Logo

२८ असार,वीरगञ्ज । नारायणगढ–मुग्लिन सडकखण्डको सिमलतालको पहिरोसँगै त्रिशुलीमा खसेको बस र बसमा सवार यात्रुहरु अझै फेला पर्न सकेको छैन ।

वीरगन्जबाट काठमाडौंका लागि छुटेको एञ्जल डिलक्स प्रालिको प्र ३ ०१ ००६ ख १५१६ नम्बरको यात्रुवाहक बस र काठमाडौंबाट रौतहटको गौरका लागि छुटेको गरेको ०००१ ख २४९५ नम्बरको बस र बसमा सवार चालक सहितका यात्रु अझै बेपत्ता रहेका छन् ।

दुवै बस आज विहान ३ बजे सिमलतालमा गएको लेदो सहितको पहिरोले बगाएर त्रिशुलीमा खसेको थियो । भारी बर्षा र पानीको तीब्र बहावले गर्दा खोजी र उद्दारमा कठिनाई भईरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायव उपरीक्षक भेषराज रिजालले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘दुर्घटनापछि खोजीका लागि गोताखोर सहितको सुरक्षाकर्मीहरुको टोली खटिएको छ । पानीको बहावपनि अत्यधिक छ । केही केही टुक्राहरु देखिएको भन्ने सूचना आएको छ । उद्दार टोलीहरु त्यहाँसम्म पुग्न सकिरहेको छैन । सञ्चार सेवा पनि अवरुद्ध छ । प्रहरीको रेडियो सेटले पनि काम गरिरहेको छैन । जहाँ जहाँ नेटवर्क काम गर्छ त्यहाँबाट सम्पर्क गरेर खोजी र उद्दार भईरहेको छ ।’


सम्बन्धित समाचार