Logo

ज्येष्ठ २८ गते नीजि कामको शिलशिलामा हुम्ला जाने अवसर मिल्यो । यस भन्दा अगाडी २ पटक गएको हुनाले नयाँ सोच नभए पनि हुम्ला सडक सञ्जालमा जोडिएपछि यो पहिलो भ्रमण थियो र यस पटक गाडी चढेर सिमकोटवाट खार्पुनाथ जाने योजनाले मनमा निकै उत्साह उत्पन्न भएको थियो ।

२९ गते विहान नेपालगञ्जवाट समिट एयरको जहाजवाट नेपालगञ्जवाट सिमकोट उड्न पाईयो । भनेको दिनमा जहाज पाउनु पनि ठुलै उपब्धीको रुपमा लिन पर्दछ । नेपालगञ्जवाट कर्णालकीका कुनै पनि स्थानमा नियमित जहाज उडदैनन ।

जहाजहरुले जतावढी यात्रु वा मालसमान ढुवानी गर्न पाउदछन त्यतै उड्दछन । यस क्षेत्रमा उड्ने जहाजहरु सेवा भाव भन्दा पनि विशुद्ध मुनाफाको लागि उड्दछन । नवउदारवादको नमूना यो क्षेत्रका हवाई उडानमा प्रत्यक्ष अनुभुति गर्न पाईन्छ ।

कर्णली प्रदेसको हुम्ला जिल्ला सडक सञ्जालमा जोडिएको देशकै कान्छो जिल्लामा पर्दछ । जमुनाहा हिल्सा राजमार्गको खार्पुनाथ र सिमकोटको सिमाना पर्ने तिव्वतवाट आएको ग्यांगरु (दोजाम) खोला नदीमा पक्की पुल नवन्दा सडक सञ्जालले यो जिल्लालाई छोए पनि एउटा पुलको अभावमा सिमकोटको जनजीवन निकै कष्टकर रहेको छ ।

यस नदीमा पक्की पुल बन्न शुरु भएको दुई वर्ष भए पनि पुल निर्माणको काम कछुवा गतिमा अगाडी वढेकोले आगामी तीन वर्षमा पनि पुल बन्ने लक्षण देखिदैन । यस्तो अवस्थामा तत्कालको लागि बेलिब्रिज हालेर सहज यातायातको आवागमन गर्न सकेमा सिमीकोट, नाम्खा लगायताका बासिन्दाहरुको जीवन सहज हुन सक्दथ्यो, सिमकोटको महंगी पनि उल्लेख्य कम हुन सक्दथ्यो र नेपाल चिन व्यापारमा नयाँ युगको प्रवेश हुन्थ्यो ।

वाँके, वर्दिया, सुर्खेत, दैलेख, अछाम, बाजुरा, हुम्लाका सबैखाले उत्पादनहरुले चिन सम्म सहज बजार प्राप्त गर्न सक्दथे र यो क्षेत्रको आम्दानी वृद्धि हुन सक्दथ्यो । प्रदेश तथा संघिय सरकारले यस तर्फ चासो दिई छिटो भन्दा छिटो समस्या सामाधानको लागि पहल लिन जरुरी छ ।

भरपर्दो सडक मार्गको अभावमा नेपालगञ्ज वा सुर्खेतवाट जाने जाहाज नै यातायातका मुख्य श्रोत हुन तर न सरकारी न नीजि कुनै पनि विमानहरुको नियमित उडान हुम्लामा छैनन । ढुवानीका मालसामान वा प्रशस्त यात्रु भएमा मात्रै जाहाजहरु हुम्ला जान्छन ।

कहिले काही हप्ता दिन सम्म जाहाज नपाएर नेपालगञ्जमा वा सिमिकोटमा अलपत्र पर्नु पर्ने वाध्यता हुन्छ । सुशासन र विकासको राग जति नै अलापिए पनि शहर र पहुँच भएका ठाउँहरुमा एउटा निकायले पिच गर्ने र अर्को निकायले भत्काउने गरेर करोडौ स्वाह पार्दा पनि पुगेकै छ ।

वाटो नै नभएको मन्त्रिको खेतमा पक्की पुल बनाउदा पनि देश विकास भनिएकै छ तर अन्तराष्टिय राजमार्गको रुपमा रहेको जमुनाह हिल्सा खण्डको खार्पुनाथमा एउटा बेलिब्रिज हाल्न भने विगत तीन वर्ष देखी बाहना बनाईएको छ ।

