँखा घुमायो, परदेशीप्रसाद अथवा बीरगन्जको अतोपतो थिएन । सँगैको सिटमा ओछ्याइएको थोत्रो र ठुसठुस गन्हाउँदै गरेको चकटी मानौ उसलाई गिज्याउन खोज्दै थियो । उसलाई याद भयो, ‘ऊ हिजो मात्र नाइट बस चढेर बीरगन्जबाट काठमाण्डौ आएको थियो ।’
“हरे ! गज्जबको सपना चल्दै थियो । टैक्सी ड्राइभरले बर्बाद नै ग-यो ।” मनमनै ड्राइभरलाई सराप्दै ऊ आफुलाई सोझ्यायो । चश्मा झिकेर आँखा सफा गर्यो । सर्टको बाहुलाले निधारको पसिना पुछपाछ ग-यो । आफ्नो सदाबहार काठे लठ्ठीको सहारा लिँदै जेनतेन गाडी बाहिर आयो । उपल्लो पकेटमा गुजमुजिएका सय–सयका चार नोट झिक्दै ड्राइभरको हातमा राख्यो । “एक सय अझै दिनोस् न हो ।” ड्राइभर चिच्यायो । दोब्बर जोरले स्वपनकुमार पनि चिच्यायो, “एक रुपैया पनि दिँदैन ।”
दुबै जनाबीच एक छिन बहस चल्यो । आखिरमा जित स्वपनकुमारकै भयो । मुरमुरिँदै ड्राइभर आप्mनो बाटो लाग्यो । हतार–हतार तिलचामले आफ्नो कपाल मिलाउँदै ऊ मनमनै गुन्यो, “परदेशीको प्लेन ल्याण्ड गर्ने समय त भइसक्यो ।” काठे लठ्ठीको अडेस लिँदै ऊ लखरलखर एअरपोर्टको आगमन कक्षतिर बढ्यो ।