Logo

२७ असार,काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । बैठक दिउँसो ४ बजेका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बोलाइएको हो ।

यो प्रधानमन्त्री ‘प्रचण्ड’को अन्तिम मन्त्रिपरिषद् बैठक हो । सत्ता समीकरण फेर बदल भएसँगै अल्पमतमा परेका ‘प्रचण्ड’ले भोली संसदमा विश्वासको मत लिँदै छन् । तर नपाउने निश्चित भएसँगै आजको बैठकमा धन्यवाद ज्ञापनसहित मन्त्रालयका केही नियमित प्रस्तावहरूबारे निर्णय मात्रै हुने प्रशासन सिंहदरवार विशेष स्रोतले जानकारी दिएको छ ।

‘आज धन्यवादसहित केही नियमित प्रस्तावहरूमा निर्णय हुन्छ होला’ एक मन्त्रीले भने, ‘भोली जाने भएपछि धन्यवाद बैठक पनि राख्ने चलन भएकोले त्यतिसम्म नै भन्न प¥यो अहिलेलाई !’

त्यसो त सरकार ढल्नै लाग्दा तथा ढल्ने निश्चित भइसकेपछि अन्तिम प्रहरमा कतिपय विवादास्पद र महत्त्वपूर्ण निर्णयसमेत गर्ने गरेको देखिन्छ, तर नयाँ आउने सरकारले त्यसलाई उल्ट्याउन सक्ने भएकोले त्यति सहज भने हुँदैन । यद्यपि जाँदाजाँदै नियुक्ति तथा सरुवा जस्ता कामहरू यसअघि पनि हुने गरेका छन् । तर अहिले भने त्यो त्यति सहज नहुने संकेत पाई सकेको प्रधानमन्त्री ‘प्रचण्ड’ले मन्त्रालयका नियमित प्रस्तावहरूबारे सामान्य निर्णय बाहेक अन्य निर्णय नगर्ने बुझिएको छ ।

मन्त्रिपरिषदबाट भएका निर्णय मुख्य सचिवले प्रमाणीकरण भएपछि मात्रै कार्यान्वयन हुने भएकोले निमित्त मुख्य सचिव लीलादेवी गड्तौलाले त्यस्ता निर्णयहरू प्रमाणीकरण नगर्ने स्पष्ट संकेत गरिसकेकी छिन् । विवादास्पद निर्णयले जाँदाजाँदै प्रधानमन्त्रीलाई नै विवादित बनाउने र आफूसमेत अनावश्यक मुछिन सक्ने भएकोले उनले त्यस्ता निर्णय नगर्न प्रधानमन्त्रीलाई नै सुझाई सकेकोले सम्भवतः प्रचण्डले थप निर्णय गर्न निर्देशन दिने मनसायमा नरहेको प्रशासन खास स्रोतले जानकारी दिएको छ ।

निमित्त मुख्य सचिव गड्तौला समकालीन सचिवहरूमा विषय विज्ञता र नेतृत्वदायी क्षमतामा अब्बल सचिवका रूपमा कहलिन्छिन् ।


सम्बन्धित समाचार