यो भन्दा अन्याय र अत्याचार हुम्लावासीको लागि के होला । मार्टिन लुथर किंगका अनुसार कुनै ठाउँको अन्याय सबैठाउँको न्यायको लागि चुनौति हो भन्ने कुरालाई मान्ने हो भने संघिय सरकारका यस्ता अन्यायपुर्ण गतिविधीहरुले अर्को शसस्त्र विद्रोहको आधार निर्माण गर्दैछ र सिंगो समाजलाई अन्यायको अनुभुति दिलाउदै निराश बनाएको छ ।

यस सम्वन्धमा यस पुस्ताका सबै भन्दा वढी आस गरिएका प्रधानमन्त्रि प्रचण्ड र गठवन्धनका नेता केपी शर्मा ओलिको मौनता अत्यन्तै अशोभनीय र अनपेक्षित छ । वहाँहरुले चाहेमा यस्तो ज्यानमारा अन्यायको अन्त्य एक हप्तामा हुन्छ ।

सिमिकोटवाट खार्पुनाथ जादा जव दोजाम खोलामा वारी ओर्लिएर झोलुंगे पुल तरेर खार्पुनाथको गाउँपालिका जान पैदल हिड्दै थिए देब्रपटि गडगडाउदै वगीरहेको कर्णालीको फोटो र भिडियो क्लिपहरु खिच्दै गर्दा मनमा यस्तै कुराहरु खेलि रह्रयो । गणतन्त्र आएपछि पनि हुम्लामाथिको अन्यायपूर्ण व्यवहारले मनमा निकै विद्रोह जन्मायो ।

सन २०११ म पहिलो पटका हुम्ला पुग्दा मनका विभिन्न प्रकारका विचारहरु खेलेका थिए । देशकै सबै भन्दा उच्च भुभागमा अवस्थित जिल्ला सदुमुकाम बनविज्ञानका विद्यार्थीहरुको लागि निकै रहस्यमयी छ ।

२९०० मिटरमा पाईने सिमसार र सिमसार माथि वस्ती अनि वस्ती माथि कोणधारी प्रजातिको सदावहार वन तथा वन र वस्तीको बीचमा अव्यवस्थित, परमपरागत रुपमा जीवन निर्वाहको लागि गरिने खेती ।

कच्ची एयरपोर्टको रमझम, अति नै विस्तारै चल्ने ईन्टरनेट र ल्याण्डलाईन टेलिफोन बाहेक त्यतीवेला हुम्लामा कुनै पनि प्रकारको आधुनिकताका अनुभुति हुदैनथ्यो । अव नयाँ व्यवस्था आयो रातारात चमत्कार भईहाल्छ की भन्ने माओवादीको सानो झुण्ड वाहेक केही भईहाल्छ भन्ने जनमत न्युन थियो । यसपालि पुग्दा हुम्ला निकै फेरिएको अनुभुति भएको छ ।

ग्रेप परियोजनाले कर्णाली र सुदुपश्चिमका १९ वटा पालिकाहरु(धनगढी र बीरेन्द्रनगर लगायत)मा गरेको व्यवसायिक वातावरण सर्बेक्षणमा सबैलाई पछि पार्दै सिमकोट गाउँपालिका एक नम्वरमा आएको छ भने खार्पुनाथ पाँचौ नम्वरमा आएको छ । यसवाट के प्रष्ट हुन्छ भने हुम्ला नयाँ युगमा प्रवेश गर्न लालयीत छ र स्थानीय नेतृत्वले सिमित श्रोत र साधनका बाबजुद अनन्त प्रयास गरिरहेका छन ।

सबै भन्दा अचम्म त के लाग्यो भने जमुनाह हिल्सा सडकको खार्पुनाथमा पुल नै बनेको छैन तर सिमकोट देखि हिल्सा नियमित वस चल्न थालेको छ भने सिमकोटवाट लिमी लाप्चा उपत्यकामा जिपद्धारा यात्रा गरी सहज तरिकाले मानसरोवर कैलाश दर्शन गर्न सकिन्छ ।

