Logo

२७ असार, वीरगञ्ज । वीरगञ्ज उद्योग वाणिज्य संघले भंसार सन्दर्भ मुल्य पुस्तिका तथा शतप्रतिशत जरिवाना गर्ने प्रावधानको खारेजी गर्न माग गरेको छ । आईतबार अर्थ मन्त्रालयमा एक पत्र लेख्दै संघले उक्त माग गरेको हो ।

आयातित मालवस्तुको भंसार जाँचपासको लागि व्यवसायीले घोषणा गरेको मालवस्तुको मूल्य भंसार अधिकृतले निर्धारण गरेको मूल्य भन्दा घटी भएमा घटी भए जतिको रकम घोषित मूल्यमा जोडी हुन आउने मूल्यमा तोकिएको प्रतिशत बमोजिम भंसार महसुल असुल गरी मात्र भंसार जाँचपास हुने गरेको व्यवसायीले बताएका छन् ।

दफा (क) बमोजिम मालवस्तुको कायम हुन आउने अन्तिम मूल्यमा जति रकम थप भएको र सो थप भएको रकममा भंसार महसुल दरको पचास प्रतिशत रकम जरिवाना समेत गर्ने गरेको हुँदा आर्थिक भार व्यहोर्नु परेको व्यवसायीहरुको गुनासो छ ।

दफा (क) र (ख) मा उल्लेख भएबमोजिम कायम भएको मालवस्तुको मूल्य थप रकममा लाग्ने भंसार महसुल दरको पचास प्रतिशत जरिवाना गर्ने प्रावधानलाई संशोधन गरी सय प्रतिशत गर्ने विषय प्रस्तावित अवस्थामा रहेको उनीहरु बताउँछन् ।

उक्त दुवै दफामा उल्लेखित विषय व्यवसायीको हकमा न्यायोचित नरहेको भन्दै वीरगञ्ज उद्योग वाणिज्य संघले खारेजीको माग गरेको छ ।

अन्तर्राष्ट्रिय मान्यता बमोजिम भंसार जाँचपासको लागि आयातित मालवस्तुको भंसार मूल्य कायम गर्दा सो मालवस्तुको वील विजकलाई समेत आधार लिनुपर्ने प्रावधान छ । व्यवसायीहरुले पनि यस कुरालाई प्राथमिकताका साथ विभिन्न मञ्चमा उठाउँदै आएका छन् । तर भंसार अधिकृतले मुल्य कायम गर्दा भंसारको पूर्व निर्धारित मूल्यको सन्दर्भ मूल्य पुस्तिका मात्रको आधार लिई आफ्नो स्वविवेकीय अधिकारको प्रयोग गरी जथाभावी मूल्य कायम गर्ने गरेका कारण व्यवसायीहरुलाई अत्याधिक आर्थिक भार थपिएको संघको पत्रमा उल्लेख छ ।

संघ पत्रमा लेखिएको छ ‘प्रतितपत्र खोलेर सामान आयात गर्दा बैकिङ प्रकृया मार्फत नै हुने गरेकोले भन्सार अधिकृतले मालवस्तुको मुल्यांकन गर्दा भन्सार महसुल दरको ५० प्रतिशत जरिवाना लाग्ने डरले व्यावसायीले सामान आयात गर्दा नै थप मूल्यको रकम बुझाएर ल्याउने गरेका छन् । जसले गर्दा प्रतितपत्रमै विदेशी मुद्रा बाहिरिने गरेको छ ।’

भंसार अधिकृतले कायम गर्ने जथाभावी भंसार मूल्यका कारण व्यवसायीमा पर्न जाने अत्याधिक आर्थिक भारको फलस्वरुप नै नेपालमा अवैध बाटोबाट मालवस्तु नेपाल भित्रिने गरेको संघको अड्कल छ ।

सही र सुलभ भंसार मूल्याङ्कनले नै वैध व्यापारलाई प्रोत्साहन गर्ने र राजस्व अभिवृद्धीमा समेत टेवा पुग्ने संघको दावी छ ।

नेपालको उद्योगको कच्चापदार्थ तथा व्यापारको प्रबर्द्धन लगभग आयातमा नै निर्भर रहेकोले नेपालको आर्थिक वृद्धिको लागि भंसार मूल्याङ्कनको कार्य न्यायोचित रुपमा सम्पादन गर्न जरुरी रहेको व्यवसायीको माग छ ।

आयातकर्ता व्यवसायीद्वारा घोषित आयातित मालवस्तुको मूल्यमा भंसार प्रशासनलाई चित नबुझेमा घोषित मूल्यमा पाँच प्रतिशत रकम थप गरी हुन आउने रकम आयातकर्तालाई दिई त्यस्तो मालवस्तु खरिद गर्ने गराउने प्रावधान समेत भंसार सम्बन्धी कानूनमा छ तर यस प्रावधान बमोजिम आयातित मालवस्तु भंसारले खरिद गर्दैन बरु व्यवसायीसंग बलजफ्ती थप मूल्य र जरिवाना असुल गर्न भंसार अधिकृतले जथाभावी मूल्य कायम गर्ने छन् । जुन वास्तवमा अन्यायपूर्ण कार्य गरको संघको पत्रमा भनिएको छ ।

नेपालमा उद्योग व्यापारको खस्किदो वर्तमान अवस्थामा परिस्थितिमा भंसार प्रशासनले सन्दर्भ मूल्य पुस्तिकाको आधारमा आयातित मालवस्तुको मूल्य निर्धारण गर्ने र सो निर्धारीत मूल्यमा भंसार महसुल लिने र सो मालवस्तुको मुल्य निधारणको क्रममा थप भएको रकममा भंसार महसुल दरको पचास प्रतिशत गर्ने जरिवाना वहन गर्न सक्ने क्षमता हाल व्यवसायीमा रहेको छैन ।

संघको पत्रमा भनिएको छ ‘उद्योग व्यापारको विकासको माध्यमले नै नेपालको आर्थिक उन्नति सम्भव रहेकोले नेपालको भंसार प्रशासनको सन्दर्भ मूल्य पुस्तिका र स्वविवेकीय तवरले भंसार अधिकृतले मालवस्तुको मूल्यको निर्धारण गर्ने प्रावधान समय सान्दर्भिक छैन् ।’

त्यसकारण सन्दर्भ भंसार मूल्य पुस्तिका र भंसार अधिकृत मूल्य निर्धारण गर्ने तथा जरिवानाको प्रावधान खारेज गर्न र घोषित मूल्यमा चित नबुझेमा घोषित मूल्यको हुन आउने पाँच प्रतिशत रकम थप गरी भंसारले आयातित मालवस्तु खरिद गर्ने प्रक्रिया तदारुकताका साथ तत्काल लागु गर्न संघले अनुरोध गरेको छ ।


सम्बन्धित समाचार