Logo

३० असार,काठमाडौं । दक्षिणी गाजाको विस्थापितहरूको शिविरमा इजरायली आक्रमणमा कम्तिमा ९० प्यालेस्टिनी मारिएको रिपोर्ट गरिएको छ । यो आक्रमणमा इजरायलले अक्टोबर ७ को आक्रमणको कथित मास्टरमाइन्ड हमासको सैन्य प्रमुखलाई लक्षित गरेको बताएको छ।

अन्यत्र लडाइँबाट भागेका प्यालेस्टिनीहरूका लागि सुरक्षित क्षेत्रको रूपमा तोकिएको दक्षिणि गाजाको अल–मवासीको फुटेज सार्वजनिक भएका छन् । भिडियोमा सडकमा शवहरू र नष्ट भएका पालहरू देखिन्छन् । “म तपाईँलाई त्रासदीको परिमाण वर्णन गर्न सक्दिनँ”, एकजना बासिन्दाले अमेरिकी मिडिया सीएनएनलाई भने।

यो आक्रमणमा हमासको सैन्य शाखा कासम ब्रिगेडका नेता मोहम्मद देइफ र खान युनूस ब्रिगेडका प्रमुख रफे सलामालाई लक्षित गरिएको एक इजरायली सुरक्षा अधिकारीले सीएनएनलाई बताए।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले शनिबार तेल अवीवमा पत्रकार सम्मेलनमा भनेअनुसार उनी देइफ र उनका सहायक मारिएको कुरामा निश्चित छैनन् तर उनले इजरायलको सुरक्षा एजेन्सी–शिन बेटका प्रमुखलाई यो अपरेसनको लागि आशीर्वाद दिएको बताए।

गाजाको स्वास्थ्य मन्त्रालयले कम्तीमा ९० जनाको ज्यान गएको र ३०० जना घाइते भएको रिपोर्ट गरेको छ । यसमा मारिनेहरूमध्ये आधा महिला र बालबालिका रहेको र दर्जनौँ घाइते भएको बताइएको छ।

कुवेत र नासेर अस्पतालले ठूलो सङ्ख्यामा मृतक र घाइते नागरिकहरू अस्पताल आउन सङ्घर्ष गरिरहेको बताएको मन्त्रालयले जनाएको छ।


सम्बन्धित समाचार