५२०० मिटरको लेक छिचोलेर गाडीको रोमान्चक यात्रा हुम्लाका विकासप्रेमी नेताहरुद्धारा नै संभव भएको हो यसमा संघिय तथा प्रदेस सरकारका नेताहरुको भुमिका अत्यन्तै न्युन छ । पुर्व माननीय छक्कबहादुर लामाका अनुसार काठमाण्डौवाट तातापानी कुतिवाट लाप्चाको वोडरमा डोजर लगेर निकै कम बजेटमा चाइना तिरवाट लिमि लाप्चाको वाटो निर्माण गरिएको हो ।

वास्तवमा नेपालमा संघियताको स्थापना पश्चातको ९ वर्षलाई मुल्याँकन गर्ने हो भने जति नै भ्रष्टचार र ढिला सुस्ती भए पनि विगत २३० बर्षमा गरिएका विकास भन्दा धेरै गुणा भौतिक विकास भएका छन र मुख्य रुपमा नागरीकमा विकास प्रति आशा र विश्वास जागेकोछ तर संघिय सरकारको नवउदारवादी आर्थिक नीति र सबै क्षेत्रमा भएको चरम राजनीतिकरणका कारण शक्ति र सत्तामा पहुँच हुनेहरुले जे गरे पनि हुन्छ भन्ने मान्यताको विकास भएका कारण नागरीकहरुमा चरम निराशा र आक्रोस व्याप्त छ ।

पुर्व मुख्य मन्त्रि माननीय जीवन वहादुर शाहीलाई जनसँख्या नै नभएको ठाउँमा किन वजेट हाल्ने भनेर संघ तथा प्रदेशमा सोधिने प्रश्नले निकै मन कुड्याएको छ । मुलधारका राजनीतिक पार्टीहरु नेकपा, नेपाली काँग्रेस र रास्वपाहरुले जवाफदेहीता र जिम्मेवारीलाई उच्च तवरले निर्वाह गर्ने हो भने नेपाली समाजको द्रुत विकासलाई कसैले रोक्न सक्दैन ।

उदयपुरको वेलका, कास्कीको रुपा, तनहुको भिमाद लगायतका स्थानीय तहरुको नेतृत्वमा भएका अनुकरणीय विकासका कार्यहरुले प्रमाणित गरेको छ । २९ गते दिउसो सिमकोट गाउँपालिकाको कार्यालयमा पुग्दा पालिका अध्यक्ष विजय भण्डारीले हाम्रो समुहलाई खादा लगाएर हार्दिकताका साथ स्वागत गर्नुभयो ।

विजय जीसँग यस भन्दा पहिला एन्साव नेपाल र कर्णाली प्रदेस प्रशिक्षण प्रतिष्ठानले आयोजना गरेको तालिममा भेट भई आत्मीय सम्वन्ध स्थापित भई सकेको थियो । अचानक मलाई आफ्नो कार्यकक्षमा देख्दा वहाँ चकित र खुशी हुनुभयो ।

हामीले हुम्ला यात्रा र हुम्लाको समग्र अवस्थाको वारेमा कुरा गर्यौ, सिमकोट र खार्पुनाथ गाउँपालिकामा सञ्चालित परियोजना र व्यवसायिक वातावरण सर्वेक्षण प्रतिवेदन सार्वजानीकरण कार्यक्रमको बारेमा कुरा ग-यौ ।

कार्यक्रम सकिए पछि सरको कार्यक्रम के छ भनेर सोध्धै की लिमी लाप्चा भ्याली गएर मानसरोवर कैलाशको दर्शन गर्नुहुन्छ भनेर सोध्नु भयो । प्रतिउत्तरमा मैले मानसरोवर त के संभव होला र निकै टाढा होला भने ।

वहाँले भित्तामा भएको लाप्चाको भ्युप्वईन्टवाट खिचिएको मानसरोवर कैलाशको तस्विर देखाउदै केही टाढा छैन आज गएर दर्शन गरेर भोलि आउन सकिन्छ यहाँ आईसकेपछि ईच्छाको मात्रै कुरा हो भन्नु भयो ।

मैले आफु बसेको ठाउँवाट उठेर त्यो तस्विर हेर्दै यो तस्विर नेपालवाट लिएको हो भनेर सोधे । वहाँले हो भन्नु भयो र मौसम सफा भएको बेलामा लाप्चावाट मानसरोवर र कैलाश पर्वत स्पष्ट देखिने कुरा बताउनु भयो ।

