Logo

२७ असार,वीरगञ्ज । आँप टिपेको विषयमा विवाद उत्पन्न विवादले रौतहटमा एकजना युवकको ज्यान गएको छ । रौतहटको ईशनाथ नगरपालिकामा आँप टिपेको विषयमा भएको विवादमा १७ वर्षीय युवकको हत्या भएको प्रहरीले खुलासा गरेको छ ।

ईशनाथ नगरपालिकाको वडा नम्बर ९ लवातना गाउँका १७ वर्षका सहबाज मिँया आलमको छुरा प्रहारबाट मंगलबार राती मृत्यु भएको थियो । ईशनाथ २ औरेया स्थित आँपको बगैँचामा एक युवकलाइ घाइते अवस्थामा देखेपछि स्थानीयले प्रहरीलाई जानकारी गराएका थिए ।

घटनालगत्तै प्रहरीले गरेको अनुसन्धानपछि प्राप्त प्रमाणको आधारमा युवकको हत्यामा संलग्न दुई युवालाई पक्राउ गरी प्रहरीले सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा बौधीमाई–१ बौधापतौरा गाउँ घर भई हाल ईशनाथ ३ स्थित आफ्नै मामा घर बस्दै आएका १८ वर्षीय दशई साह र उनका साथी स्थानीय १९ वर्षीय रोशन साह रहेको प्रहरीले जनाएको छ ।

घटना लगतै मंगलबार राती पक्राउ परेका ४ जनामध्ये अनुसन्धान पश्चात् बुधवार दुईजना अभियुक्त दशई र रोशनलाई बुधबार साँझ जिल्ला प्रहरी कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गरी सार्वजनिक गरेको थियो ।
आरोपी दुवैजनाले मिलेर ईशनाथ–९ लवातना गाउँका १७ वर्षीय सहबाज मियाँ आलमको टाउकोमा रड र पेटमा धारिलो हतियार प्रहार गरी हत्या गरेको प्रहरी प्रवक्ता डीएसपी एलिजा गिरीले बताइन् ।

उनका अनुसार मंगलबार राति शौच गर्न गएको मौका छोपी आलमलाई नजिकैको आँपको बगैँचामा दशईले पछाडिबाट अनुहार टाउकोमा रड प्रहार गरेको र उनी भुईँमा लडेपछि रोशनले पेटमा दुई पटक छुरा प्रहार गर्दा सहबाजको घटनास्थलमै मृत्यु भएको थियो ।

घटनाको १ दिन अघि मृतकका आफ्नै भाइ १० वर्षीय साबिर मियाँ आलमसँग आँप टिपेको विषयमा विवाद हुँदा मृतक सहवाज मियाँ आलमले दशई साहलाई दुई÷चार थप्पड हिर्काएका थिए । सोही घटनाको बदला लिन दशईले मिल्ने साथी रोशनसँग मिलेर सहवाज मियाँ आलमको हत्याको योजना बनाएको रौतहट प्रहरी प्रमुख एसपी दिलीप घिमिरेले जानकारी दिए ।

दुवैजनामाथि कर्तव्य ज्यान सम्बन्धी मुद्दा दर्ता गरी जिल्ला अदालत गौरबाट म्याद थप गरी अनुसन्धान भइरहेको रौतहट प्रहरीले जनायो ।


सम्बन्धित समाचार