लाप्चा सम्म जीप जाने भएकोले सिमकोटवाट मानसरोवर र कैलाश पर्वत एकदम नजिक भएको र दर्शन गरेर आउन सकिने कुरा बताउनु भयो । वहाँको कुरा सुनेपछि हामीले पनि हाम्रो कार्यक्रम सकिए पछि शनिवार र आईतवार विदा भएकोले सोच्न सकिन्छ भन्ने कुरा गर्यौ ।

सिमकोट र खार्पुनाथको कार्यक्रम सकिएपछि नेपालगञ्ज पर्किने जाहाजको पनि सुनिश्चितता नभए पछि लिमी लाप्चा जाने कार्यक्रम तय भयो ।

यस भन्दा अगाडी दुईपटक हुम्ला गएको भए पनि लाप्चा भ्यालीकोवारेमा म अनविज्ञ नै रहेछु । मलाई त मानसरोवार कैलाश पर्वत जाने हिल्सा तिरवाट मात्रै हो भन्ने लागेको थियो तर सिमकोट गाउँपालिका अध्यक्ष र ग्रेप परियोजनाका साथीहरुसँगको वार्तालाप पश्चात नयाँ कुरा थाहा भयो र शनिवार विहानै विजय होटलको बोलेरो रिजर्भ गरी साढे सात बजेतिर लाप्चा उपत्यकाको लागि हिड्यौ ।

सिमकोटवाट उत्तर तर्फ उकालो वाटो गाउँ र वारीहरु छल्दै जीप उकालो लाग्यो र करिव आधि घण्टा हिडेपछि सल्लाको जंगल पछ्याउदै ओरालोवाटो लाग्यो । अव सिमकोट हाम्रो आँखावाट ओझेल परिसकेको थियो र एकछिनमा नाम्खा गाउँपालिकामा पर्ने हेक्पा खोला आयो ।

माथी हेक्पा वस्ती दुईतिर सल्लाको घना जंगलको विचमा रहेको हेक्पा खोलामा एकछिन फोटो खिचेर खोला माथीको काठको पुल तरेर (खोलामा पक्की पुल बन्दै गरेको अवस्था) उकालो लाग्दै हिल्सा जाने सडक छोडेर हामी अगाडी वढ्यौ ।

हेक्पा खोला कटेपछि दुईवटा वाटोहरु छन एउटा हिल्सा जानेवाटो र त्यही हिल्सा जाने वाटोवाट गएर तातोपानी भन्दा अगाडीवाट लिमी लाप्चा जाने र हिल्सा जानेवाटो छुट्निे रहेछन ।

अर्को हेक्पावाट उकालो लाग्दै लेकधिगा हुदै अगाडी जानेवाटो । हेक्पावाट उकालो जानेवाटो छोटो रहेछ । हाम्रो गाडी चालक कृष्ण भाईले छोटोवाटो रोजेर हामी उकालो हुदै अगाडी वढ्यौ ।

करिव एक घण्टाको यात्रा पछि ३५शय मिटर उचाईमा रहेको अत्यन्तै रमणीय लेकधिगामा पुग्यौ । बाटोमाथी कोणधारी प्रजातीको सदावाहर जंगल र वाटो मुनि हरिया रुखहरु र ठुला गह्राहरु भएका वारीले त्यो ठाउँ निकै उत्पादकत्व भएको र रसिलो भएको अनुमान गर्न सकिन्छ ।

त्यहाँ भएका गोठहरु र गुम्वाले त्यो ठाउँमा मानिसहरुको चहलपहल हुन्छ भन्ने कुरा प्रमाणित गर्दछ भने अलिकति अगाडी जाने वित्तिकै नाम्खा गाउँपालिकाको आयोजनामा निर्माणधिन फुटवल मैदानले यो ठाउँ बाक्लो वस्तीको नजिक रहेको अनुमान गर्न सकिन्छ ।

करिव एक घण्टाको यात्रा पश्चात १० बजेतिर ३५०० मिटर उचाईमा रहेको खोलाको किनारमा खाना खाने ठाउँमा पुग्दछौ । पहाडको खोचमा रहेको यो खोलाको वरीपरी भाजेपत्रको वन देख्न सकिन्छ । यस वर्षको हिउँ पग्लेपछि करिव एक महिना पहिला खाना पसल गर्ने गरि हेक्पाका दुई परिवार त्यहाँ गएर व्यापार गर्न शुरु गर्नु भएको रहेछ ।

तीनै दुई मध्ये एक जनालाई खाना बनाउन लगाएर हामी त्यहाँका मनोरमा दृश्यहरुलाई क्यामारा कैद गर्ने त्यो ठाउँको वारेमा सुचना संकलन गर्ने र नाच गान गर्दै टिकटक र रिल बनाउन थाल्यौ । वाटोमा फष्टाएको मौसमी व्यापारले यात्रुहरुलाई आराम गर्न, बास बस्न र खाना खान सुबिधा भएको छ ।

खाना खाएर हामी त्यहाँवाट हिड्यौ र करिव १ घण्टा खोलाको किनारै किनार हिडेपछि उकालो चढेर हामी करिव ४२ शय मिटरको उचाईको भञ्ज्यांगमा पुग्दछौ जहावाट हिमाल र भरर्खरै हिउँ पग्लेर उजाड भएका डाडाहरु देख्न सकिन्छ भने करिव ४ हजार मिटरको आसपासमा घाँसे मैदानहरुमा चौरी, भेडा, वाख्राहरु चरिरहेको देख्न सकिन्छ ।

बाटोमा प्रसस्तै साना ठुला हिउँताल देख्न सकिन्छ भने कतिपय हिउँतालहरु सुकिसकेका रहेछन । लेक बेसी हुदै अगाडी वढ्दा बाटोमा ठुला घाँसे मैदान, हिउँदमा तल झरेका चौरीहरु उकालो लाग्ने वेला भएको रहेछ ।

वाटोमा भेडा, घोडा, चौरीका वथान, समान ढुवानी गर्ने खच्चडहरु तीनका मालिकहरु आफना जाहान परिवार सहितका लावा लस्कर देख्दा पहिला पहिला कथामा पढेका भेडीगोठका कुराहरु साक्षत दर्शन भएको अनुभुति हुन्थ्यो । कतिपय चौरी, घोडा र भेडाहरु गाढीको आवाज नयाँ ठानेर झस्किन्थे ।

हिमाली क्षेत्रको जनजीवन अहिले पनि पशुपालनमा आश्रित छ भन्ने कुरा यी दृश्यवाट सहजै अनुमान लगाउन सकिन्थ्यो । वाटोको वरपर देखी बन जंगल, विभिन्न प्रजातीहरु, ढुंगा आदी हेर्दा हुम्लामा आधुनिक अनुसन्धान सहितको विज्ञान प्रविधीले कुनै प्रभाव पारेको संकेत देखिदैन ।

विज्ञान र प्रविधीले चिनिने यस युगमा लिमी लाप्चा आफनै प्राकृतिक रफ्तामा अगाडी वढीरहेको छ । सडक मार्ग र केही पुलहरुवाहेक लिमि उपत्यकाको आधुनिकतासँग भेट भएको छैन ।

यात्राकै क्रममा ५२ शय मिटरको न्यालु लेक कटेर अगाडी वढेपछि तलुगं खोलाको किनारै किनार अगाडी वढीन्छ । तलुगं खोला र तिब्बतवाट आएको निंग खोलाको संगम स्थाल भन्दा अलिकति अगाडी यी दुबै प्राकृतिक रुपमा वाँध बनेर छोम्गो ताल बनेको रहेछ ।

अचम्म के छ भने यो तालको प्राकृतिक रुपमा बनेको तालमाथीको वाँध कैलाश पर्वतको आकृति देखिदो रहेछ । कैलाश पर्वत र मानसरोवरको झल्को दिने भएको भएर हामीले छोम्गो ताललाई कान्छि मानसरोवर नामाकरण गरर्यौ । माननीय छक्क बहादुर लामाका अनुसार, निंग नदीको किनारै किनार तिब्बतसँग पुरानो व्यापारीक नाका रहेको छ ।

प्राचिन कालमा तिब्बतवाट निन्वा (बुराउसे, बरगाउँ, तोर्पा र लिमाशंग) बसाई सरेर आउने क्रममा ताक्योन कार्बो हिमालमा हिउँ परेर रोकिएको बखत तोक्यान कार्वो देवता (सेतो घोडा चढेर हिड्ने) देवताले हिउँ पगालेर वाटो खुलाई दिएको किम्वदन्ती छ । त्यही भएर निन्वा क्षेत्रका भोटे समुदायले कुलदेवताको रुपमा पुजा गर्ने गरेका छन ।

तोक्यान कार्वो देवताको इतिहास बुद्ध भगवानको भन्दा पनि प्राचिन रहेको विश्वास गरिन्छ । यो क्षेत्र बौद्ध धर्मको आगाध आस्थाको धरोहर पनि हो । हर्क गुरुंगका अनुसार लिमी उपत्यकामा काग्युपा लामा रिञ्जिन जांग्पो (सन् ९८५( १०५६)ले निर्माण गरेको ऐतिहासिक बौद्ध गुम्वा पनि रहेको छ ।

हिमाली क्षेत्रमा घमाईलो ठाउँलाइ निन्वा भनिन्छ । हाल सिमिकोट गाउँपालिकामा पर्ने बुराउसे,वरगाउँ, तोर्पा र लिमाशंगमा तथा नाम्खा गाउँपालिका लिमीको जाग, हाल्जी र तिल घमाइलो भएर पशुपालन र खेती निकै उत्पादन फष्टाएको क्षेत्र हो ।

यहाँ वहुपति प्रथा भएको कारण जमिन खण्डिकरण नहुने र पशुपालन निकै प्रवर्धन हुने गरेको छ । यहाँ उत्पादित कृषि तथा पशुजन्य वस्तुहरु तिब्बत निर्यात गर्ने र तिब्बतवाट उन र नुन आयात गर्ने चलन थियो र हुम्लावासी र तिब्बतीहरुको जीवन सहज तवरमा यापन भईरहेको थियो ।

तिब्बत तथा नेपालमा भएका राजनीतिक परिवर्तनसँगसगै सिमा कानुनहरुमा परिवर्तन आएपछि त्यसको प्रत्यक्ष प्रभाव लिमा लाप्चा क्षेत्र र समग्र हुम्लामा परेको छ । पहिला नेपाल र तिब्बता खुलम खुला चरिचरण हुन्थ्यो भने अव त्यसमा प्रतिवन्ध लागेको छ भने तिब्बत आवातजावत पनि कठिन भएको छ ।

लिमी एक बन्द उपत्यका जस्तो भएको छ भने विभिन्न कारणले लिमिलाई निषेधीत क्षेत्र बनाईएको छ । तिब्बतसँग लिमिको सम्पर्क टुटेपछि लिमी गाउँहरुवाट काठमाण्डु बसाई सर्ने चलन तिब्र छ । गत वर्षमात्र हाल्जीका ७५ घरधुरी काठमाण्डौ सरेका छन ।

लिमीमा तिव्ररुपमा जनसँख्या घटिरहेको छ । लाप्चा उपत्यका मानसरोवर र कैलाश पर्वत दर्शन गर्ने नेपालको सबै भन्दा नजिकको विन्दु हो भन्ने पत्ता लागेपछि २०६४ सालदेखी लाप्चा उपत्यकालाई नयाँ तरिकाले सोच्न थालिएको छ ।

लाप्चावाट मानसरोवर ७ किलोमिटर र कैलाश पर्वत ४९ किलोमिटर भए पनि एउटै भ्यु प्वइन्टवाट दुबै दर्शन गर्न सकिन्छ । २०६४ सालमा काठमाण्डौवाट कुति हुदै लाप्चामा डोजर लगेर लाप्चा देखी सिमकोट तिर वाटो खन्न शुरु गरियो हाल २०७५ साल देखी सिमीकोट लाप्चा सडक मार्ग खुलेको छ ।

५२०० मिटरको न्यालुलेक काटेर जव लाप्चा उपत्यका प्रवेश गरिन्छ तव स्वर्गमा विचरण गरेको आभास हुन्छ । समुन्द्र सतहवाट अद्धितय उचाईमा समथर भुमि वरिपरि हिमाल, संग्लो पानीका खोलाहरु वरीपरी वन घोडा, मृगहरु चरिरहेको दृश्य, खाई लाग्दा वन घोडाहरुको दौड आहा मनै उद्धेलीत भईरहने ।

करिव ३ घण्टा जति समथर भुभागमा बोलेरो जीपको यात्रा पछि पुगिन्छ वहुप्रतिक्षि लाप्चाको मानसरोवर तथा कैलाश पर्वत भ्यु प्वईन्ट । मौसम सफा भएको बेलामा यस भ्युप्वईन्ट वाट मानसरोवर र कैलाश पर्वतको दर्शन गर्न सकिन्छ ।

हामी यहाँ पुग्दा साढे चार बजिसकेको थियो र त्यतीबेला कैलाश पर्वतलाई तुवालोले ढाकेको थियो । भ्यु प्वईन्टबाट करिव ३ किलोमिटर दुरीमा नेपाल चाइना वोर्डर पर्दछ । म त्यो भ्यु प्वइन्टवाट करिव दुई किमी सम्म पश्चिम हिडेर हेर्दा मानसरोवर देख्न सके भने कैलाश पर्वत घुर्मिलो देखिएको थियो ।

चिनको तर्फवाट वोर्डरमा सिमा सुरक्षाको पक्की घरहरु बनेका छन भने नेपाल तर्फ सडकको रेखा कोर्ने मात्रै काम भएको छ । मानसरोवर भ्यु प्वइन्टमा दिउसो पख एकदमा हावा चन्दो रहेछ । त्यहाँ यात्रुलाई आराम गर्ने उद्धेश्यले एकतले सानो घर बनाईएको छ ।

अधिक हावा चल्ने हुने भएकोले धुप वत्ति वाल्न, पुजा सामाग्री राख्न र केही क्षण आराम गर्नको लागि त्यो घर प्रयोग गर्ने गरिएको छ ।
तिब्बतमा अवस्थित कैलाश मानसरोवर हिन्दु तथा बौद्धहरुको आस्थाको धरोहर हो ।

कैलाश मानसरोवरको दर्शन विश्वका सबै हिन्दु र बौद्ध धर्मालम्वीहरुको चाहना हो । तिब्वतमा अवस्थित भएकोले नेपाल र भारतका धर्मस्थलहरु जस्तो नेपाली तथा भारतीय र अन्य देशका हिन्दु एवम् बौद्ध धर्मालम्वीहरुको सहज पहुँचमा छैन ।

चिनियाँ भिषा अनिवार्य हुन्छ र वाटो पनि लामो पर्दछ । केही समय पहिला चिन र नेपालको वारेमा वोर्डरको विषयमा नकरात्मक कुरा उठेको भएपनि वोर्डर विषयमा स्थलगत रिपोर्टिग गरेका पत्रकार मित्र नवराज महताराले हाल कुनै समस्या नरहेको बताउदछन् ।

कैलाश मानसरोवर दर्शन गर्ने सबै भन्दा छोटो र सहज विन्दु भनेको लाप्चा हो त्यासकारण चिनिया भिषामा पहुँच नहुने विश्व भरीका हिन्दु र बौद्ध तथा अन्य धर्मका पर्यटकहरुको गन्तव्य हुन सक्छ लाप्चा । २ महिना अगाडी सदगुरुको ३०० जनाको टोली यहाँ टेन्टलगाएर वसेको थियो ।

यो स्थान धार्मीक तथा प्राकृति पर्यटकीय स्थलको रुपमा विश्व प्रसिद्ध गन्तब्यको रुपमा विकास गर्न सकिने प्रचुर संभावना भएको ठाउँ हो । २४२० वर्ग किमी क्षेत्रमा फैलिएको नाम्खा गाउँपालिकाको करिव दुई तिहाई क्षेत्रफल लिमी लाप्चा उपत्यकाले ओगटेकोछ ।

यसरी हेर्दा यो उपत्यका करिव १६शय वर्ग किलोमिटर भन्दा वढी भएको अनुमान गर्न सकिन्छ जुन पोखरा भन्दा ४ गुणा र काठमाण्डु भन्दा करिव अढाईगुणा ठुलो हो । लिमि उपत्यकाका गाउँहरु मध्ये दजांग गाउँ ३९२० मिटर, हाल्जी ३७०० मिटर र तील ४१०० मिटरमा अवस्थित छन र यहाँ बाह्र महिना मानिसको बसोवास हुने गर्दछ ।

विशेषत चैत्र देखी कार्तिक सम्म ८ महिना यहाँ पुर्णत आवातजावत गर्न सकिन्छ र सबै कृयाकलापहरु सुचारु सञ्चालन हुन सक्दछन । विश्वमा मानव वस्तीको रेकर्ड हेर्ने हो भने माइनस १२५ भन्दा कम तापक्रम भएका ठाउँहरुमा पनि मानव बसोवास गरेको उदाहरण देख्न सकिन्छ ।

यस भ्यालीमा यात्रा गर्दा मनमा निकै धेरै प्रश्नहरु खेली नै रहे । हर्क गुरुगंका अनुसार, सन् १९५९ पछि तिब्बत बाहिरी व्यक्तिहरुको लागि निषेधीत थियो तर सन् १९७९ मा तिब्बत पर्यटन तथा पर्वतारोहणको लागि खुला गरियो ।

के लिमी लाप्चा भ्याली खुला गरेर हुम्लाका जनाताको जीवन स्तरमा आमुल रुपान्तरण ल्याउने गरी वातावरण र सँस्कृतिक संरक्षण सहितको समाजवादी मोडलले विकास गर्न सकिदैन ? २ अरव हिन्दु र बौद्ध धर्मालम्वीहरुको गन्तव्य स्थलको अतिरिक्त मानव सभ्यता, हिन्दु र बौद्ध संस्कृति, हिमालयको उत्पत्ति, हिमाली बनस्पति तथा बन्यजन्तुहरुको अध्ययन तथा अनुसन्धान गर्ने विश्व स्तरीय शैक्षिक तथा अनुसन्धान केन्द्रको स्थापना गर्न सकिदैन होला ?

के विश्वको सबै भन्दा उँचो स्थानको गल्फ कोर्ट निर्माण गरेर संसारका धनाढ्यहरुलाई बोलाउन सकिदैन ? द्धन्दमा परेका देशहरुका दुबै पक्षका राष्ट प्रमुहरुलाई कैलाश मानसरोवरको दर्शन गराउदै ध्यान गराउदै वर्ता गराएर शान्ति निर्माणको वार्तास्थलको रुपमा विकास गर्न सकिदैन ?

विश्वका महंगा फिल्महरु सुटिंग गर्ने प्राकृतिक स्टुडीयोको रुपमा विकास गर्न सकिदैन ? विश्वको सबै भन्दा अग्लो स्थानको फुटवल, भलिवल, क्रिकेट, मोटर रेस, स्किी लगायतका खेल मैदानको रुपमा विकास गर्न सकिदैन ?

यदि यतिका कार्यक्रम यो क्षेत्रमा सञ्चालन गर्ने हो भने दशौ हजार उच्च आय भएका जागिर यो क्षेत्रमा सिर्जना हुन सक्दछन । के हामी यसलाई लुम्बिनी जस्तै राष्टिय गौरवको परियोजनाको रुपमा विकास गर्न सक्दैनौ ?

भगवानले त यहाँ भन्दा वढी के दिन मिल्ला र ? हाम्रो असक्षमतालाई कहिले सम्म प्रकृतिले ठग्यो भनेर धिक्कार्ने? प्रकृतिले ठगेको हो कि असक्षम र अयोग्यलाई आवश्यकता भन्दा वढी वरदिएको हो ?

निश्चित रुपमा देश भरीको बजेट आफनो चुनाव क्षेत्रमा केन्द्रित गर्न चाहनेहरुसँग यति धेरै अपेक्षा नगर्न मिल्ला तर एकदिन कसै न कसैले त इतिहास र भविष्य प्रति जिम्मेवार भएर सोच्ला र केही गर्ला भन्ने विश्वास त्यही भुमिका जागेको थियो ।

यो वहुआयामिक धार्मिक, साँस्कृतिक, प्राकृतिक, पर्यटकीय, तथा पौराणीक सभ्यता, आविष्कार र व्यापारको ईतिहास बोकेको उपत्यकाको एकिकृत योजना निर्माण गरी अन्तराष्टिय गन्तव्यको रुपमा बिकास गर्न सक्ने हो भने यसले लिमी, हुम्ला र कर्णालीको परिचय त वदल्दछ नै ंिसंगो नेपालको समृद्धिको नयाँ ईतिहास कोर्न सफल हुनेछ । हे शिव हामी नेपालीलाई सदवुद्धि र शक्ति दिनुहोस प्रभु ।

 

डा. आर सी लामिछाने
प्रमुख कार्यकारी– ईस्टर्न रिसर्च ईन्स्टिच्युट अफ पोजिटिभ साईन्स 


सम्बन्धित समाचार